तिम्रो दुनियाँमा म! (Poem)
तिम्रो दुनियाँ साँच्चिकै अलग
यहाँ निष्फिक्री गुन्जन्छ हाँसो!
कत्ति निडर हिँड्छन् ती पाइला!
छैन कुनै सामाजिक बन्धन,
न त कोरिएको नै छ लक्ष्मणरेखा
तिम्रो दुनियाँ त एक खुला आकाश,
अनि तिमी स्वतन्त्र उड्ने त्यो बतास!
हेर न…!
तिम्रो दुनियाँमा तिमीलाई
कत्ति सहजै स्वीकारिन्छ…!
तर मलाई…? कदम-कदममा
योग्यताको प्रमाण खोजिन्छ!
अप्ठ्यारोमा साथ दिनु त हैन,
कार्यसम्पादनभित्र पनि दाग खोजिन्छ!
हो,साँच्चिकै……!
तिम्रो दुनियाँमा म हुनु
कुनै गल्तीभन्दा सजाय कम छैन!
हरपल कार्यक्षमता प्रमाणित गर्नु
कठिन अग्निपरीक्षाभन्दा फरक छैन!!
कठोर समयसँगै,
तिम्रो दुनियाँमा म पनि
अब त…!
मेरै निम्ति कोरिएका
प्रश्नहरूसँगै रम्न सिक्दैछु
लड्खराउँदै हिँड्ने पाइलाहरूलाई
निडर भएर हिँड्न सिकाउँदैछु
चुलोचौकोमा सीमित यी हातहरूलाई
हस्ताक्षर गर्न अभ्यस्त बनाउँदैछु
हो,साँच्चिकै……!
तिम्रो दुनियाँमा म पनि… अलिकति
पत्थरझैँ कठोर, अटल उभिन सिक्दैछु
………………!!!
हो,साँच्चिकै!
तिम्रो दुनियाँमा म पनि अलिकति
पत्थरझैँ कठोर,अटल उभिन सिक्दैछु!