नसोध्नु मलाई! (Poem)
नसोध्नु मलाई!
असफलताको हिसाब
थकित पाइलाले बताउनेछ
कति दोबाटोहरूमा भौतारिएँ भनेर!
हताश मनले बताउनेछ
कति प्रयासहरूमा हारेँ भनेर!!
नसोध्नु मलाई!
हार्नुको पिडा
भिजेको सिरानीले बताउनेछ
कति रात नैराश्यतासँगै बर्षे भनेर!
अनिदो आँखाले बताउने छ
कति रात छटपटिमै कटे भनेर!!
नसोध्नु मलाई!
धर्यताको हिसाब
ओईलिएको बैँसले भन्नेछ
कति यौवन पाना संगै च्यातिए भनेर!
बुढो समयले बताउने छ
कति उमेर शब्दसँगै बगे भनेर!!
नसोध्नु मलाई!
त्यागको हिसाब
निस्सासिएको मनले भन्नेछ
कति रहरहरू मनमै गुम्सिए भनेर!
मौन भित्ताले भन्नेछ
कति पल चौघेरामै कैद थिए भनेर!!
बस्,
जवाफविहीन म’लाई
तिमी केही नसोध्नु!
समय आफैँ बोल्नेछ
कति जीवन-यात्रा व्यर्थ
अनि
कति सार्थक थियो भनेर!!