728 दिन📖 (लोकसेवा डायरी)
लोकसेवाको यात्रा सुरु गर्न त मैले धेरै वर्ष अगाडी गरेकि हुँ। तर +२ र व्याचलर विज्ञान विषय पढेको हुनाले मलाई देशको शासन प्रशासन पढ्न बुझ्न खुब गाह्रो लाग्यो। खाली फारfम भरेर बिना तयारी परीक्षा दिने काम मात्र भयो। वि.सं. २०८१ सालमा जब मेरो साथीहरुले लोकसेवामा फटाफट नाम निकाल्न थाले तब मात्र मलाई लोकसेवा सामान्य पढाईले पुग्दैन भन्ने होस आयो। त्यसपछी मैले पनि पेन्टिङ्ग गर्न, टिकटक, ईन्टाग्राम चलाउन, साथीभाईसँग घुम्न, आफन्तसँग भेटघाट गर्न… सबै कुरा त्यागेर लोकसेवालाई मात्र समय दिने निधो गरेँ। तर कोठाँमा पढाई अपेक्षाकृत रुपमा हुन सकेन। त्यसैले किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय जाने निधो गरेँ।
मलाई आउने नयाँ पल भन्दा पनि बितिसकेको पलहरु खुब प्यारो लाग्छ। सबै सम्झनाहरुलाई शब्दमा उतारौ झै लाग्छ। यो डायरी बिगत २ वर्ष लोकसेवा तयारी गर्दा मैले अनुभव गरेको मानसिक उतारचढाव र मनोवादको सँग्रह हो। आशा छ, लोकसेवाको यात्रामा हुनुभएका तमाम साथीहरुलाई केही हदसम्म उत्प्रेरणा मिल्नेछ।
2081-2-20: आजदेखि १५ दिनका लागि कलेजको गर्मी बिदा सुरु भयो। कलेज नलाग्ने दिनमा मलाई बिहान उठ्न गाह्रो लाग्छ। त्यसैले किर्तिपुरको केन्द्रीय पुस्तकालय जाने निर्णय अनुसार बिहान साढे पाँच बजे उठेँ। आँखा मिच्दै मोबाइल हेरेँ, साथीले लाइब्रेरी नजाने सूचना गरेकी रहेछिन्। मेरो लाईब्रेरीमा पहिलो दिन हुनाले एक्लै जान असहज लागेर हिजो साथीसँग सँगै जाने निर्णय भएको थियो। झ्यालको पर्दा खोलेँ, पानी परिरहेको रहेछ। हातमुख धोएर तयार भइसक्दासम्म पानी रोकिसकेको थियो। त्यसैले बिना संकोच स्कुटरमा चढेर टहरा वाला लाइब्रेरीमा पुगेँ। लाइब्रेरी भरिभराउ थियो। त्यै पनि सिट पाउने आशामा सबैतिर चहारेँ, तर अहँ सिट पाइएन। कतिपय सिट खाली थिए, तर रिजर्भ गर्ने प्रचलन अनुसार किताब छोडिएको थियो। त्यसैले बस्न सम्भव भएन। चउरमा निस्किएँ। भर्खर परेको पानीले चउर अझ सफा देखिएको थियो। दूबोमा अड्किएका पानीका थोपाहरू घामको मन्द मुस्कानसँगै बिलाउने तरखरमा थिए। ज्याकारान्दाका बैजनी फूलहरूले चउरलाई झन् सुन्दर बनाएका थिए। काग-परेवा लगायत अन्य चराहरू चिरबिर गर्दै चारो खोज्न व्यस्त थिए, अनि कोइलीको कुहुकुहु टाढासम्म गुन्जिएको थियो। जे होस्, त्यो माहोल एकदमै रमाइलो र मन्त्रमुग्ध बनाउने थियो। एकछिन वातावरण निह्यालेपछि मैले पनि अरूजस्तै गरी झोला एक ठाउँमा राखेर पढ्न थालेँ। किताब बोकेर यता-उता गर्दै पढ्ने विद्यार्थीहरूको संख्या ठूलै थियो, तर परिचित अनुहार एउटा पनि देखिएन। उनीहरूले पनि नयाँ अनुहार देखेर होला, किताबबाट आँखा उठाएर मलाई हेरिरहेका थिए। त्यसैले सुरुमा मलाई असहज महसुस भयो, तर पढाइमा ध्यान दिन थालेपछि वरपरको माहोल वास्तै भएन। अलि बेरपछि त नयाँ साथीहरू पनि बनिहाले।
2081-2-25: आजकाल दैनिकजसो किर्तिपुरमा अवस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय जान थालेकी छु। त्यहाँको वातावरणमा आफूलाई अनुकूल बनाउन थालेकी छु। शनिबार पनि मन घरमा बस्न मान्दैन। पुस्तक च्यापेर लाइब्रेरी नै पुगिहाल्छु। लाइब्रेरीमा कार्यरत केही कर्मचारी र त्यहाँ पढ्न आउने केही विद्यार्थीहरूसँग राम्रो चिनजान भएकोले झन् आजकाल त्यहाँ पढ्न सहज लाग्छ। आजकाल कलेजका कारण बिहान लाइब्रेरी जान नभ्याए पनि दिउँसो समय भ्याएसम्म उतै पढ्न जान्छु।
2081-2-27: ११ बजेतिर कलेजबाट कोठामा पुगेँ। बहिनीले खाना बनाइसकेकी रहेछिन्। खाना खाएर जुठोभाँडा गर्दा १२ बजिसकेको थियो। लाइब्रेरी पुग्न हाम्रो कोठादेखि हिँडेर जम्मा १० मिनेट मात्र लाग्छ। तर पनि १२ बजेको टन्टलापुर घाममा हिँड्न जाँगर लागेन। त्यसैले स्कुटरमा चढेर लाइब्रेरीतिर लागेँ। गेटमा आइडी कार्ड दर्ता गराएँ, झोला राखेँ र पढ्ने कक्षातिर लागेँ। कक्षा भरिभराउ थियो। बस्ने ठाउँ नपाउने कुरा त निश्चित नै थियो। त्यै पनि खाली बेन्चको खोजीमा यता-उता आँखा डुलाएँ। नभन्दै भाग्यवश एउटा बेन्च पाइहाल्यो।अरुले जस्तै आफ्ना पुस्तक फिँजाएँ र पढ्न थालेँ। एक घण्टा पढेपछि निद्रा आउला जस्तो लाग्यो। एउटा नोट बोकेर कक्षा बाहिर निस्केँ। त्यहाँ अरू साथीहरू पनि यता-उता हिँड्दै पढिरहेका थिए। म पनि त्यसैगरी एक घण्टा पढेँ। लाइब्रेरीभित्र आफ्ना पुस्तक लैजान अनुमति नभए पनि त्यहाँ पुराना-नयाँ पुस्तकहरूको ठूलो चाङ छ। कहिले लाइब्रेरीका पुस्तक त कहिले आफ्ना नोट पढ्दा-पढ्दै कुन बेला ७ बज्यो थाहै भएन। घण्टी बजेपछि बल्ल झस्किएँ। साँझ झमक्क पर्न लागेको थियो। हत्तपत्त कोठातिर लम्किएँ।
2081-3-5: मलाई थाहा छ, अझै मेरो तयारी पुगेको छैन। त्यसैले यो साल मैले लोकसेवाको परीक्षामा परीक्षा फाराम भरिनँ। अरू साथीहरू हप्तैपिच्छे परीक्षा दिन व्यस्त छन्। आजकाल मैले परिवार, आफन्त र साथीहरूको कुरा भन्दा पनि बढी आफ्नो मनको कुरा सुन्न थालेकी छु। प्रायः साथीहरू कलेज जान पर्दैन भन्दै लोकसेवा नै पढ्छन्, तर मलाई भने एम.पि.ए. को कक्षा लिन यत्ति उपयोगी लाग्छ कि एक दिन पनि नछुटाऊँ जस्तो लाग्छ। त्यसैले त पुरै कक्षामा एक्लै पढेको अनुभव पनि छ। परिवारले पनि कलेज नगई घरमै बसेर लोकसेवा पढ भन्नुहुन्छ। तर मलाई यो समयमा कतै सहज र शान्ति महसुस हुन्छ भने त्यो कलेजमै हो। कलेजमा पुगेपछि मलाई छुट्टै खालको जोस-जाँगर आउँछ। त्यो जोस-जाँगरले मेरो मनमा दिनभरि पढ्नका लागि उत्प्रेरणा दिन्छ। त्यसैले त म कक्षा नलागेको दिनमा पनि, कक्षा नभए लाइब्रेरीमा बसेर पढ्न कलेज नै जान्छु।
2081-3-19: समयले सबै कुरा ठीक पार्छ भन्ने सुनेकी थिएँ, हो रहेछ। २०८१ साल मेरो लागि ऊर्जावान समय बनेर आएको छ। विगतमा जतिसुकै प्रयास गरे पनि सकारात्मक र ऊर्जावान बन्न गाह्रो हुन्थ्यो, तर आज म चाहेर पनि नकारात्मक बन्न सक्दिनँ। खै, थाहा छैन ‘हिजोआज ममा यस्तो जोस-जाँगर र ऊर्जा कहाँबाट आएको छ। सबै सपना पूरा गरौँझैँ लाग्छ। लोकसेवाको किताब भनेपछि पढ्न मन नलाग्ने मलाई आज लाइब्रेरीका सबै पुस्तक पढेर सकाउँझैँ लाग्छ। हिजो निद्रा प्यारो लाग्थ्यो, आज रातभरि बिउझिरहन्छुँ। मोबाइलमा अलाराम राख्नै नपर्ने भएको छ। लोकसेवा तयारीका लागि अन्धाधुन्ध मानसिक तनाव लिएर, प्रतिफलविहीन कडा मेहनत गर्दै केही वर्ष बिताएपछि मैले आज बल्ल बुझ्दैछु “कसरी पढ्ने?”। मैले त लोकसेवा पढ्ने तरिका नै जानेकै रहेनछु। कुनै पनि गन्तव्यमा पुग्न स्पष्ट बाटो चाहिने रहेछ, अन्धाधुन्ध हिँडेर त पुगिँदैन रहेछ। त्यसैले हिजोआज म बाटो बनाउनमै व्यस्त छु। अवश्य पनि यसले मलाई गन्तव्यमा चाँडै पुर्याउनेछ। अर्को मुख्य कुरा हिजोसम्म सपना देख्न पनि डर लाग्थ्यो, तर आज ती सपना पूरा गर्न सक्छु भन्नेमा विश्वस्त छु। अतः यो साल म जसरी पनि आफ्नो लक्ष्यमा पुग्नुछ, चाहे रातदिन मेहनत गर्न नै किन नपरोस्।
2081-3-24: ‘चाहे मेरो प्रस्तुति राम्रो होस् वा नहोस्, मैले सहभागिता जनाउनै पर्छ’- अहिलेको लागि मेरो मूल मन्त्र नै यही हो। त्यसैले हिजोआज मैले कुनै पनि सानो-ठूलो कार्यक्रममा बोल्ने अवसर गुम्न दिएकी छैन। यसै महिनामा मात्रै मैले तीन फरक-फरक कार्यक्रममा सहभागिता जनाइसकेकी छु। यी अनुभवहरूले मलाई धेरै कुरा सिकाएका छन्। मुख्य कुरा त, सहभागिताले धेरै मानिसको अगाडि निडर भएर बोल्न सक्ने साहस दिएको छ। हिजो कलेजको एउटा विषयको असाइनमेन्ट थियो, त्यसैले म राति अबेरसम्म बसेकी थिएँ। त्यसैले बिहान ढिलो उठ्ने योजना थियो। तर साढे ५ बजे नै निद्रा खुल्यो। त्यसपछि म लाइब्रेरी गएँ। ९ बजेसम्म पढेपछि कलेजको कार्यक्रम हेर्न गएँ। सहभागी हुने योजना त थिएन, तर पनि त्यहाँ पुगेपछि कविता भन्न मन लाग्यो, त्यसैले तत्काल नाम टिपाएँ। तर मेरो पालो कार्यक्रमको अन्त्यतिर भएको कारण पुरै कार्यक्रम बसेँ। आज कविता भनिरहँदा मभित्रको डर झन् कम भइसकेको पाएँ। खै, मेरो कविता दर्शकलाई मन पर्यो कि परेन, प्रतिक्रिया त केहि पाईन। तर जे होस् मैले सहभागिता भने जनाएँ- त्यो नै ठूलो कुरा हो।
2081-4-10: “तिमीलाई मैले २-३ दिनदेखि विचार गर्दै छु, पुरै बौलाहा पारामा पढाइमा लागिपरेकी छौ। यस्तै हो भने तिमीले नाम निकाल्ने सम्भावना छ।” —आफूलाई अंग्रेजी शिक्षक बताउने एकजना दाईले आज मलाई भन्नुभयो। हिजो पनि चैतन्य इन्स्टिच्युटमा पढाउने एक जना शिक्षकले मेरो नोट-कपी जाँच गर्दै, तयारीको बाटो राम्रै भएको प्रतिक्रिया दिनुभयो। उहाँहरुले मात्र हैन, हिजो-आज प्रायः सबै जनाले मलाई दिने प्रतिक्रिया यस्तै हुन्छ।प्रतिक्रिया मात्र होइन, प्रायः दाइहरूले त आफ्ना नोट-कपी नै मलाई दिएर पढ्ने उपायहरू पनि दिनुहुन्छ। उहाँहरूले मप्रति गरेको विश्वास र देखाएको सकरात्मक प्रतिक्रियामा कत्तिको सत्यता छ वा छैन, त्यो त म जान्दिनँ। तर जे होस्, यसले मलाई पढाइमा थप ऊर्जा भने अवश्य दिएको छ। मेरो ठूलो प्रतिक्षा र तपस्याका बाबजुद बल्ल मैले आफ्नो लोकसेवाप्रतिको भोक जगाएकी छु, जुन हिजो थिएन र भोलि पनि नहुन सक्छ। त्यसैले मैले जे गर्नुछ, आजै गर्नुछ। भोलि धेरै ढिलो भइसक्नेछ। आज मैले पाइरहेको पढ्ने समय, हौसला, चाहना, पारिवारिक समर्थन र वातावरण भोलि निश्चय नै पाउनेछैन। त्यसैले “अभि नही तो कभि नही।”
2081-4-12: रातदिन पानी परेकाले आज मौसम धेरै सफा छ। लाइब्रेरीमा आज मसँग नयाँ साथीहरू बसेका छन्। खासै बोलचाल भएको छैन। उनीहरू दुईजना भने परिचित नै रहेछन्। खासखुस गर्दै कुरा गरिरहेका छन्। बिस्तारै बोले पनि उनीहरूको कुरा मेरो कानसम्म पुगिरहेको छ। पुस्तकालयको पुस्तकबीच अडिएको सानो झ्यालबाट बाहिर हेर्दै टोलाउँदै देब्रे साइडमा बस्नेले फ्याट्ट भन्यो “धेरै दिनपछि आज झलमल्ल घाम लाग्यो है, हाम्रो जीवनमा पनि कहिले यसरी घाम लाग्ने होला?” अर्को साथीले खिट्किट्याउदै बोल्यो “अनि आजकाल चै तेरो जीवनमा पानी परिरहेको छ त?”। निराश साथीले “हो” भन्ने इसारामा टाउको हल्लाउँदै मुस्कुरायो। उनीहरूको यो संवाद सुनेर म पनि नमुस्कुराइरहन सकिनँ। एकछिन हासोको माहोल बन्यो। तर उसको प्रश्न साँच्चिकै गम्भीर थियो।
2081-4-16: आज लाइब्रेरीमा पढिरहँदा एउटा विद्यार्थीलाई चिनेझैँ लाग्यो। को मान्छे हो? एकछिन विगतको पाना पल्टाएर हेर्दा माइक्रोबायोलोजीमा सँगै प्राक्टिकल गरेको याद आयो। अनि निष्कर्ष निकालेँ,…. ऊ मसँगै बी.एस्सी. पढेको साथी हो। फेरि छुट्टि भएपछि लाइब्रेरी बाहिर हाम्रो भेट भयो। हाम्रो आँखा जुध्यो। म मुस्कुराएँ तर उसले नचिनेझैँ गर्यो। त्यै पनि मैले नै परिचय अगाडि बढाएँ। “तपाईं त्रि-चन्द्र कलेजमा बी.एस्सी. पढ्नुभएको हो?” अचम्म मान्दै ‘हो’ को संकेतमा टाउको हल्लायो। कुरा गर्दै जाँदा उसले पनि मलाई चिनिहाल्यो। विगतका केही कुराहरू भए अनि पालो वर्तमानको। “मैले त पाँचौँ तहमा जागिर खाइसकेँ नि, तिमी चाहिँ के गर्दै छौ?” नसोध्नु पर्ने प्रश्न सोधिहाल्यो। “कलेज पढ्दै लोकसेवा तयारी गर्दै छु,” छोटो उत्तर दिएँ। हाम्रो कुरा त्यत्तिकै टुंगियो। …… लाइब्रेरीबाट फर्कँदा बाटैभरि उसको प्रश्नले तर्साइरह्यो। मैले यत्रो वर्षसम्म के गरेँ? ….. चित्र लेख्न देऊ भनी घरमा झगडा गरेँ? …… कवि बन्छु भनेर कविता लेखेँ, वाचन गरेँ? …… युट्युबर बन्छु भनेर पुरै दिन भिडियो बनाएँ? ….. फोटोग्राफर बन्छु भनेर किराफट्याङ्ग्रालाई पछ्याएँ? …… लोकसेवा पढ्न नसकेर डिप्रेसनको सिकार भएँ? …… अनि केही गर्न नसकेर नैराश्यताको बादलभित्र हराएँ? ……..??? शून्य उपलब्धि…….! साँच्चिकै यो अवधि बत्तीमा हराएको पुतलीझैँ रुमलिएरै बिताएछु…… उफ…….!
2081-4-19: लाइब्रेरी जाँदा ट्याङ्गलाफाट नेरै एकजना दाइ भेटिनु भयो। अरु दिनभन्दा अलि चिटिक्क पर्नुभएको थियो। “ल, यो मेरो नोट लगेर पढ्दै गर ल बुनु,” भन्दै उहाँले आफ्ना दुई वटा नोट हातमा थम्याउनुभयो। अचम्म मान्दै उहाँलाई हेरेँ। मेरो जिज्ञासा बुझेर आफैले भन्नुभयो, “आज म लाइब्रेरी आउदिन, कोटेश्वरको एउटा स्कूलमा शिक्षकको लागि भ्याकेन्सी खुलेको छ। म त्यहाँ इन्टरभ्यु दिन जान्छु आज।” झट्ट सोधिहालेँ, “अब टिचिङ्ग पो गर्नुहुने?” एकछिन मौनता छायो। दाइको अनुहार हेरेँ, एकदमै थकित अनि निराश थियो। लामो सुस्केरा हाल्दै बोल्नुभयो, “के गर्नु र बहिनी, ३-४ लाख ऋण परिसक्यो, घरभाडा तिर्ने पैसा पनि छैन। ऋण पनि कति लिनु… यो साल पनि लोकसेवामा नाम निस्केन भने त म विदेश गइदिन्छु होला…!”। सान्त्वना दिने प्रयासमा बोलेँ, “चिन्ता नलिनु दाइ, तपाईंको तयारी धेरै राम्रो छ, यो चोटि जसरी पनि तपाईंको नाम आउँछ।” यस्तो कुरा त अहिलेसम्म कति सुनिसक्नुभएको होला, अनुहारमा कुनै प्रतिक्रिया थिएन। सुस्केरा हाल्दै दाइ नयाँबजारतिर लाग्नुभयो। म दाइको नोट लिएर लाइब्रेरी लागेँ। मैले अहिलेसम्म लाइब्रेरीमा भेटेका मान्छेहरूमध्ये उहाँ नै धेरै सहयोगी हुनुहुन्छ। सुरुको भेटमै “बहिनी” को सम्बोधनले हाम्रो कुराकानी सहजीकरण गर्नुभएको थियो। “राम्रो पढ” भनेर त लाइब्रेरी आउने सबैले भन्छन्, तर के पढ्ने, कसरी पढ्ने भन्ने कुराको उपाय उहाँ दाइले मात्र दिनुहुन्छ। उहाँ आफ्नो नोट पनि सबै पढ्न दिनुहुन्छ। कति निस्वार्थी सहयोगी मन उहाँको। मनमनै पुकारेँ, “हे भगवान, यो चोटि लोकसेवामा दाइको नाम जसरी पनि आओस्।”
2081-4-25: आज मौसम हुस्सु लागेर धुम्मिएको थियो। रातभर पानी परेर होला, मौसम धेरै चिसो थियो। त्यसमाथि पनि केही दिनदेखि मलाई त्यति सञ्चो छैन। त्यसैले हिउँदमा लगाउने बाक्लो ज्याकेट लगाएर स्कुटरमा लाइब्रेरी पुगेँ। त्यहाँ मेरा साथीहरू आइसकेका थिए। मलाई देखेर एउटा साथीले जिस्काउन भ्याइहाली, “के हो, तिमीलाई त जाडो मौसम आएछ नि…!”। अर्को साथीले पनि मन्द मुस्कानमा मेरो ज्याकेटमै हेरिरहेकी थिइन्। “म चिसो मान्छे हो के,” जिस्किँदै उनीहरूसँगैको बेन्चमा थचक्क बसेँ। चिसो मौसम, त्यसमा पनि लाइब्रेरी जहिल्यै चिसो हुन्छ। अझ पङ्खा पनि फुल स्पीडमै चलाउँछन्। पंखाको हावाले एक्कासि लहरे खोकी सुरु भयो मेरो। हत्तपत्त पंखा बन्द गरिदिएँ। बाक्लो लुगा लगाएर पनि जाडो भएको देखेर होला, सबैको आँखा मै तिर थियो। माहोललाई बेवास्ता गरेर पढाइमा ध्यान केन्द्रित गर्न खोजेँ। तर एकोहोरो रुघा-खोकीका कारण पढ्न सकिन। अरूलाई पनि मेरो खोकीले डिस्टर्ब भएझैँ लाग्यो। त्यसैले कापी-कलम बटुलेर सरासर घर आएँ।
2081-4-29: कही नगई लगातार ब्लाङ्केटमा पोको परेर बसेको पनि ५ दिन भइसकेछ। यो अवधिमा अङ्ग्रेजी व्याकरणको नोट अनि अधिकृत चौथो पत्रको केही नोट बनाउन भ्याएँ। जे होस्, बिरामी अवधि पनि उपलब्धिमूलक नै रह्यो। तर आज बिहानदेखि भने खै किन हो, पढ्ने जाँगर लागेको थिएन। त्यसैले बिहानको समय भान्सामा नै बिताएँ। दिउँसोको खाना खाएपछि, दाइसँग मेरो नोटकपी लिन ट्याङ्गलाफाँट पुगेँ। सदाझैँ आज पनि दाइको अनुहार थकित अनि निराश नै थियो। उहाँ पनि धेरै दिनपछि आज बल्ल लाइब्रेरी जान लाग्नुभएको रहेछ। “किन लाइब्रेरी जान छोड्नु भएको?” भन्ने मेरो प्रश्नमा उहाँको छोटो जवाफ थियो, “बुढो भइएछ बहिनी, पढ्नै सकिरहेको छैन…!” उहाँको उत्तरमा ठट्टा गर्दै भनेँ, “तपाईं त बुढो भएर हो रे… उसोभए म चैँ किन पढ्न सकिरहेको छैन त?”। तर मेरो ठट्टामा दाइको कुनै प्रतिक्रिया थिएन। उहाँ उस्तै गम्भीर मुद्रामा टोलाइरहनुभएको थियो। अनि हतारिँदो मुद्रामा नोटकपी मलाई हातमा थम्याएर उहाँ लाइब्रेरीतिर दौडनुभयो। …… मलाई भने दाइको अनुहारमा आफ्नै भविष्यको झल्को आइरहेको थियो।
2081-5-4: धेरै दिनको लगातार वर्षापछि आज टन्टलापुर घाम लाग्यो। त्यसैले आज न्वाइधुवाइ गरेर दिउँसो लाइब्रेरी ढिलो पुगेँ। गेटमा झोला राख्दै गर्दा सेक्युरिटी दाइले सोधिहाल्नुभयो, “आज २ घण्टा ढिलो भो, किन?”। दाइको प्रश्नको जवाफ मुस्कानमै दिँदै लाइब्रेरीमा छिरेँ। स्टडी हलमा मेरा साथीहरूले मेरै लागि सिट राखिदिएका रहेछन्। किताब पल्टाएर पढ्न थालेँ। २ घण्टाको लगातार पढाइपछि अल्छी लाग्न थाल्यो। कपीकै माथि निधार घोप्टाएर मस्त निदाउँ झैँ लाग्यो, तर लाइब्रेरीमा सुत्न मेरो नैतिकताले दिएन। त्यसैले कपी लिएर लाइब्रेरी छेउको सुन्दर गुलाफको बगैँचामा पुगेँ। त्यहाँ कोही विद्यार्थी तन्ना बिछ्याएझैँ रहेको हरियो दुबोमाथि बसेर पढिरहेका थिए त कोही बगैँचामा यताउता गर्दै पढिरहेका थिए। मलाई दुबोकै प्राकृतिक तन्नामा बसेर पढ्न मन लाग्यो। खाजा खान बसेँ भनेर हो कि, एक जोडी ढुकुर र एक जोडी रूपी चाँरो खोज्न आए। गाउँमा हुँदा त यसरी ढुकुर नजिक आउन डराउँथ्यो, तर सहरका चराहरूले केहीको पनि डर मान्दैनन्। काग पनि रुखमा बसेर कराइरहेको थियो, तर आज यसको स्वर रुखो थिएन। चराहरूको साथमा अनि प्रकृतिको काखमा यो दिन पनि बिताइयो।
2081-5-10: आज कृष्ण जन्माष्टमी, म सधैँ जाने गरेको लाइब्रेरी छुट्टी थियो। तर २४ घण्टा खुल्ने टहरा वाला लाइब्रेरी भने खुल्ला नै थियो। त्यसैले ६ बजे त्यही पुगेँ। सिट सबै भरिएको थियो। तर पनि एउटा साथीले आफ्नो सिट छोडिदियो। ऊ रातभर पढेर घर फर्किन लागेको थियो। “रातभर, दिनभर पढ्न सकिन्छ?” भन्ने मेरो प्रश्नमा सधैँझै उसको जवाफ सरल थियो, “परीक्षा आउन लाग्यो, आजकाल निद्रा नि लाग्दैन। दिनमा २-३ घण्टा सुते पुगिहाल्छ। बरु लोकसेवामा नाम निकालेपछि सुत्ने हो ढुक्कले।” उसको यही जिद्दीले पक्कै एकदिन उसको नाम लोकसेवामा लेखिनेछ। लगभग ७ बजे तिर लाइब्रेरी कार्ड जाँच गर्न सेक्युरिटी गार्ड दाइहरू आउनुभयो। कार्ड नहुने विद्यार्थी पनि रहेछन् बाहिर निकालिदिनुभयो। तर पनि अझै कार्ड हुने सबैलाई सिट पुगेन। एउटै कुर्सीमा पालैपालो गरेर ३-४ जना पढ्न थाले। यस्तो पढ्ने हुटहुटी बोकेको जोसिलो विद्यार्थीको माझ पढ्न नसक्ने भन्ने त हुँदै हुन्न। जे होस्, आजको दिन पनि उपलब्धिमूलक नै रह्यो।
2081-5-14: बिहान ६ बजे बिउँझेँ। एकछिन पढेँ। साथीसँग नोटकपी लिनु थियो, ८ बजे तिर ट्याङ्गलाफाँटतिर हानिएँ। घर फर्केपछी खाना पकाएँ, नुहाएँ अनि लाइब्रेरीतिर दौडिएँ। आज शनिबार, विद्यार्थी धेरै कम थिए। पुस्तकको चाङबाट २ वटा पुस्तक निकालेँ अनि लाइब्रेरी बन्द हुने बेलासम्म यसैमा घोटिएँ। फर्किन लाग्दा झरी जोडजोडले बर्सियो। बस्ने अवस्था थिएन। छाता खोलेर घरतिर साथीसँग फर्कियौँ। बाटैभरि भल बगिरहेको थियो। सानो बच्चाझैँ भलमा उफ्रँदै म यसै रमाएँ। घरी सिधा, घरी छड्के भएर पानीका साना-ठूला थोपा जिस्किँदो पारामा बर्सिँदै हामीलाई निथ्रुक्क बनाइरहेका थिए। भिजिरहेको बेला रोड छेउमा पोलिरहेको मकैको मिठो बास्ना आयो। एउटाको ४० रुपैयाँ हो रे। २ वटा मकै लिएर झरीमा रुझ्दै घर पुग्यौँ।
2081-5-17: परीक्षा आएपछि जहिल्यै बिरामी पर्ने बानी। तयारी पनि राम्रै पुगेको छ। पास गर्छु भन्ने पूर्ण विश्वास पनि छ। तर खै के हुन्छ मलाई परीक्षा भनेपछि शरीर भारी भएर आउँछ, दिमाग प्रेसर कुकर जस्तो भएर फुट्न खोज्छ, चिटचिट पसिना छुटेर आउँछ, अनि मुटुको धड्कन बढेर ढुकढुकी नै बाहिर आउला जस्तो हुन्छ। अब एक हप्ता पछि मेरो एम.पि.ए. को परीक्षा सञ्चालन हुन लागेको छ, तर हिजोदेखि परीक्षाको डर भने ह्वात्तै बढेको छ। जति नै शान्त हुन खोज्दा पनि कम नै भइरहेको छैन। बिरामी नै पार्ला जस्तो भइरहेको छ। त्यसैले आज बिहानदेखि नै तनाव भइरहेको थियो। यसले गर्दा पढ्न सकिरहेकी थिइनँ। यसैबीच कलेजको साथीको फोन आयो। उनीहरुसँग बसेर छलफल गर्ने योजना थियो हाम्रो। लाइब्रेरी छेउको चउरमा बसेर छलफल गर्यौँ। प्रायःजसो सबै विषय मैले पढिसकेकी छु। त्यसैले मैले जानेको कुरा सिकाएँ उनीहरूलाई। आफूले पढ्नुभन्दा अरूलाई पढाउँदा धेरै कुरा स्पष्ट हुँदो रहेछ। जे होस्, यो छलफल धेरै नै उपलब्धिमूलक पनि थियो।
2081-5-20: केही समय अगाडी मात्र लाईब्रेरीमा चिनजान भएको एकजना दाइ- मोटो ज्यान, अग्लो उचाइ, कपाल र जुङ्गा अलि लामो, रहरले भन्दा पनि व्यस्तताले काट्न बिर्सिएको झैँ लाग्ने। उहाँ एकै मिनेट पनि आराम नगरी लोकसेवाका पुस्तकमै दिनभर घोटिरहनुहुन्छ। उहाँले एम.एस.सी बोटानीमा गर्नुभएको रे। एम.एस.सी गरेर लोकसेवातिर लाग्ने प्रायःजसो विद्यार्थी कि फिजिक्स, कि गणित, कि केमेस्ट्रीका भेटिन्छन्। तर बोटानी पढ्ने कमै हुन्छन्। म पनि बोटानीको विद्यार्थी भएर होला, उहाँलाई भेट्दा आफ्नै मान्छे भेटेझैँ खुसी लागेको थियो। त्यसैले पनि बोटानीको साइनोले अलि नजिक छौँ हामी। धेरै दिनपछि आज लाइब्रेरी आउनुभयो। आज उहाँको कपाल र जुङ्गा चिटिक्क मिलेको थियो। “किन हराउनुभयो त आजकाल?” प्रश्न नसोधिरहन सकिनँ। मन्द मुस्कानसँगै बोल्नुभयो, “एउटा कलेजमा +२ बोटानी पढाउन थालेको छु।” उहाँको उत्तर कस्तो असान्दर्भिक लाग्यो। प्रतिप्रश्न गरिहालेँ, “अनि अधिकृतको परीक्षा आउन जम्मा एक महिना त बाँकी! त्यतिन्जेल लोकसेवामै लाग्नु नि! नाम आइहाल्छ।” अलि टोलाएझैँ गर्दै थप्नुभयो, “के गर्नु बहिनी, अब जागिर नगरी भएन…पैसा कमाउनै पर्यो।” मैले थप कुरा सोध्न उचित ठानिन। अस्ती त हो भर्खर, यो साल अरूतिर जागिर नगरी लोकसेवामै जागिर निकाल्छु भन्दै उहाँले आफ्नो अठोट सुनाउदैहुनुहुन्थ्यो। उफ्, कत्ति बलवान यो समय-पलभरमै अवस्था र प्राथमिकता बदल्न सक्ने!
2081-5-23: गण्डकी पाँचौँ तहको अन्तिम नतिजा आएछ। मेरो एकजना नजिकको साथी सिफारिस भएछ। उसको फेसबुक वालभरि बधाइले भरिए। मैले पनि भाइबरमा मेसेज पठाएँ, “बधाइ छ, सुब्बा साब।” उसले मन्द मुस्कानको इमोजी सहित रिप्लाइ दियो, “धन्यवाद।” उसले दिनभर लाइब्रेरीमा बसेर पढेका क्षणहरू सम्झेँ। एकाएक उत्प्रेरणा जागेर आयो, “ओहो! एकोहोरिएर लागिपरेसी त सफल हुँदो नै रहेछ।” थन्क्याएर राखेको किताबतिर फेरी लम्किएँ।
2081-5-25: बिहानको ६ बजे लाइब्रेरी पुगेँ। आजकाल म मास्टर्स डिग्रीका विद्यार्थी मात्र बस्न मिल्ने कोठामा बस्छु। त्यहाँ अलि शान्त हुन्छ। आज म त्यहाँ पुग्दासम्म ४-५ विद्यार्थी मस्तले पढिरहेका थिए। म पनि आफूले बनाएको नोटमा घोटिन थालेँ। २ घण्टा लगातार पढेपछि अल्छी लाग्ला झैँ भयो। जुरुक्क उठेँ अनि पत्रपत्रिका लिने ठाउँमा पुगेँ। “के छ नानु?” दिदीको मिठो प्रश्न कानमै ठोकियो। उहाँको व्यवहार मलाई अलि खास लाग्छ। हाम्रो सुरु भेटमै उहाँले नै नाम सोध्नुभएको थियो। अनि त्यही दिन नै “केही काम परे मलाई भन्नु है नानु” भनेर भन्नुभएको थियो। यो बिरानो सहरमा उहाँको यत्ति सानो कुराले पनि मलाई आत्मीयता बोध गराएको थियो। “कुन पत्रिका चाहियो, नानु?” उहाँको दोस्रो प्रश्नले झस्किएँ। ओहो, म त कहाँ हराएछुँ। हत्तार-हत्तार उत्तर दिएँ – कान्तिपुर र गोरखापत्र। २ वटा पत्रिका हातमा थम्याउनुभयो। मैले मेरो लाइब्रेरी कार्ड त्यही छोडेर बाहिरिएँ। आजको पत्रिकाभरि संविधान संशोधनबारे समाचार व्याप्त थियो। मैले आफूलाई उचित लागेको वाक्यहरू नोटमा टिप्न थालेँ।“हेलो..!” आवाज कानसम्म ठोक्किनासाथ, मेरो नजर अगाडि उभिएको एक अपरिचित व्यक्तिप्रति पुगिहाल्यो। कहीँ कतै देखेको, चिनेको जस्तो लागेन। उसले प्रश्न गरिहाल्यो, “लोकसेवाको तयारी हो?” “हो” को संकेतमा टाउको हल्लाएँ। उसले तारिफ गर्न भ्याइहाल्यो, “कत्ति मज्जाले पढ्नुहुन्छ तपाईं।” मनले भनिरहेको थियो, “लाइब्रेरी आउने सबै जना त उत्तिकै पढ्छन्,” तर ओठले केही शब्द नबोली मुसुक्क मुस्कुराइदिएँ मात्र। बिहानभरि त्यो अपरिचित अनुहार मेरो छेउमै बसेर पढ्यो। बीच-बीचमा अरू व्यक्तिगत प्रश्न पनि सोधिरहेको थियो। तर मैले त्यत्ति ध्यान दिइनँ। लगभग १० बजे घर फर्केँ। अनि खाना बनाएर खाँदासम्म दिउसोको १२ बजिसकेको थियो। एक्कासी दिमाग थाकेझैँ महसुस भयो, मानौँ अब अरू पढ्नै सक्दिनँ। उत्तिनै बेला फेरि कालो नैराश्यताको बादल मनभरि मडारिएर आयो। अनिश्चित भविष्य अनि लाचार मेरो अवस्था मनभरि नाच्न थाल्यो। “लोकसेवा पास गर्न नसक्ने पो हो कि?” भन्ने शंकाले पोल्न थाल्यो। अनि मन फेरि शून्यतामा हरायो। ओछ्यानमा पल्टेँ। “आज लाइब्रेरी त ओछ्यानमा पो हो?” बहिनीले खिस्सी गर्न भ्याइहाली। जसोतसो मनलाई सम्झाएँ अनि लाइब्रेरीतिर लम्किएँ। बाटोमा छिमेकी हजुरआमा भेटिनुभयो। हातले इसारा गर्दै उहाँलाई “खाना खानुभयो?” भन्ने मेरो प्रश्नमा उसैगरी हातकै इसारामा जवाफ दिनुभयो। अनि बाइ भन्दै आफ्नो बाटो लागेँ। उहाँ जन्मजातै बोल्न सक्नुहुन्न। बुढोपनको कारणले अब त झन् हिँडडुल गर्न पनि सक्नुहुन्न। उहाँको दिनचर्या घर अगाडिको सिँढीमा टोलाएरै बित्छ। कहिलेकाहीँ म स्कुटरमा कतै जान लाग्दा “मलाई नि घुम्न लैजाउ” भनी हातकै इसारामा जिस्काउनुहुन्छ। “आउनुस् जाऊँ” भन्दा “डर लाग्छ” भन्दै मुस्कुराइदिनुहुन्छ। हुन त उहाँलाई पनि हिँड्न, बोल्न मन त पक्कै लाग्छ होला। तर के गर्नु, बाध्यता छ। त्यसैले त मलाई जब आफ्नो अवस्था र जीवनप्रति दिक्दार लाग्छ, उहाँको मुस्कान देखेर पुनः जोस-जाँगर पलाएर आउँछ। आज पनि उहाँलाई भेटेपछि निराशापन हटेर गयो। घरी नोटकपी त घरी किताब पढेर दिउँसोको समय बिताएँ। ४ बजे तिर पुस्तक लिएर स्वच्छ हावा खान रोज गार्डेन पुगेँ। एकजना परिचित साथीले मलाई देख्नासाथ जि.के. को प्रश्न सोध्न थाल्यो। हरियो दुबोमा बसेर ऊसँगै छलफल गरेर पढ्यौँ। यसरी पढ्दा अलि छिटो दिमागले टिप्छ। ५ बजे गार्डेन बन्द भएसँगै छुट्टियौँ।
2081-5-27: बिहानै बिउँझदा आज पानी परिरहेको थियो। मौसम पनि चिसो थियो। टि.यू. को पुस्तकालय नगई कोठामै पढ्ने निधो गरेँ। तर अहँ, पढ्नै मन लागेन। त्यसैले झोलाभरि कपी र एक थर्मस तातो पानी राखेँ अनि छाता ओढेर लागेँ लाइब्रेरीतिर। पानी अलि ठूलै थियो। जति राम्ररी छाता ओढे पनि मेरो झोला भिजाइरहेको थियो। तर त्यो भिजाइ पनि मलाई रमाइलो लागिरहेको थियो। रुखका पातहरूमा, फूलहरूमा जताततै पानीका सुन्दर थोपा खेलिरहेका थिए। मोबाइलमा जत्तिसक्दो सबै थोपा क्याप्चर गरेँ। बाटैभरि साना-साना पानीका भल बग्दै रहेछन् बालापनको याद आयो। त्यही भलमा उफ्रेँ बुरुक्क। ओहो, कत्ति रमाइलो। झन् उफ्रेँ। कलेज पढ्दा खेरी मेरो यस्तो हर्कत देखेर “छ्या, फोहोर पानीमा…!” भन्दै बेजोडले हाँस्थे साथीहरु। तर मलाई खै किन हो, यस्तो गर्नुमा औधी रमाइलो लाग्छ। लाइब्रेरी पुग्दा अरू दिनभन्दा आज कमै विद्यार्थी थिए। तर पानी रोकिएपछि भने विद्यार्थी संख्या क्रमशः बढ्यो।
2081-6-10: बिहानको खाना अलि ढिलो खाने हुनाले म दिउँसो लाइब्रेरीको क्यान्टिनमा खाजा खान कहिल्यै जान्नँ। तर आज भने “लाइब्रेरीमा दशैँ बिदा हुन लाग्यो, चिया खान जाम” भन्दै साथीले कर गरिन्। त्यहाँको क्यान्टिनमा पुगेको यो मेरो दोस्रो पटक थियो। क्यान्टिनभरि मान्छेहरू खाजा खान व्यस्त थिए। हामी पनि एउटा कुनामा गएर बस्यौँ। हाम्रो छेउमै बिएस्सी पढाउनुहुने शिक्षक बसिरहनुभएको थियो। उहाँको नाम चाहिँ याद आएन। त्यै पनि आफूलाई चिनाउन खोजेँ। “नमस्कार सर, म ब्याचलर बोटानी पढेको-हजुरको विद्यार्थी हुँ, चिन्नुभयो?” मलाई एकछिन मज्जाले निहाल्दै उहाँले सोध्नुभयो -त्रिचन्द्र कलेजमा पढेको हैन त? मैले “हो” को संकेतमा टाउको हल्लाएँ। उहाँले प्रतिप्रश्न गर्नुभयो “अनि के गर्दैछौँ त आजकाल?”। सरल जवाफ फर्काएँ, “मैले एम.पि.ए. गर्दैछु सर।” आश्चर्यचकित भावमा बोल्नुभयो, “अनि ब्याचलर विज्ञान विषय पढेर मास्टर्स चाहिँ किन व्यवस्थापनमा गरेको? २ वर्ष त हो, एम.एस.सी. गरेको भए भइहाल्थ्यो नि!” मैले लोकसेवामा लाग्ने मेरो योजना सुनाएँ। मेरो उत्तर चित्त नबुझेझैँ गर्दै उहाँले भन्नुभयो, “अनि एम.एस.सी. गरेर पनि त लोकसेवा गर्न सकिन्छ नि त, हैन र?” साँच्चै यो प्रश्न त मैले आफूले आफैँलाई कहिल्यै सोधेकै थिइनँ। उत्तरमा उहाँलाई मुस्कुराइदिएँ मात्र। उहाँ हतारिँदै टि.यू. को बोटानी डिपार्टमेन्टतिर लाग्नुभयो। उहाँ मेरो नजरबाट ओझेल भइसक्नुभएता पनि उहाँको प्रश्न कानमै गुन्जिरह्यो। अ साच्चि, मैले एम.एस.सी. गरेको भए सायद मेरो मास्टर्स डिग्री त अहिलेसम्म पूरा भइसक्थ्यो। अनि सम्भवत: म निजी विद्यालयमा शिक्षक भएर काम गरिरहेको हुन्थेँ कि! कि विदेश गइसकेको हुन्थेँ! कि एम.एस.सी. गरीसकेर पनि फेरि दाइहरूजस्तै लोकसेवामै आउँथे कि!
2081-6-17: पहिला साथीले सधैँ भन्ने गर्थी, “लाइब्रेरी जाने बानी भएपछि त घरमा पढ्नै सकिन्न।” उनको कुरा सुन्दा हाँसो लाग्थ्यो, तर आज बल्ल थाहा पाउँदैछु, उनले भनेको कुरा सही रहेछ। मलाई पनि लाइब्रेरी जाने लत बसेछ-हिजोआज त घरमा पढ्नै सक्दिनँ। आज बिहान धेरै पानी परिरहेको थियो। फेरि किर्तिपुरमा भलले मान्छे बगाएको समाचार पनि देखेँ, त्यसैले लाइब्रेरी गइनँ। बिहानीको समय अल्छी गरेरै बित्यो। दिउँसो पनि पढ्न जाँगर चलेन। पानी पर्न रोकिएर घाम झलमल्ल लागेको थियो। त्यसैले पुस्तक च्यापेर लाइब्रेरीतिर हानिएँ। मलाई थाहा थियो दिउँसो लाइब्रेरी जाँदा सिट पाइन्न। त्यै पनि सिटको लागि सबै कोठा चहारेँ तर अहँ पाइएन। कोठा फर्किउँ कि जस्तो लाग्यो, फेरि क्यान्टिनको बाहिर बेन्चमा बसेर विद्यार्थीहरू पढेको देखेँ। त्यही बसेर पढ्न थालेँ। माहोल अलि हल्ला थियो। तर पनि वरपरको हरियाली, चराचुरुङ्गी अनि सिरसिर बताससँगै पढ्नुमा छुट्टै मजा लाग्यो। घरी घरी माकुरा अनि कमिला किताबसम्म आइपुग्थे। मेरो आजको साथी पनि किरा-फट्याङ्ग्रा नै बने। साँझपख अलि चिसो हुन थालेपछि कोठा फर्केँ।
2081-6-20: दशैँ लागिसक्यो। काठमाडौँबाट घर फर्कनेको क्रम बढेसँगै यो सहर सुनसान हुँदै गएको छ। तर मलाई यो सालको दशैँमा त्यति उत्साह लागेको छैन। मलाई त खाली पढ्नु छ। मैले मेरो जीवनको कुनै मोडमा नपाएको पढाइप्रतिको अपार ऊर्जा आज पाइरहेको छु। यसलाई नै भरपुर सदुपयोग गरेर सफलता हात पार्नु छ। मैले यस्तो उर्जावान समयमा पनि लोकसेवा पास गर्न सकिनँ भने सायद अरु वर्षमा सायदै नसकुँला, त्यसैले मैले जे गर्नुछ आजै, अहिल्यै गर्नुछ। मेरो उर्जाको अर्को स्रोत भनेको टि.यू. पुस्तकालय पनि हो। त्यहाँ म यस्तो पढाइप्रति उत्प्रेरित हुन्छु कि जुन म शब्दमा बयान गर्न सक्दिनँ। त्यसैले त म हरपल त्यही पुगिहाल्छु। लाइब्रेरीमा पुग्ने बित्तिकै मलाई घडीको प्रत्येक सेकेण्ड मूल्यवान लाग्छ। सकेसम्म घडीको गतिमा म पनि पढ्न खोज्छु। परीक्षा सम्म यस्तै गतिमा, यस्तै ऊर्जामा पढ्न सके, लोकसेवाको लिस्टमा नाम कसरी नअटाउला र, हैन त? बिहान ६ बजेभन्दा अगाडि कहिल्यै उठ्न नसक्ने म, आजकाल लाइब्रेरीमा बस्ने कुर्सी पाउनकै लागि बिहान ५ बजे टि.यू. पुगिदिन्छु। मलाई आफ्नै जोस-जाँगर देखेर अचम्म लाग्छ। जे होस्, यो साल मलाई सफलताको शिखर चुम्ने ठूलो धोको छ, जुन अवश्य पुरा गरेरै छाड्ने छु।
2081-6-23: प्रत्येक दिन भेटिने नयाँ जोसिला साथीहरूको संगतले म झन लोकसेवातिर उत्प्रेरित भइरहेकी छु। त्यसैले त बिहानको साढे ४ बजे उठ्ने मेरो दैनिकी नै बनेको छ। हत्तार-हत्तार तयार भएर म ५ बजे लाइब्रेरी पुग्ने गर्छु। बिहानीको समय, चिसो मौसम, अँध्यारोमा टिलपिल-टिलपिल बल्ने सडकका बत्तीहरूको सानो उज्यालो अनि सुनसान सडक। धन्न स्कुटर छ मेरो साथी। स्कुटर नभएको भए त सायदै म त्यति अँध्यारोमा एक्लै लाइब्रेरी पुग्न सक्दिनथेँ होला! स्कुटरमै भए पनि लाइब्रेरी नपुगेसम्म घरी चितुवा त घरी खराब मान्छेको डरले मनमा चिसो पसिरहन्छ। के गर्नु, सफल हुनलाई बढी मेहनत त गर्नैपर्छ, हैन त? तर यो पटकको मेहनत मैले कसैको कर र डरले हैन, आफ्नै रहरले गरिरहेकी छु। त्यसैले मेहनतको फल अवश्य प्राप्त हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ।
2081-6-26: यो सालको दशैँमा मलाई साथीभाइ र आफन्तसँग रमाइलो गर्नु भन्दा पनि बढी पढ्न मन छ। त्यसैले घर नजाने योजना बनाएकी थिएँ। तर बाबा आमाको मन दशैँ मनाउन घरै जान कर गर्नुभयो। अचानक बस टिकट काट्ने १ हप्ता अगाडि भारी वर्षा भयो। बाढी पहिरोले जताततैको रोड भत्काइदियो। अन्तमा दशैँ कीर्तिपूरमै मनाउने भयौँ। दशैँका धेरैजसो दिनहरू लाइब्रेरीमै बिताएँ। ५-६ दिन चल्ने दशैँ मैले चाहिँ २ दिन मात्र मामाघर गएर रमाइलो गरेर मनाएँ अनि बाँकी दिन लाइब्रेरीमा पढेर बिताएँ। त्यसैले अरु वर्षको दशैँभन्दा यो वर्षको दशैँ मेरो लागि धेरै उपलब्धिमूलक रह्यो।
2081-6-28: आजकाल म ६ घण्टा मात्र सुत्ने गर्छु। उठेदेखि प्रायजसो मेरो आँखा कि पुस्तकमा हुन्छ कि त मोबाइलमा। त्यसैले हिजोआज फेरि आँखा कमजोर भएको महसुस हुन थालेको छ। आँखा सुख्खा भएर दुख्ने पनि गर्छ। आँखाकै स्वास्थ्यको लागि बिहान अबेरसम्म सुतौँ झैँ लाग्छ फेरि मन मान्दै मान्दैन। त्यसैले हत्तारिदै बिहानै लाइब्रेरी पुगिदिन्छु। के गर्नु, ठूलो सफलता प्राप्त गर्न धेरै मेहनत त गर्नै पर्छ। आँखा दुख्यो भन्दैमा पढ्न त छोड्न भएन नि, हैन र!
2081-6-29: आज बिहान आँखा खुल्दा कोठाको पर्दाबाट अलि-अलि सूर्यको किरण आइरहेको थियो। हत्तपत्त घडी हेरेँ। ओहो! बिहानको ५ बजेर ३० मिनेट गइसकेछ। साढे ४ बजेको मेरो मोबाइलको अलाराम त सुन्दै सुनिनछु। आफैँदेखि रिस उठ्यो। लाइब्रेरीमा यति ढिलो गएर सिट पाइन्न, नजाउ झैँ लाग्यो। त्यै पनि कतै पाइहालिन्छ कि भन्ने आशामा लाइब्रेरी पुगेँ। तर अहँ, पाइनँ। चउरमा निस्केर पढेँ एकछिन। वरपर चिनेका धेरै साथीहरू पनि पढिरहेका थिए। उनीहरूसँग घरी पुस्तकका विषय त घरी जीवनका कुरामा छलफल गर्यौँ। हामीले एकअर्काको संस्कार, परम्परा, चलन, जीवनशैली इत्यादिको विषयमा छलफल गर्यौँ। यो पनि उपलब्धिमूलक नै रह्यो। आज दिउँसो भने कोठामा नै पढ्ने योजना छ।
2081-7-15: हिजोआज फेरि निराशाले गाँज्न थालेको छ। जुनबेला पनि रिस मात्र लाग्छ। त्यही भएर कोठामा बहिनीहरूले गरेको सानो-सानो गल्तीमा पनि धेरै रिसाएर गाली गर्छु। मलाई थाहा छ यो यसरी सानो कुरामा पनि रिसाउनु राम्रो हैन, त्यै पनि म आफैँलाई नियन्त्रण गर्न सकिरहेको हुँदिनँ। लोकसेवा प्रतिको अन्योलले होला! आफैँदेखि विरक्त लाग्न थालेको छ।आज बिहान म बिउँझदा साढे ४ बजेको थियो। तयार भएर लाइब्रेरी पुग्दा ५ बजेर १० मिनेट जत्ति मात्र बजेको थियो। त्यसैले बस्ने कुर्सी पाउँछु भन्ने पूर्ण विश्वास थियो तर अहँ, पाइनँ। अरुबेला त ६ बजे सम्म सिट पाउँथ्यो। सायद दशैँ मनाएर सबै विद्यार्थी फर्कन भ्याइसकेछन्। भित्र सिट राखेर बाहिर पढ्ने पनि धेरै हुन्छन्। त्यसैले रिजर्भ भएको सिट पनि खाली नै हुन्छ प्रायः। म पनि अरू जस्तै रिजर्भको लागि झोला राखेको ठाउँमा बसेँ। ५ मिनेट पछाडि त्यो सिटको मान्छे आइहाल्यो। उठेर अर्कैको सिटमा सरेँ। ३० मिनेट पछाडि त्यो सिटको मान्छे पनि आइहाल्यो अनि फेरि अर्को सिटमा सरेँ। यसरी नै ९ बजेको समयसम्म म्युजिकल चेयर खेलेझैँ गरेर बिताएँ। बाँकी १० बजेसम्मको समय बाहिरको न्यानो घाममा पढेर बिताएँ।
2081-7-18: आजकाल मैले सबैभन्दा घृणा गर्ने प्रश्न र अरूले जहिल्यै सोध्ने प्रश्न एउटै छ “लोकसेवा कहिले पास गर्ने?” म मुस्कुराउँदै भनिदिन्छु— “तयारी पुगेपछि।” अनि प्रतिप्रश्न आउँछ, “तयारी कहिल्यै पुग्छ त?” म निशब्द हुन्छु। उत्तर दिन नसकी म निरिह र लाचार महसुस गर्छु। आज पनि फोनमा दिदीले “छिटो-छिटो लोकसेवा निकाल” भन्दै हुनुहुन्थ्यो। केही बोल्न सकिनँ, सधैंझैँ मुस्कुराएर टारिदिएँ। अरू विषयमा कुरा गर्न कोसिस गरे पनि लोकसेवा सधैं बीचमा छिरिहाल्छ, जुन मलाई असह्य हुन्छ। त्यसैले हो, आजकाल म परिवार र आफन्तसँग फोनमा बोल्न पनि त्यति रुचाउँदिन। व्यस्त भएर बोल्न नभ्याएझैँ बहाना बनाइदिन्छु।
2081-7-20: सँगै स्कूल पढेको साथी अष्ट्रेलिया गएर घर किन्न भ्याइछे। फेसबुकमा घरको फोटो देखेँ खुसी लाग्यो। सानो हुँदा “म कहिल्यै बिहे गर्दिन” भन्ने उनी इन्गेजमेन्ट गर्न भ्याइछे। ओहो! उनको समय कत्ति छिटो बदलिएछ। मलाई सोध्दै थिई “के गर्दैछौ?” भनेर। उनको प्रश्नले बल्ल पो झस्किएँ। के गर्दैछु र म? ५ वर्षअघि पनि झोलामा किताब बोकेर कलेज नै गइरहेकी थिएँ, अनि आज पनि कलेज नै गइरहेकी छु। खै, साथीलाई सुनाउनुपर्ने के नयाँ खबर छ र मसँग? घडीको चालसँग त उनी मात्र दौडन जान्ने रहिछिन्। म त समयसँग हिँड्न पनि जानिनँ क्यारे! जानेकी भए त कहीँ न कहीँ त पुग्नुपर्ने हो।
2081-7-21: यो गएको हप्ता तिहार मनाएर बित्यो। लगभग २ वर्ष पछि चाडबाड मनाउन घर पुगेको म किताब छुनै मन लागेन। बोकेर लगेको संविधान नपढी फिर्ता ल्याएँ। धेरै दिन पछि आज बिहान ६ बजे म लाइब्रेरी पुगेँ। तर सधैँ बस्ने गरेको लाइब्रेरी बन्द रहेछ। यत्तिकै लाइब्रेरीको ढोकामा बसेर पढेँ तर अहँ चिसोले गर्दा पढ्न सकिनँ। दैनिक बिहानको ४ बजे नै लाइब्रेरी आउने साथीलाई फोन गरेँ। उनले एउटा सिट खाली भएको जानकारी दिइन्। म पनि २४ घण्टे खुल्ने टहराको लाइब्रेरीमा पुगेँ। सबै साथीहरू पढ्नमा व्यस्त थिए। म पनि पुस्तक पल्टाएर पढ्न थालेँ। मेरो नजिकै एउटा उपसचिवको पुस्तक थियो। कसको हो? भनेर सोध्दा साथीले जवाफ दिइन्-उहाँ दिदीको बुक हो। केही सम्झेझैँ गरी उनले फेरि बोलिन् ‘अ साँचि मैले अस्ती तिमीलाई भेटाइदिन्छु भनेको अधिकृत पढ्ने दिदी हुन् क्या उहाँ। नाम सुन्ने बित्तिकै आफूले चाहेको अमूल्य चिज पाएझैँ प्रफुल्लित भएँ। हुन पनि उहाँको बखान मैले धेरै साथीहरूको मुखबाट पहिल्यैदेखि सुन्ने गरेकी थिएँ। एकदिन अर्को साथीले पनि मलाई सुनाएको थियो, “उहाँ दिदी जस्तो पढ्ने व्यक्ति मैले लाईब्रेरीमा अरु भेटेकै छैन। उहाँको शाखा अधिकृतको तयारी धेरै राम्रो पुगेको छ। एकपटक त वैकल्पिकमा पनि नाम आइसकेको छ।” त्यही दिनदेखि हो मलाई दिदीलाई भेट्ने र उहाँसँग संगत गर्ने मन लागेको थियो। आज एक्कासी भेट्दाको खुसीले गर्दा होला, उहाँको इन्टरभ्यू लिएझैँ प्रश्नको वर्षा गरिदिएँ। मेरो प्रफुल्लित व्यवहार देखेर अवश्य पनि उहाँ चकित हुनुहुन्थ्यो। गोरो वर्ण, अग्लो उचाइ र हँसिलो मुहार भएको उहाँ दिदी, मैले सोचेभन्दा फ्रेन्डली नै हुनुहुदो रहेछ। सानो स्वरमा कानेखुसी गर्दै एकछिन उहाँसँग लोकसेवाकै कुराकानी भयो। फर्कने बेला उहाँसँग फोन नम्बर पनि साटासाट भयो। उहाँसँग भेटेको खुसी यति बिध्न थियो कि मानौँ मैले ठूलै उपलब्धि नै हासिल गरेँ। आशा छ आगामी दिनमा उहाँसँग मेरो राम्रो सहकार्य हुनेछ।
2081-7-24: हेर्दा उमेर ७० वर्ष नाघेझैँ-थाक्कै मेरै हजुरबा जस्तै लाग्छ। तर उहाँको पढाइप्रतिको लगाव देख्दा हामी युवाभन्दा कम हुनुहुन्न। प्रत्येक दिन बिहानै लाइब्रेरी आउनुहुन्छ अनि हाम्रै बगलमा बसेर दिनभर पुस्तक पढेर बस्नुहुन्छ। आज पनि सदाझैँ म लाइब्रेरी पुगेकै समयमा उहाँ पनि आउनुभयो। आज उहाँको बसाइ ठीक मेरै छेउमा थियो। उहाँको अगाडि ३-४ वटा ठूला-ठूला अङ्ग्रेजी पुस्तकहरू थिए। उक्त पुस्तकहरू सर्सर्ती हेर्दै सानो डायरीमा केही टिपोट गर्नुहुन्थ्यो। केही समय पश्चात सबै पुस्तक पढेर अर्को नयाँ पुस्तक ल्याउनुहुन्थ्यो। दिनभर यही क्रम चलिरह्यो। उमेरको बुढ्यौलीले गर्दा होला सास अप्राकृतिक रूपमा बढिरहेको थियो। तर पनि उहाँ निरन्तर पुस्तकमै घोटिरहनुभयो। उहाँलाई देखेर लाग्यो, आखिरमा सबै कुरा इच्छाशक्ति नै त रहेछ। नत्र भने घरमा आराम गरेर बस्ने उमेरमा पढ्नको लागि दैनिक लाइब्रेरी आउने जोस-जाँगर कहाँबाट आउँदो हो र! उहाँको अगाडि आफ्नै अल्छीपनलाई देखेर लाज लाग्यो।
2081-7-30: हिजोआज लाइब्रेरीमा दाईदिदीहरुसँग हाम्रो छलफल समूह बनेको छ। पढाइको क्रममा कतिपय कुरा उहाँहरुले सिकाउनुहुन्छ अनि कतिपय कुरा म सिकाउँछु। आज पनि दिउँसोको ३ घण्टाको समय रोज गार्डेनमा छलफल गरेरै बितायौँ। हामी जम्मा ६ जनाको समूह थियौँ। हाम्रो छलफलको मुख्य विषय जी.के. थियो। सधैँ एकोहोरो स्वअध्ययनले गुम्सिएको ज्ञानले निकास पाएझैँ लाग्यो। अब्बल र अनुभवी अग्रजहरुको माझ छलफलमा सहभागी बन्न सकेको कारणले ममा थप आत्मविश्वास पलाएको छ। मैले धेरै अगाडिदेखि खोजिरहेको अब्बल छलफल समूह बल्ल जुरेझैँ लागेको छ। अब आउने हप्ताको लागि पनि हामीले अधिकृतको चौथो पत्रको तेस्रो खण्ड छलफलको लागि छुट्टाएका छौँ। आशा छ हाम्रो छलफल कार्यक्रम सधैँ उपलब्धिमूलक बन्नेछ।
2081-8-4: मौसमझैँ अस्थिर यो मन। त्यही बेला संसारै जित्न तयार बनिदिन्छ अनि फेरि उही पल केही गर्न नसक्ने लाचार भइदिन्छ। ३-४ दिन लगातार पढेपछि मलाई पुस्तकदेखी यसरी थाकेर आउँछ कि मानौँ म थप अरु पढ्न सक्दिनँ। आज पनि दिनभर पढ्न त्यति जाँगर चलेन। त्यै पनि जबरजस्ती पुस्तककै साथमा लाइब्रेरीमा दिन बिताएँ। साँझ खाना खाएपछि भने मोबाइल चलाएरै बिताएँ।
2081-8-8: आज शनिबार, ५ बजेको अलारामले बिउझायो। लाइब्रेरी पुग्दा साढे ५ बजिसकेको थियो। त्यै पनि सिट नपाउने डरले हत्तार-हत्तार स्कुटर पार्क गरेर लाइब्रेरीतिर दौडिँदै गर्दा, “नमस्कार दिदी” भन्ने अँध्यारोबाट आएको आवाजले झस्किएँ। चस्मा मिलाएर हेर्दा बल्ल चिनेँ, परिचित भाई रहेछ। “सिट छ?” भनेर सोधिहालेँ। “छ, नत्र मेरो हरियो झोला सारेर त्यही सिटमा बस्नुन” सरल जवाफ दियो। “म तिम्रो सिटमा बसे भने तिमी चाहिँ कहाँ बस्छौ?” भन्ने प्रश्न सोध्न नपाउँदै उ हतारिँदो पारामा ओझेल भयो। सिट अरु पनि खाली नै थियो त्यसैले उसको ठाउँमा बस्न परेन। त्यै पनि उसको त्यो आत्मियता देख्दा मन हर्षित भयो। उ त्यही भाइ थियो जसले मलाई १-२ दिन अगाडि मात्र “+२ सकेको होला हैन भर्खर?” भन्ने प्रश्न गरेको थियो। “हैन त्यति सानी देखिन्छु र? मेरो त मास्टर्स डिग्री नि सकिन लाग्यो” भन्ने मेरो ठट्यौली उत्तरमा उ खुब लजाएको थियो। पछि उसले नजानेको एउटा प्रश्नको मैले उत्तर सिकाएपछि भने मसँग नजिक भएको थियो। हुनत मलाई लाइब्रेरीमा पहिलो पटक भेट्ने सबै साथीहरूले +२ वा ब्याचलर पढ्दै गरेको हो? भनेर नै पहिलो प्रश्न गर्छन्। सानो कपाल र होचो उचाइले गर्दा होला सायद म उमेरभन्दा सानी देखिन्छु रे!
2081-8-11: १ महिनादेखि मेरो आँखा दुख्ने र दृश्य पनि कम भएको छ। त्यसैले हिजो आँखा चेक गराउन किर्तिपुर अस्पताल गएँ। मेरो आँखाको पावर धेरै कम भएछ। अर्को चस्मा फेरेँ। चस्माको पावर एकैचोटी धेरै बढेको भएर होला आज पनि दिनभर आँखा दुखेर पढ्न असहज भइरह्यो। त्यै पनि दिनभर पुस्तकसँगै बिताएँ। के गर्नु, आँखा दुख्यो भन्दैमा पढ्न त छाड्नु भएन नि, हैन र?
2081-8-19: आज लाइब्रेरी कार्ड नवीकरण गराएँ। किर्तिपुरको टि.यू. लाइब्रेरी जान थालेको पनि ६ महिना पुगिसकेछ। हिजोदेखि त भर्खर जान थालेझैँ लाग्छ। ओहो! समय त कति चाँडै बितिसकेछ। यो ६ महिनाको अवधिमा बढी समय मैले लाइब्रेरीमा पुस्तकसँगै बिताएँ। समग्रमा भन्नुपर्दा लाइब्रेरीको यात्रा धेरै उपलब्धिमूलक नै रह्यो। मलाई लोकसेवा परीक्षा तयारीप्रति एकाग्रता गराउनमा यसकै हात छ। अझ त्यहाँ पढ्न आउने मेहनती साथी-भाइ-दाइ-दिदीहरूसँगको भेट र सहकार्य झनै उपलब्धिमूलक छ। मैले पुस्तकालयमा सबैभन्दा बढी समय बिताएको कोठा नं ११० झनै विशेष लाग्छ। मिलेसम्म बिहान, दिउँसोको मेरो सबै समय यही कोठाको चौघेरालाई समर्पित गरेकी छु। मेरो खुसीको क्षण, दुःखको क्षण, नैराश्यताको क्षण, उत्साहपूर्ण क्षण-सबै क्षणहरू यही कोठाका भित्ताहरूसँग साटेकी छु। यसलगायत बिहानपख झ्याल छेउको रुखमा आउने सुगाको बथान, साझपख रंग परिवर्तन गर्ने रंगीन आकाश, अध्यारो भएसँगै गुँड फर्कने कागहरूको झुण्ड, रोज गार्डेनमा सधैँ फुलिरहने रंगीबिरंगी गुलाफका फूलहरू, पुस्तकै पुस्तकले भरिएको शान्त दराजहरू अनि दैनिक रूपमा भेटिने नयाँ अनुहारहरूसँग मैले मेरो कथा धेरै पटक साटेकी छु-कहिले आँखाको भावमा त कहिले मौन सृजनाहरूमा।
2081-8-22: घडीले रातको ११ बजेको समय देखाइरहेको छ। छेवैमा सुतेकी बहिनीको घुरेको आवाज बाहेक माहोल एकदमै शान्त छ। अघि सम्म कानसम्मै ठोकिने गाडी-बाइकको आवाज अहिले फिटिक्कै सुनिएको छैन, सायद सहर पनि निदाइसक्यो। मोबाइलको बेड टाइम रिमाइन्डरले छिनछिनमा बजेर सुत्ने बेला भयो भनेर झकझकाइरहेको छ। तर मेरो आँखामा फिटिक्कै निद्रा छैन। आज मात्र हैन, हिजोआज मलाई रात नपरिदिए हुन्थ्यो झैँ लाग्छ। जति-जति रात ढल्दै जान्छ, उत्ति-उत्ति पढ्न धेरै बाकी छ झैँ लाग्छ। सायद ओछ्यानभन्दा मलाई सपना प्यारो लाग्न थालेको छ। भोलि फेरि साढे ५ बजेसम्म उठ्नै पर्छ, नसुति पनि कहाँ भयो र? सुत्नै पर्यो अब!
2081-8-29: मंसिर महिना, काठमाडौँको जाडो सहिनसक्नु छ। चिसोमा लाइब्रेरीको एकोहोरो बसाइले गर्दा होला, जिउ पुरै दुखिरहेको छ। आजकाल मेरो सुताइ पनि ६ घण्टामा नै सीमित भएको छ। बिहानैको चिसोमा कहिले लाइब्रेरी त कहिले कलेज दौडधुप गरेर होला, हिजोबाट रुघाखोकी पनि लाग्ला झैँ जिउ बिसञ्चो भइरहेको छ। मन त छ, नपढी एकदिन दिनभर सुतेर आराम गरौँ। तर मनभरि परीक्षाको छटपटी बोकेर निदाउन पनि त कहाँ सहज छ र? यो सालको लोकसेवा भ्याकेन्सी खुलिसक्यो। अरुबेला भन्दा यो चोटि कर्मचारी माग संख्या कम छ। हुन त मलाई चाहिने जम्मा एक सिट त हो। मेरो कोशी प्रदेशको परीक्षा लगत्तै संघको पनि परीक्षा हुने भएको छ। मेरो तयारीको अवधि जम्मा डेढ महिना मात्र बाँकी छ। तर पढ्नुपर्ने कुराको महासागर नै बाँकी छ। त्यसैले मैले हिजोआज मेरो पढाइको गति थप बढाउन थालेकी छु।
2081-9-3: बिहान ५:३० बजे मेरो मोबाइलको अलारामले बिउँझेँ। आज अलि बढी चिसो थियो। मोबाइलले ९ डिग्री सेल्सियस देखाउँदै थियो। उठ्न त मन थिएन, तर म्याम चाँडै कक्षामा आउने कुराले सुतिरहन सकिनँ। हत्तार-हत्तार तयार भई ग्यारेज पुगेर स्कुटर चलाएँ। चिसोले गर्दा स्कुटर पनि उठ्नै मानिरहेको थिएन। धेरै समय चोक तानेर एक्सिलेटर बतार्दा बतार्दा बल्ल स्टार्ट भयो। ट्याङ्गलाफाँट चोक, सिता पेट्रोल पम्प हुँदै चक्रपथ रिङ्ग रोड निस्कँदा सम्म मेरो एन्टीफग चस्मा पुरै बाफले ढाकिसकेको थियो। उफ! चस्मिस हुनु पनि कत्ति गाह्रो। साइडमा रोकेर चस्मालाई पुछेँ। फराकिलो चक्रपथ रिङ्ग रोडको चिसो बतासले बाक्लो लुगालाई छिचोल्दै मनसम्म चिसो पुगिरहेको थियो। मेन रोडबाट कलेज निस्कने ठाडो उकालो रोड, खै के नमिले नमिले जस्तो! एकपटक नरोकिकन त निस्कनै गाह्रो। म कलेज पुग्दा ६:२० भएको थियो। एम.पि.ए. सेकेण्ड सेमेस्टरका विद्यार्थीलाई कुर्दै सर कक्षा बाहिरै हुनुहुन्थ्यो। नमस्कार गर्दै म चौथो सेमेस्टरको कक्षाकोठातिर लागेँ। रिसर्चको कक्षा सुरु भइसकेछ। लगातार २ वटा विषयको कक्षा सकिँदा ९ बजिसकेको थियो। कलेजको लाइब्रेरीमा १०:३० सम्म पढेँ अनि हत्तारिँदै कोठा पुगेँ। खाना बहिनीले पकाइसकेकी थिइन्। खाना खाएर फेरि टि.यू. लाइब्रेरी पुग्दा सबैजना पढ्नमा व्यस्त थिए। यो वर्षको लागि अधिकृतको परीक्षा मिति तोकिसकिएको छ। सबैको तयारीको रफ्तार नबढ्ने त कुरै भएन। मैले पनि गोरखापत्र र कान्तिपुर पत्रिकाबाट आजको पढाइ सुरु गरेँ। लाइब्रेरीको कोठा चिसो थियो, बाहिर टन्टलापुर घाम लागेको देख्दा देख्दै भित्र बसिरहन मन मानेन। म, साथीहरुसँग किताब बोकेर घाममा निस्केँ। एकजना साथीले अमिलो ल्याएकी रहेछिन्। अमिलोले जिब्रो पर्काउँदै जी.के. छलफल गर्यौँ। चिसो हुन थालेपछि भने फेरि लाइब्रेरी भित्रै फर्क्यौँ। साढे ५ बजेसम्मको लगातार पढाइपछि म कोठा पुगेँ। रातीको समय इन्टरनेट र युट्युबबाट नोट बनाएँ। हिजोआजको मेरो दैनिकी यही रुटिनमा नै अगाडि बढिरहेको छ। जहाँसम्म मलाई लाग्छ, मेरो दैनिकी सही रफ्तारमा नै गइरहेको छ।
2081-9-9: परीक्षाको फाराम खुलेदेखि लाइब्रेरीको माहोल नै बेग्लै भएको छ। को के को तयारीमा छ भन्ने कुरा प्रायः लाइब्रेरीमा सबैलाई थाहा हुन्छ। मेरो तयारी बारे पनि सबैलाई थाहा छ। त्यसैले आजकाल लाइब्रेरीमा भेटिने सबैले सोध्ने प्रश्न एउटै हुन्छ “अधिकृतको फाराम खुल्यो हैन? तयारी कस्तो छ?”। म सरल उत्तर दिने गर्छु—”राम्रै छ”। हुन त आफ्नो सक्दो पढिरहेकै छु जस्तो लाग्छ। तर फेरि लाइब्रेरीमा तयारीमा जुटेको माहोल हेर्दा लाग्छ, मैले पढ्न धेरै नै बाँकी छ। लाइब्रेरीमा मात्र हैन कलेजमा पनि प्रतिस्पर्धीको कमी छैन, एम.पि.ए. पढ्ने सबै विद्यार्थी, कलेजका स्टाफ, अनि शिक्षक। खै के हुने हो! परीक्षाको प्रेसरले राम्रै गाँज्न थालेको छ। त्यसमा पनि बेलाबेला नैराश्यताले छोपिरहन्छ। यो पटक पनि राम्रो नतिजा आएन भने…?? निश्चयनै मेरो अवस्था नाजुक हुनेछ।
2081-9-13: कलेजमा जाडो बिदा सुरु भयो आजबाट। विदाकै अवसर पारेर कलेजका साथीहरू नुवाकोटको ककनी भन्ने ठाउँमा पिकनिक जाने योजनामा व्यस्त छन्। तर मलाई भने लाइब्रेरीभन्दा अरु कहीँ जान मन छैन। त्यसैले मैले नाम टिपाइनँ। आज शनिबार बिहान ५ बजे टहराको लाइब्रेरी पुगेँ। म पुग्दा धेरैजसो विद्यार्थी पढ्नमा व्यस्त थिए। म पनि पढ्नतिर लागेँ। आज अरु दिनभन्दा चिसो थियो। दिनभर घाम पनि लागेन। चिसोले गर्दा पढ्ने कोठाको ढोका पनि दिनभर बन्द नै रह्यो। खचाखच विद्यार्थी त्यसमा पनि ४-५ वटा कुकुरको बसाइँ। बाहिरको स्वच्छ हावा निर्धक्क साथ भित्र छिर्न सक्ने कुरा नै भएन। कोठाभित्र मान्छेले फेरेको कार्बनडाइअक्साइड ग्यासको मात्रा अक्सिजनभन्दा बढी भएर होला! कोठा न्यानो थियो। तर मलाई चाहिँ निस्सासिएझैँ लाग्यो-मानौँ हावामा दुर्गन्ध फैलिएको छ। त्यसैले किताब च्यापेर चौरमा निस्केँ। चिसो हावा नाक हुँदै एकैचोटि फोक्सोभित्र पस्यो। ओहो! कस्तो चिसो। आङ नै जिरिङ्ग भयो। हिजोको त्यो कलिलो सूर्यको किरणलाई कालो बादलले ढपक्कै छोपेको थियो। त्यसैले सूर्यनारायणको दर्शन गर्ने अवस्था थिएन। त्यै पनि यता उता डुल्दै पढ्न थालेपछि भने न्यानो भएर आयो। पढ्दै गर्दा अगाडिको रुखमा एउटा जुरेली बस्यो। वास्ता नगरौँ भन्दा भन्दै पनि मेरो मन एउटा हाँगाबाट अर्को हाँगामा फुत्रुक फुत्रुक उफ्रँदै गरेको जुरेलीमै गइरहेको थियो। एकछिन पुस्तक बन्द गरेँ र चरामै घुरिएँ। हिजोसम्म सँगै उड्ने जुरेलीको जोडीलाई हेरेँ तर अहँ कतै देखिन। ५ मिनेटपछि चरा एक्कासी भुर्र उड्यो, रुखको हाँगाको बुढो पातहरू बर्र खसे। हिजो भर्खर पलाएको पालुवा आजै कसरी यति चाँडै खस्यो? म अचम्म परेँ। वरपर हेरेँ- धेरैजसो रुख त पात खसेर नाङ्गो भइसकेछ। भुइँतिर हेरेँ- बुढा पातहरू त छरपस्ट थिए। हिजोको हरियो त्यो चौर पनि घाँसबिहीन सुख्खा भइसकेछ। पाइला चाल्दा पनि हतारिएझैँ गर्दै धुलो फुङ्ग उड्दै थियो। ज्याकाराण्डाको धकमक्क फूल त अवश्य नै होला भनेर माथितिर हेरेँ- यसको रुख त झन् सुकेको बुढो रुखझैँ खंरङ्ग देखियो। कस्तो बिरक्तलाग्दो दिन। ओहो! हिजोको हराभरा आज एकदिनमै कसरी यति चाँडै मरुभूमिमय बन्न सक्छ? कि मैले कति वटा हिजो बाँचिसकेँ? कतै मैले कल्पना गरिरहेको हिजो… वर्षौँ अगाडिको त हैन? दिमाग रन्थनिएर आयो। हत्तपत्त लाइब्रेरी भित्र पसेँ। यस्तो चिसो मौसममा असिनपसिन भएको मलाई देखेर होला अरु विद्यार्थी साथीहरु चकित थिए।
2081-9-15: आज सार्वजनिक बिदा- टिनले छाएको सानो वाला लाइब्रेरी बाहेक अरु सबै लाइब्रेरी छुट्टी थिए। त्यसैले बस्ने सिट पाउन बिहान साढे ५ बजे नै लाइब्रेरी पुगेँ, तर सबै भरिभराउ थियो। कुनै पनि सिट खाली थिएन। बाहिर चउरमा निस्केँ, त्यहाँ त झन् सेतै तुसारो झरेको थियो। त्यसैले चिसोले गर्दा चउरमा पढ्ने अवस्था थिएन। अब फर्किनुको विकल्प थिएन। आँखा मिच्दै लाइब्रेरी पुग्ने बित्तिकै घर फर्कनु पर्दाको क्षण मलाई साह्रै नराम्रो लाग्छ। झोला बोकेर बाहिरिन लाग्दा एउटा साथीले ९ बजेसम्म आफ्नो सिटमा बस्न आग्रह गर्यो। उसको बाहिर जाने काम परेको रहेछ। मलाई त ढुँगा खोज्दा देवता भेटेझैँ लाग्यो। मनमनै कृतज्ञता व्यक्त गरेँ। बिहानभरि उसकै सिटमा पढेँ, दिउँसो नयाँ सिट पाइहालेँ। हुन त बस्नका लागि लाइब्रेरीमा सिट पाउनु त्यति ठूलो कुरा त होइन, त्यै पनि मलाई भने सिट पाएको दिन यत्ति खुसी लाग्छ कि मानौँ मैले कुनै युद्ध जितेकी छु।
2081-9-18: सधैँझैँ बिहानको साढे ५ बजे मेरो आलार्म बज्यो। आज मनमा अरु दिनझैँ जोस थिएन। घाटी दुखिरहेको थियो सायद चिसोले होला। शरीर भारी थियो। ज्वरो पनि आउला झैँ भइरहेको थियो। एकछिन ओछ्यानमै पल्टेँ। जसोतसो मनलाई मनाएँ अनि लाइब्रेरी पुगेँ। पुग्नेबित्तिकै गार्ड दाइ कार्ड चेक गर्न आउनुभयो। चेक गरेको एक घण्टापछि नै अर्को गार्ड दाइ आउनुभयो। प्रत्येक घण्टा चेकिङमा आउने अनि “मास्टर्स डिग्रीको विद्यार्थी हो?” भनेर पटकपटक प्रश्न सोधेको देखेर दिक्क लागेर आयो। हामी विद्यार्थी हौँ। सबै प्रक्रिया पूरा गरेर लाइब्रेरीमा पढ्न आएका छौँ। त्यै पनि पटकपटक कुनै अपराधीजस्तो “विद्यार्थी हो?” भन्ने शङ्कासहित चेकिङ गर्दा मन विरक्तिएर आयो। अझ लाइब्रेरी कार्डसँगै आफ्नै कलेजको आईडी कार्ड पनि साथमा राख्नुपर्ने रे! उफ यो चाहिँ अति नै भयो। केही नसोची गार्ड दाइलाई नै उल्टो प्रतिप्रश्न गरेँ, “अरु रिफरेन्स वाला लाइब्रेरी कार्ड र विद्यार्थीको लाइब्रेरी कार्ड त धेरै भिन्न हुन्छ दाइ। यहाँ हेर्नु न कार्डमा कलेजको नाम समेत लेखेको छ। लाइब्रेरी कार्डमा नै ‘म विद्यार्थी हो’ भन्ने कुरा स्पष्ट हुँदा हुँदै कलेजको कार्ड के जरुरी?” तर मेरो प्रश्नलाई बेवास्ता गर्दै “ल्याउनु भनेपछि ल्याउनु” भन्दै दाइ बाहिरिनुभयो। आवश्यकता भन्दा बढी कडाइ गरेको देखेर रिसले रन्थनिएँ। पढाइमा ध्यान दिन खोजेँ, तर दिमाग भने द्वन्द्वमै उत्रिरहेको थियो। त्यसैले किताब बोकेर चउरमा पुगेँ। मन अलि शान्त भयो। २ घण्टा पढेर भित्र पसेँ। मेरो सिटमा त अर्कै मान्छे बसिसकेको रहेछ। त्यहाँ पनि झगडा नगरी सिट फिर्ता पाउने अवस्था आएन। फेरि शान्त दिमाग उसैगरी रन्थनियो। आज दिनभरि झगडामै अल्झिन पुगेँ। समग्रमा आजको दिन खराब थियो। हुन त सधैँ समय हाम्रै अनुकूलमा हुन्छ भन्ने कहाँ छ र हैन?
2081-9-23: आज ६ बजे नै लाइब्रेरी पुगेँ। म बस्ने ११० नम्बरको कोठामा अरु ३-४ जना साथीहरू आइसकेका थिए। अर्को कोठातिर भने विद्यार्थी सबै भरिभराउ भइसकेका थिए। शान्त वातावरण, सबै पढ्नमा व्यस्त थिए। लगभग ६:५० बजे तिर एक्कासी ठूलो भयङ्कर आवाज कानसम्मै ठोक्किन पुग्यो। सोचेँ, सबै चरा एकमुष्ट उडेर यस्तो आवाज आएको होला। तर आवाजसँगै लाइब्रेरी यसरी हल्लिन थाल्यो कि मानौँ लाइब्रेरी एउटा पिङ्ग हो। अनि पो बल्ल थाहा भयो- यो त भूकम्प रहेछ। सबै विद्यार्थी “भूकम्प आयो” भन्दै कराउँदै ढोकातिर भाग्न थाले। शान्त लाइब्रेरीमा विद्यार्थीहरूको चिच्याहट गुञ्जियो। म पनि सबै किताब छोडेर दौडन थालेँ। लाइब्रेरीका बत्तीहरू एकपछि अर्को गर्दै सबै निभिरहेका थिए। अँध्यारोमा अन्धाधुन्ध दौडिरहेका थियौँ। फराकिलो सिँढी पनि धेरै विद्यार्थीको चापले होला, आज साँघुरो लागिरहेको थियो। यत्तिकैमा अचानक कसैले मेरो हात समायो। लाग्यो, सायद मलाई दौडन सघाउँनलाई होला। तर अह! त्यो अपरिचित मान्छेले मलाई तानेर पछाडि धकेल्यो अनि आफू अगाडि दौड्यो। धन्नले नलडेको म! चस्मा भने अलिकति बाङ्गियो। कस्तो स्वार्थी मान्छे! भूकम्पको डरमा रिस मिसियो। यत्तिकैमा भर्याङ छेउको पुस्तकको एक चाङ डम्मै खस्यो। २०७२ सालको भूकम्प आँखामा झल्झली आउन थाल्यो। मन झन् अत्तालियो। सधैँ त मलाई ११० नम्बरको कोठामा पुग्न कत्ति पनि समय लाग्दैनथ्यो। तर आज लाइब्रेरीबाट बाहिरिन लाग्ने १ मिनेटको समय १ घण्टाजस्तै लाग्यो। लाइब्रेरी बाहिर पुगेपछि बल्ल डर कम भयो। तर अझै भूकम्प रोकिएको थिएन। सबै विद्यार्थी र लाइब्रेरीका कर्मचारीहरू कोही आफ्नो अनुभव साट्न व्यस्त थिए त कोही आफ्नो परिवारसँग फोनमा कुरा गर्दै थिए। मैले पनि मेरो परिवारको खबर लिएँ। सबै सकुशल रहेछन्। मन अलि ढुक्क भयो। भूकम्प रोकिएपछि फेरि भित्रै गएर पढ्यौँ। के गर्नु, परीक्षाले भूकम्प भन्दैन। आजको दिन मेरो लागि साँच्चिकै भयभीत थियो किनकि काठमाडौंमा यत्ति ठूलो भूकम्पको अनुभव मलाई कहिल्यै भएको थिएन।
2081-9-24: घडीमा रातको १२ बज्न लाग्यो। तर मलाई भने पढ्ने समय अझ लम्बाउन पाए हुन्थ्यो जस्तो लाग्छ। ९ बजे तिर मलाई च्याप्न आएको निद्रा पनि कफीले कता भगाइदियो कता। आँखामा फिटिक्कै निद्रा छैन। अझ पुस्तकमै हराऊँ जस्तो लाग्छ। तर के गर्नु! आज सुतेर भोलि फेरि छिटो उठ्नु छ। भन्न त भन्थे सबैले “पास हुनु नहुनु आफ्नो ठाउँमा छ, तर लोकसेवाले किताबको लत भनेर बसाएरै छाड्छ।” त्यो समयमा मलाई यो कुरा कुनै ठट्टा जस्तो लाग्थ्यो, तर आज मलाई साँच्चिकै पुस्तकको लत बसेको छ। लाइब्रेरीमा भएका सबै किताब पढेर सकाऊँ जस्तो लाग्छ। सम्भव भएसम्म त मैले धेरै लाइब्रेरीका किताबहरू पनि पढेको छु। यसबाहेक आफ्नो तर्फबाट पनि मैले लोकसेवा सम्बन्धी फरक-फरक लेखकहरूको पुस्तक सङ्कलन गर्न भ्याइसकेँ। आज बहिनीले खर्चका लागि दिएको २ हजार रुपैयाँले पनि भोलि नयाँ पुस्तक किन्ने योजना बनाएकी छु। कुनै बेला म पुस्तकदेखि टाढा-टाढा भाग्ने गर्थेँ। कसैले मलाई “तिमीलाई के गर्न मन पर्छ?” भनेर सोधिदिँदा पनि म निर्धक्क साथ भनिदिने गर्थेँ “पढ्न बाहेक सबै कुरा गर्न मन पर्छ।” तर आज मलाई किताबको लत लागेको छ। हो, साँच्चिकै लोकसेवाले मलाई पुस्तकप्रेमी बनाएको छ।
2081-10-2: आज बिहान घरको छतभरि सेतै तुसारो झरेको थियो। मौसम चिसो त हुने नै भयो। त्यसैले आज घाम झुल्केपछि मात्र लाइब्रेरी पुगेँ। सधैँझैँ म सरासर कोठा नम्बर ११० मा पुगेँ। अरु कोठामा बिहानै सिट भरिए पनि यो कोठामा मास्टर्स डिग्री पढ्ने विद्यार्थी मात्र बस्न मिल्ने भएकाले यो कोठा प्रायः खाली नै हुन्छ। सधैँझैँ आज पनि त्यहाँ जम्मा ५-६ जना विद्यार्थी पढ्नमा व्यस्त थिए। म पनि किताबतिरै घोरिएँ। आधा घण्टापछि लाइब्रेरीका एक जना स्टाफ यसरी दौडिएर आउनुभयो कि शान्त माहोल एक्कासी खल्बलियो। एकपछि अर्को सबैको कार्ड चेक गर्दै बाहिर पठाउन थाल्नुभयो। अनि आयो मेरो पालो। सोचेँ, सधैँझैँ चेकिङ गर्न आउनुभएको होला। त्यसैले मलाई सोध्नु अगाडि नै मैले आफ्नो विद्यार्थी कार्ड देखाएँ। मेरो कार्डलाई हेरेर उहाँले सोध्नुभयो “मास्टर्स डिग्रीको विद्यार्थी हो, म्याडम?” मैले टाउको हल्लाएर “हो” भन्ने जवाफ दिएँ। उहाँले ठूलो स्वरमा भन्नुभयो, “यहाँ तपाईं बस्न मिल्दैन, यो त एमफिल, पिएचडी र प्रोफेसरका लागि बनाएको कोठा हो। उ उता अर्को ठाउँमा गएर बस्नुहोस्।” उहाँको स्वर यत्ति रूखो लाग्यो कि मानौँ मैले कुनै अपराध गरेकी छु। लाइब्रेरीको नियमअनुसार नै ५-६ महिनादेखि रेगुलर यही कोठामा बस्दै आएको म, उहाँको कुरा सुनेर अचम्म लाग्यो। मैले पनि प्रतिप्रश्न गरेँ, “सर यो कहिलेदेखि लागू भएको नियम हो र?”। “यो सधैँको नियम नै हो, नियम थाहा भई पनि तपाईंहरू जबर्जस्ती यही बस्नुहुन्छ! ल, जानुहोस्,” भन्दै बाहिर निस्कन कर गर्नुभयो। मलाई उहाँको व्यवहार मन परेन त्यसैले ठूलै स्वरमै जवाफ दिएँ, “ल, ठीकै छ सर- हामी लाइब्रेरी प्रमुख सरसँग कुरा नगरी यहाँबाट जाँदैनौँ।” किताब च्यापेर बाहिरिन लागेका अरु साथीहरूले पनि मेरो कुरामा समर्थन गरे। “ल, जानुहोस्, अहिल्यै कुरा गरेर आउनुहोस्,” स्टाफले चुनौती देखाए। हामी पनि सबैले तत्काल लाइब्रेरी प्रमुखसँग कुरा गर्न गयौँ। अन्तमा हामी नै सही ठहरियौँ र कोठा नम्बर ११० मै फर्कियौँ। कोहीसँग पनि झगडा गर्दिन भन्दा भन्दै पनि सधैँ मसँगै विवादास्पद अवस्थाहरू आइपर्छन्। आज पनि लाइब्रेरीमा मेरो दिन बिहानैको झगडासँगै सुरु भयो। समस्या तत्काल समाधान भएता पनि कर्मचारीको तीतो बोलीले दिनभर मेरो दिमाग डिस्टर्ब भइरह्यो। स्वयं आफूचाहिँ लाइब्रेरीको नियम-कानुनबारे अनभिज्ञ रहने अनि बेलाबेला विध्यार्थीलाई दुख दिने कर्मचारीको प्रवृति देखेर दिक्क लाग्यो।
2081-10-5: आज शनिबार, परीक्षा दिन जाने योजना बनाएँ। लाइब्रेरीमा सँगै पढ्ने साथीहरूलाई फोन गरेँ। तर उनीहरू आज आफ्नै व्यस्तताका कारण परीक्षा दिन जान नभ्याउने भए। कहिलेदेखि योजना बनाउँदा बनाउँदै मेरो पनि बल्ल आज त साइत जुरेको, त्यसैले अलमल नगरी म बिहान ९ बजे तयार भएर सुन्धाराको गाडी चढेँ। गाडी चढ्नेबित्तिकै लाइब्रेरीमा इन्जिनियरिङको तयारीमा पढ्न आउने एक जना साथीसँग भेट भइहाल्यो।”आजकाल त लाइब्रेरी आउन छोड्नुभयो नि! कि जागिर लागिसक्यो?” पहिलो प्रश्न गरेँ। उसले सहजै उत्तर दियो “अ, त्यस्तै भनौँ, स्थानीय तहको सातौँमा कार्यरत छु।” मैले थपेँ “ल, बधाई छ, अब त लाइब्रेरी आउनुहुन्न होला! पढ्न किन पढ्यो र?” ठट्टौली पारामा भनेँ। उसले पनि उस्तै पारामा भन्यो “के गर्नु, नाम ननिस्केसम्म जहाँ पोस्टिङ्ग भए नि हुने थियो भन्ने जस्तो लाग्छ तर जागिर खान थालेपछि सङ्घमै जान पाए हुन्थ्यो जस्तो लाग्छ। अब म पनि सङ्घतिरको तयारीमा छु।” बल्खुमै ऊ झर्यो, त्यसैले धेरै कुरा भएन। म भने सुन्धारामा गाडीबाट झरेर धरहरा-सहिद गेट-सिंहदरबार हुँदै सेडिपतिर लागेँ। खै किन हो, मलाई आज प्रत्येक पाइला-पाइलामा देखिने दृश्यहरू एकदमै सुन्दर लागिरहेका थिए। सायद आजकाल कोठा अनि लाईब्रेरीकै आसपासमानै मेरो दिनचर्याहरु बितिरहेको भएर होला। सकेसम्म सबै दृश्यलाई आफ्नो मोबाइलमा कैद गरेँ। सेडिपमा पुग्नै लाग्दा लाइब्रेरीको अर्को साथी पनि भेटियो। उसले मेरो लागि एकमुष्ट कार्ड पनि लिदियो। हामी परीक्षा कोठामा पुग्दा एमपिएसँगै पढ्ने मेरा अन्य साथीहरू पनि आएका रहेछन्। सबै बसेर परीक्षा दियौँ र फिडब्याक पनि लियौँ। म पहिलो चोटि मोक टेस्ट दिन गएकी थिएँ। अवश्य पनि यो उपलब्धिमूलक थियो। त्यसैले अबदेखि सकेसम्म र पैसा भएसम्म परीक्षा दिन जाने निधो गरेँ।
2081-10-7: आज म बिउँझदा साढे ५ बजिसकेको थियो। अझै सुत्ने मनको आकाङ्क्षालाई लत्याएर म लाइब्रेरी पुगेँ। आज त म नै चाँडोँ होला भनेको, तर अरु सबै विद्यार्थी पढ्नमा व्यस्त थिए। म पनि जिके पढ्न थालेँ। साढे ९ बजे बल्खु सब्जी मण्डीमा सब्जी किन्न पुगेँ। त्यसपछि खाना पकाएर खाइसक्दासम्म १२ बजिसकेको थियो। हत्तेरी, यो समय पनि कत्ति छिटो बित्छ आजकाल। सधैँझैँ हत्तारिँदै लाइब्रेरी पुगेँ अनि ३ बजेसम्म पढेँ। फेरि हत्तारिँदै लाइब्रेरीबाट बाहिरिएँ। खै, देख्नेले नि के सोचे होलान्। जे सुकै सोचून्। म आफूलाई पनि सास फेर्ने समेत कहाँ फुर्सद छ र! आज दिउँसोको ४ बजे परीक्षा दिने हाम्रो योजना अनुसार म अनि अरु साथीहरु लाइब्रेरीबाट सिधै नयाँबजार पुग्यौँ। त्यहाँबाट गाडी चढेर सुन्धारा हुँदै सेडिपको परीक्षा हल पुग्यौँ। त्यहाँ पुग्दा विद्यार्थी यति धेरै थिए कि मानौँ त्यहाँ कुनै समारोह हुन गइरहेको छ। परीक्षा ४ बजेदेखि सुरु भयो। हत्तेरी, कक्षाकोठाको बत्ती पनि बिग्रेको रहेछ। मन्द-मन्द उज्यालोमै सबै विद्यार्थी परीक्षा दिन व्यस्त थिए। तर मलाई अँध्यारोमा आँखा दुख्यो। त्यसैले मोबाइलको बत्ती बालेर प्रश्नपत्र हेर्न थालेँ। ओहो! जिकेका प्रश्नहरू त कत्ति गाह्रो! आजकाल बिहानदेखि साँझसम्म मैले पढ्ने भनेकै जिके हो, त्यै पनि सबै प्रश्न नयाँ देख्दा एक्कासी अत्तालिएँ। लाग्यो, सायद जिके मेरो लागि होइन। अङ्ग्रेजी र आईक्यू खण्ड पुगेपछि बल्ल मन ढुक्क भयो। यिनीहरूको प्रायः सबै प्रश्न समाधान गरेँ। परीक्षा सकेपछि कोठा फर्क्यौँ। आजको दिन साँच्चिकै दौडधुपमै बित्यो। जति दगुरे पनि थकान भने फिटिक्कै महसुस भएको छैन। सायद कठोर समयले मलाई पनि कठोर नै बनाइसक्यो!
2081-10-9: अर्को हप्ता कोशी प्रदेश सातौँको परीक्षा छ। मेरो दैनिकीको प्रायजसो समय परीक्षा तयारीमै खर्चिएकी छु। तर यत्ति गर्दा गर्दै पनि इन्स्टिच्युटहरूमा दिएको मोक टेस्टमा सन्तोषजनक नतिजा ल्याउन नसक्दा म झनै परीक्षाको चिन्तामा पर्दै गएकी छु। “यत्ति मेहनत गर्दा गर्दै पनि सफल हुन सकेन भने?” भन्ने जस्तो प्रश्नले सताइरहन्छ आजकाल। समय साँच्चिकै चुनौतीपूर्ण छ।
2081-10-19: म- कहिल्यै नदेखेको, नपुगेको नदीको किनारमा एक्लै थिएँ। वरपर जलाउनलाई ठिक्क पारेका लासहरू छरपस्ट थिए। मैले लासलाई यति नजिकबाट कहिल्यै देखेकी थिइनँ। ती लासहरू एक्कासी हलचल गर्न थाले। म अत्तालिएर भाग्न खोजिरहँदा कसैले धकेल्यो। म झस्किँएर बिउझदा आफ्नै ओछ्यानमा थिएँ। हत्तेरी, कस्तो नराम्रो सपना! बहिनी छेउमै मस्त निदाएकी थिइन्। मोबाइल हेरेँ। भर्खर रातको १२ बज्दै रहेछ। मेरो आलाराम बिहानको ५ बजेको लागि थियो। फेरि सुतेँ। केही बेरमै घाम उदाएझैँ लाग्यो। हत्तपत्त बिउँझेँ। भर्खर रातको एक बज्दो रहेछ। फेरि सुतेँ, फेरि बिउँझेँ। घण्टैपिच्छे यो क्रम चलिरह्यो। यसरी त कहिल्यै बिउँझिन्नथेँ म। सायद कोशी प्रदेश सातौँको परीक्षाको दिन भएर होला। हुन पनि दिनभरको बस यात्रा गरेर- कलेजको परीक्षा समेत छोडेर यही परीक्षाका लागि नै आएकी छु। परीक्षाको डर नहुने त कुरै भएन। ४ बजेको बिउँझाइपछि भने सुत्न उचित ठानिनँ। त्यसैले ५ बजेसम्म रिभिजन गरेँ। हत्तार-हत्तार तयार भएँ अनि परीक्षा केन्द्रतिर लागेँ। बाटोमा बिरालोले बाटो काट्यो। “अशुभ पो हुने हो कि” भनेर मन झस्कियो। फेरि लाग्यो, “बिचरा, बिरालोलाई पनि वारपार गर्न त रहर हुन्छ नि!” सकारात्मक सोचसँगै अघि बढेँ। बस चढ्नै लाग्दा लाईब्रेरीको दाइहरूसँग पनि भेट भयो। छलफल गर्दै परीक्षा केन्द्र पुग्यौँ। धेरैजसो विद्यार्थी आइसकेका थिए। सबै युद्धमा लड्न तम्तयार जोसिला सिपाहीझैँ देखिन्थे। सुरुमा परीक्षार्थीको भीड देखेर अत्तालिएँ। तर फेरि सम्हालेँ आफूलाई। ठीक ९ बजे परीक्षा सुरु भयो। मेरो कल्पनाभन्दा प्रश्नपत्र सजिलो थियो। खै साँच्चिकै सजिलो प्रश्न सोधिएको थियो या त मेरो तयारी अब्बल भएर हो- सबैजसो प्रश्न चिरपरिचित नै थिए। ७०-८० प्रश्न समाधान गरेँ। मैले गरेका सबै प्रश्न त सही पक्कै छैनन्। तर पास हुन्छु भन्ने कुरामा भने म पूर्ण विश्वस्त छु। मेहनत गरेअनुसार परीक्षा राम्रो हुँदा मन साह्रै नै हर्षित हुँदो रहेछ। घर पुग्दासम्म पनि मन हर्षित थियो। अब लिखित परीक्षाको लागि तयारी दमदार सुरु गर्नु छ।
2081-10-28: उराठ लाग्दो मौसम छ आजकाल। दिनभर हावाले बाटो धुलाम्मे बनाउँछ। आरु बखडाका रुखहरू धकमक्क फूल्न थालेका छन्। यही मौसम परिवर्तनले गर्दा नै होला, हिजोबाट रुघाले सताउन थालेको छ। ज्वरो पनि मन्द-मन्द छ। अरुबेला त यत्तिको बिसन्चोले म ओछ्यानमै पर्थेँ, तर कुन्नि आजकाल यत्तिको बिरामी सामान्य लाग्छ। रुघाले च्यापे पनि बिहानीको चिसोमा कलेज गइदिन्छु। हुन पनि हो, आजकाल मलाई आफ्नो जिउको भन्दा बढी किताबको माया लाग्छ। त्यसैले त बिरामी भएर आराम गर्न पनि समय बर्बाद हो जस्तो लाग्छ। सायद यत्ति धेरै आफैँप्रति बेमतलबी हुनु पनि उचित नहोला कि!
2081-10-30: हप्ता दिन नपुग्दै कोशी सातौँको प्रथम पत्रको नतिजा आएछ। अवश्य पनि मेरो नतिजा सकारात्मक नै आएको छ। अर्थात् म लिखित परीक्षामा सामेल हुन योग्य भएकी छु। बधाई छ मलाई। अब लिखितको तयारी दमदार बढाउनुछ। तर मेरो एमपिए चौँथो सेमेस्टरको परीक्षा सँग चै यसको परीक्षा जुध्ला जस्तो छ। हेरौँ के हुन्छ। …आज कलेजको असाइनमेन्ट बुझाउने अन्तिम दिन। तर मैले लेखेर पनि सकेकै छैन। अरु सेमेस्टरमा असाइनमेन्ट बुझाउने, प्रेजेन्टेसन गर्ने म पहिलो विद्यार्थी हुन्थेँ। तर यो वर्ष लोकसेवालाई समय बढी दिएकी हुनाले कलेजको केही पढ्न भ्याएको छैन। दुवै कुरालाई एकैचोटी राम्रो गर्छु भन्नु सम्भव रहेनछ। केही पाउन केही गुमाउनु पर्ने नै रहेछ!
2081-11-3: आज शनिबार। बिहान ५ बजेको अलारामले बिउँझेँ। तयार भएर लाइब्रेरी पुग्दा साढे ५ बजिसकेको थियो। सिट खाली नै रहेछ, १० बजेसम्म पढेँ। अनि कोठा फर्केँ। खाना पाकिसकेको रहेछ। खाना खाएर नुहाएँ अनि सेडिपतिर लागेँ। आज ५ मिनेट ढिलो पुगेँ। हत्तार-हत्तार २ सय रुपैयाँ तिरेर टोकन लिएँ। सबै जना लेख्नमा व्यस्त थिए। आज शाखा अधिकृतको तेस्रो पत्रको परीक्षा थियो। हस्याङफस्याङ गर्दै प्रश्नपत्र हेरेँ, ओहो! आज त कस्तो गाह्रो प्रश्न रहेछ। सबै प्रश्न हेरेँ अनि उत्तर लेख्न थालेँ। प्रश्नपत्र त गाह्रो नै थियो, त्यै पनि ३ घण्टै बसेर सबै प्रश्नपत्र समाधान गरेँ। परीक्षा सकेपछि अघिल्लो हप्ताको परीक्षाको कपी प्राप्त गरेँ। जम्मा ४२ अङ्क प्राप्त गरेकी छु। पहिलो चोटि दिएको मोक टेस्टमै पास भएको देखेर मख्ख पर्दै कोठातिर फर्केँ।
2081-11-6: समय आफ्नै रफ्तारमा दौडिरहेको छ। बल्खुको जन-प्रशासन क्याम्पस र टियुको केन्द्रीय पुस्तकालयमा मेरो अमूल्य समय खर्चिरहेकी छु। पहिले पहिले दिनभरको समय पनि बिताउन गाह्रो लाग्थ्यो तर आजकाल आइतबार हुँदै शनिबार कहिले बितिहाल्छ, पत्तै हुन्न। सबैभन्दा बढी यो १-२ महिना परीक्षाको चाप बढेसँगै मेरो व्यस्तता पनि बढेको हो। व्यस्त तर पनि धेरै सुन्दर छ मेरो समय। अहिलेको मेरो दौडमा कुनै थकान छैन, आराम गर्ने मोह छैन, र दौडमा समेट्न नसकेका सुन्दर पलहरूप्रति पनि कुनै पश्चाताप छैन। छ त केवल, पर्खिरहेको सुन्दर गन्तव्य भेट्ने हतार, थकानबिहिन रफ्तार अनि मुहान फूटेर ओर्लिएको नदीझैँ जोस-जाँगर।
2081-11-12: हिजो राती अलाराम नराखी नै निदाएछुँ। झन् आज बिहानको ६ बजेदेखि नै रिसर्चको कक्षा थियो_म ६ बजे नै बिउँझेँ। हत्तारिँदै तयार भएर कक्षामा पुगेँ। धन्नले कक्षा सुरु भएको रहेनछ। एमपिए चौँथो सेमेस्टरको फाईनल परीक्षा आउन लाग्यो_तर कोर्स सकेकै छैन। त्यसैले जतिसक्दो धेरै समय लिएर कोर्स सकाउने हतार चलिरहेको छ। आज पनि ५ मिनेटको मात्र ब्रेक राखेर लगातार ३ घण्टाको कक्षा लियौँ। कक्षा सकेपछि कोठा फर्केँ। खाना पकाएँ अनि लाईब्रेरीतिर लागेँ। पुरानो लाईब्रेरीमा दिउँसोको समयमा सिट नपाउने पक्का नै छ_त्यसैले नयाँ लाईब्रेरीमा गएँ। बाहिर टन्टलापुर घाम लागे पनि भित्र चाहिँ मुटु कमाउने चिसो नै थियो। ठूलो अनि नयाँ हल भएर होला! सानो सानो आवाज पनि थर्किरहेको थियो। अझ ग्रुप स्टडी गर्ने विद्यार्थीको आवाजले शान्त वातावरणलाई खल्बलाइरहेको थियो। पुरानो लाईब्रेरीमा जसरी यसमा पढ्ने शान्त माहोल बनिसकेको रहेनछ। जसोतसो आवाजलाई वेवास्ता गर्दै पढाइमा ध्यान केन्द्रित गरिरहेँ। पाँच बजे नयाँ लाईब्रेरी छुट्टी भयो। फेरि झोला बोकेर पुरानो लाईब्रेरी पुगेँ। “भर्खर आउनुभएछ_आज किन ढिलो?” गार्ड बस्ने दिदीको प्रश्न थियो। “बिहान कलेज अनि दिउँसो यसमा सिट पाइँदैन…त्यसैले नयाँ लाईब्रेरीमा पढेर आएको नि” एकै स्वरमा बेलिबिस्तार लगाएँ। “ओहो! कस्तो जाँगर, यत्तिको दुख गरेसी सफल किन नहुनुहोला र? बरु कतै नाम निस्केपछी लड्डु चै खुवाउन नबिर्सनु नि” उहाँले सधैझै जिस्काउनुभयो। मन्द मुस्कान सहित “हवस्” भन्दै लाईब्रेरी भित्र छिरेँ। सिट अलि खाली भइसकेछ। झ्यालछेउको सिटमा बसेर साढेँ ६ बजेसम्म पढेँ। घर फर्किने बेला बाटैभरी साथीसँग जेके छलफल गर्दै फर्कियौँ। कोठामा पुग्दा खाना पाकिसकेको थियो। ननिदाएसम्मको समय कलेजको असाइनमेन्ट गरेर बिताएँ। सुत्ने बेला बल्ल याद आयो “अ साच्ची यति धेरैँ दौडधुप…! आखिर केका लागि?”
2081-11-15: फागुनको महिना, फुङ्ग उडेको धुलो….पातबिना ठिङ्ग उभिएको रुखहरु….अनि रङ्ग उडेको पहाडहरु…उराठ लाग्दो त हुने नै भयो। तर यो भन्दा पनि उराठलाग्दो त आज मेरो मन छ। सफलताको लागि झुल्किएको आशाको किरण पनि खै आज किन हो नैराश्यताको बादलले ढपक्कै छोपेको छ। भविष्यको अनिश्चितताले मन भारी भएको छ। मेरो मन आज थकित, आशाहीन, र निरिह बनेको छ। पढ्न फिटिक्कै मन छैन। चैतमा हुने कोशी सातौँको परीक्षाले साँच्चिकै सताएको छ। किनकी यो परीक्षालाई मेरो परिवारले धेरै चासोको साथ हेर्नुभएको छ। मेरो पढाइको रफ्तारलाई हेरेर…यो चोटि नै सफल होला! भन्ने आशा राख्नुभएको छ। सपना त मेरो पनि त्यही नै हो तर शनिबार सेडेपमा लेख्ने मोक टेस्टमा ४० नि नकाटाएको परीक्षाफलले निरास बनाउँछ। फेरि पढ्नु पर्ने कुरा पनि त कत्ति धेरै छन्। यस्सो हेर्दा त यो साल पनि पार नलाग्ला जस्तो छ। उफ! के गर्ने हो! “साँच्ची लोकसेवा पास नभएमा के हुन्छ?” आज मेरो मनमा दिनभर यही प्रश्न खेलिरह्यो। उत्तरबिहीन भएर धेरैबेर तोलाएँ। अनि फेरि मनलाई पुस्तकतिरै धकेलिरहेँ। दिमागलाई आराम गर्ने फुर्सद नै कहाँ छ र? पर्सि नायब सुब्बाको पहिलो पत्रको परीक्षा छ। कोशी सातौँको लिखित परीक्षा तिरको तयारीले गर्दा जीके आइक्यू पुरै बिर्सिसक्यो। त्यसैले पर्सिको परीक्षा पनि राम्रो हुन्छ भन्न गाह्रो छ। फेरि कलेज नि जानै पर्छ। नियमित विद्यार्थी भएर होला! एकदिन मात्र पनि कलेज छुट्दा सबै कुरा गुमेझैँ लाग्छ। त्यसैले त जत्ति व्यस्त भए पनि कक्षा लिन पुगिहाल्छु। कलेजको असाइनमेन्टले पनि डेडलाइन नाघिसक्यो, जसरी पनि गरेर बुझाउनु छ। एमपिए चौथो सेमेस्टरको परीक्षा नि आउन लाग्यो, अलिकति यसलाई पनि त समय दिनै पर्छ! व्यस्त मन अनि व्यस्त समय।
2081-11-17: “परीक्षा कस्तो भयो?” हिजोआज मलाई सबैभन्दा भारी लाग्ने…सुन्नै मन नलाग्ने प्रश्न हो यो। तर प्रत्येक हप्ता मलाई सोधिने मुख्य प्रश्न नै यही भएको छ। आज पनि फोनमा बाबाले यही प्रश्न सोध्दै हुनुहुन्थ्यो। परीक्षा बिग्रेको छ…के जवाफ दिने! सदाझैँ छोटो जवाफ फर्काएँ “ठीकै भयो”। रातदिन पढेर त पार नलाग्ने जीके आइक्यू, यो चोटि त परीक्षानै परीक्षाको चटारोले गर्दा राम्रोसँग पढ्न पनि पाएको थिइन। परीक्षा राम्रो हुने त कुरै भएन। अत: आजको संघको नायब सुब्बाको प्रथम पत्रको परीक्षा पनि त्यत्ति आशालाग्दो भएन।
2081-11-19: आज बिहान बिउँझदा चिरबिर चिरबिर गर्दै बार्दलीमा चराहरू गाइरहेका थिए। झ्याल खोलेर बाहिर हेरेँ, धेरै दिनदेखि धुम्मिएको मौसम हिजो पानी परेको भएर खुलेको रहेछ। कालो देखिने आकाश पनि आज त निलो र सफा थियो। निस्फिक्री लामो सास तानेँ, एक झोका ताजा सफा हावा फोक्सोमा भरियो। वर्षापछि झलमल्ल झुल्केको घामले यो हिउँदलाई सम्भवतः बिदाइ गरेको हुनुपर्छ। मौसम जस्तै आज मेरो मन पनि खुलेको थियो। मनमा छुट्टै नयाँ उर्जा थियो। सदाझैँ बिहान र दिनभरको समय लाइब्रेरीमै बिताएँ। अवश्य पनि अरु दिनभन्दा आज मेरो पढाइको रफ्तार तेज थियो।
2081-11-23: परीक्षा हलमा परीक्षार्थीहरू भरिभराउ थिए। म पुग्दा प्रश्नपत्र बाँडिसकेको थियो। हत्तपत्त प्रश्नपत्र लिएर लेख्न बसेँ। २ वटा प्रश्न मात्र के लेख्न भ्याएको थिएँ, घण्टी लाग्यो। कत्ति चाँडै घण्टी लागेको? म झस्किएँ। हत्तेरी आलाराम पो रहेछ। घडी हेरेँ, भर्खर साढे ५ बजेछ। हाम्रो कक्षाहरू पनि सकिसक्यो। आजकाल कलेज जान पर्दैन। त्यसैले हत्तारिएर लाइब्रेरी पुगेँ। आज त चाँडै पुगेँ जस्तो लागेको थियो तर विद्यार्थीको लाइन लाइब्रेरीको ढोका देखि गान्धी भवनको रोडसम्मै थियो। म पनि लाइनमा मिसिएँ। पछाडि उभिने साथीले भन्दै थियो “आज त संघको अधिकृतको परीक्षा तालिका पनि आएछ अनि माग संख्या नि बढेको छ, अब त झन् लाइब्रेरीमा भिड बढ्छ”। मैले पनि सहमतिमा टाउको हल्लाएँ। १० मिनेटको लाइनपछि लाइब्रेरी भित्र छिर्ने पालो आयो, मुस्किलले झ्यालछेउको सिट पाएँ। दिउँसोतिर लाइब्रेरीको शान्त माहोल एक्कासी खलबलियो। झ्याल बाहिर हेरेँ, एक हुल विद्यार्थी पार्टीको झण्डा बोकेर नारा लगाउँदै टियू डुल्दै रहेछन्। बल्ल थाहा भयो, आउँदो चैतको ५ गते हुने स्ववियुको चुनावको लागि भोट माग्न हिँडेका रहेछन्। त्यो भिड मलिन मात्र के हुन लागेको थियो…नमस्कार गर्दै नयाँ एक हुल अनुहार फेरि शान्त माहोल बिथोल्न आइपुगे। लाइब्रेरीबारे गुनासो टिप्न आएका रे! मैले पनि १-२ वटा गुनासो पोखिदिएँ। तत्कालै समस्या समाधान हुने प्रतिबद्धता जनाए। बाहिरिन लाग्दा यसमा भोट हाल्नु ल भन्दै पार्टीको परिचयात्मक कार्ड सबैको हातमा थम्याइदिए। फ्याट्ट मेरो मनले भनिहाल्यो, केहि पाउने अभिलाषामा नै कोही केहि काम गर्न अग्रसर हुन्छ नत्र त अपरिचित बनिदिन्छन्न् …मतलबी दुनिया!
2081-11-28: नयाँ लाइब्रेरी खुल्न थालेको एक हप्ता भइसक्यो। यसको राम्रो पक्ष भनेको किताब लैजान पाउनु हो। किनकी किताबको फोटोकपीको सानो अक्षर पढ्दा पढ्दा यसै त कमजोर आँखा झन् कमजोर भइसक्यो। तर अहिलेको लागि मास्टर्स डिग्री पढ्ने विद्यार्थी मात्र जान पाउने व्यवस्था छ। त्यसैले सिट नै नपाउने भन्ने त छैन तर पनि क्याबिनको सिट पाउनलाई आज म ६ बज्न अगाडि नै लाइब्रेरी पुगेँ। २-३ जना विद्यार्थी साथीहरू लाइनमा बसिसकेका रहेछन्। ६ बज्ने बित्तिकै लाइब्रेरीको ढोका खुल्यो। हामी सिटतिर दौडियौँ। आज बल्ल मैले खोजेजस्तो सिट मिल्यो, झ्यालछेउको क्याबिन। झ्यालबाट घण्टाघर वाला बिल्डिङ स्पष्ट देखिन्थे। बिहानभरि पढाइ रफ्तारमा रह्यो। दिउँसो १-२ बजेको समय अलि अल्छे पारामा बित्यो। अल्छे समय घरी पत्रपत्रिका हेरेर त घरी झ्यालबाट बाहिर विद्यार्थीको क्रियाकलाप निहालेर बित्यो। घण्टाघरको अगाडिको चौरमा बसेर पढ्ने विद्यार्थीको संख्या पनि बाग्लै थियो। कोही यताउता डुलेर, कोही रुखको फेदमा बसेर त कोही चौरमा सुतेर पुस्तकमा हराइरहेका हुन्थे। उनीहरूलाई देखेर पढ्न झन् जोस जागेर आउँथ्यो। यही चैत ५ गते स्ववियुको निर्वाचन हुने निश्चित छ। त्यसैले हिजोआज टियूको माहोल चुनावमय छ। दिनमा नारा त कत्ति ले लगाउँछन् कत्तिले। कुनै समूह त भोट माग्न लाइब्रेरीमै आइपुग्छन्। चुनावी एजेन्डा भन्दै लाइब्रेरीबारे समस्या राख्न पनि लगाउँछन्। हामी पनि मनमा लागेको समस्या टिपाएर पठाइदिन्छौँ। आज पनि दुई हुल विद्यार्थी समूह नारा लगाउँदै ओहोरदोहोर गर्दै थिए। तर लाइब्रेरीको माहोल यत्ति शान्त हुन्छ कि बाहिरको हल्लाले छुन्दैन। म पनि बेमतलबका साथ साँझको पौने सात बजेसम्म पुस्तकमै घोटिरहेँ। अनि लाइब्रेरी छुट्टी भएसँगै म पनि कोठा फर्केँ।
2081-11-29: आज २०८१ सालको होली पर्व। होलीकै माहोल होला भनेर लाइब्रेरी गइनँ, घरमै बसेर नोट बनाउने योजना छ। तर माहोल एकदम रमझम छ। बिहानै बहिनी चिटिक्क परेर होली खेल्न गइसकी। कोठा छेउको गल्स होस्टेलमा ठूलो आवाजमा गीत घन्काएर विद्यार्थीहरू होली खेलिरहेका छन्। खै, मलाई भने यो चोटि होलीको रङ्गको त्यत्ति मोह छैन। सायद मन नै फिक्का भएर पनि होला! होलीको रङ्गमा हैन…अब त बस् मलाई सफलताको रङ्गमा मात्र रङ्गिन मन छ।
2081-12-5: म आज बिउँझदा ५ बजेको थियो। तयार भएर लाइब्रेरी पुगेँ। आज त लाइब्रेरी पुग्नेमा म पहिलो विद्यार्थी भएछु। ढोकैछेउमै गएर लाइन लागेँ। सदाझैँ आज पनि बिहानीको मौसम खुब शान्त र सुन्दर थियो। टियूको जङ्गलबाट भुर्र भुर्र हुल बाँडेर कागहरू चारोको खोजीमा निस्कँदै थिए अनि पूर्वतिर उदाउन लागेको घामको किरणले निलो आकाश सुन्तले रङ्गले हल्का पोतिएको थियो। वसन्त लागिसकेछ, कोइली पनि नजिकै कुहुँ कुहुँ गर्दै थियो। केही समयपछि- एकपछि अर्को गर्दै विद्यार्थीहरू भेला हुन थाले। ६ बज्न लाग्दा कार्ड नम्बर लेख्दै लाइब्रेरी छिर्न लाइनबद्ध भयौँ। एकैछिनमा लाइन लामो भयो। ६ बजे ढोका खुल्यो। हामी क्याबिनको सिटतिर दौड्यौँ। पलभरमै क्याबिन भरियो। मैले पनि खोजेजस्तै सिट पाएँ, आजको दिनभरलाई ढुक्क भयो। क्याबिनको सिट पाउने सबै मख्ख थिए। एउटा साथीले त फ्याट्टै भनिहाल्यो “हामी यो एउटा सिट पाउनलाई कत्ति मेहनत गर्या है”। एकछिन हाँसोको माहोल बन्यो। अनि लाग्यै पढाईतिर। …आज चैत ५ गते, स्ववियुको चुनाव थियो। म पनि साढे ९ बजे भोट हाल्न कलेज गएँ। हाम्रै साथीहरू पनि चुनावमा उम्मेदवार रहेछन्, सबैले भोट माग्दै थिए। मैले पनि ढिलो नगरी भोट हालेँ अनि कोठा फर्केँ। खाना पाकिसकेको थियो। खाना खाएर लाइब्रेरी पुग्दा १२ बजिसकेको थियो। त्यसपछिको समय खेर नफाली पुस्तकमा घोटिरहेँ। दिन ढल्दै…गोधुली साँझ हुँदै… अनि रात परेपछि बल्ल कोठा फर्केँ।
2081-12-15: यो हप्ता मेरो लागि कठिन थियो। सन्दर्भ हो, कोशी सातौँको लिखित परीक्षा। यो वर्ष राम्ररी तयारीमा जुटेको म, परीक्षा राम्रै हुन्छ भन्ने पूर्ण विश्वास थियो। मन जोस र उत्साहले पूर्ण थियो। त्यसैले इटहरी जादाको गाडी यात्रा खुब रमाइलो लाग्यो। ११ गते साँझ इटहरी पुगेँ। गाडीले जिउ दुखिरहेको नै थियो त्यै पनि आराम नगरी तयारीमा जुटेँ। अनि चैत १२-१३-१४ गते लगातार दोस्रो, तेस्रो र चौँथो पत्रको परीक्षा दिएँ। प्रश्नपत्र बनाउनेले खै कसरी प्रश्न बनायो? या त मैले खै कसरी पढेँ? वर्ष दिन लगाएर पढेको कुराहरू प्रश्नपत्रमा थिएनन्। अन्ततः परीक्षा सोचेजस्तो राम्रो भएन। परीक्षा सकेकै दिन फर्किने योजना अनुसार १४ गते साँझ ५ बजे गाडी चढेँ। मसँग अरु ३ जना साथी पनि थिए। तयारी अनुसार परीक्षा राम्रो नभएकोमा गाडीभरी नरमाइलो लागिरह्यो। चैत १५ गते बिहान गाडी उपत्यका पुग्यो। भारी मन लिएर कोठा पुग्न हतार लागेन। त्यसैले तिनथाना रोडमै झरेर उकालो लागेँ। पाइलाहरू गह्रौँ थिए। त्यै पनि जसो तसो कछुवाको चालमा ट्याङ्गलाफाटतिर लम्किरहेँ। तिनथाना झोलुङ्गे पुलको छेउको पसलमा नारायण गोपालको पुरानो गीत बज्दै थियो “पर्खी बसे आउला भनी मेरो उठ्ने पालो…!”। पसलेले मेरै अवस्था बुझेर गित बजाएझैँ लाग्यो। एकछिन पुलमा रोकिएँ…पुलमुनि निरन्तर बगिरहेको खोलालाई हेर्दै टोलाए…अनि कोठातिर लागेँ। कोठा पुग्दा सम्म शारीरिक र मानसिक रूपमा थाकिसकेको थिएँ। पुग्ने बित्तिकै दिदीले सोध्नुभयो, ‘परीक्षा कस्तो भयो?’ मैले छोटो जवाफ दिएँ…”बिग्रियो”। तर मैले सोचेजस्तो उहाँमा कुनै नकारात्मक प्रतिक्रिया थिएन। मायालु भावमा भन्नुभयो “ल ल ठिकै छ, अर्को चोटि राम्रो गर्नु!”। उहाँको सकारात्मक प्रतिक्रिया देखेर हारिसकेको मनमा एक्कासि जोस पलाएर आयो। “अब अझ थप मेहनत गर्छु” भन्ने साहस पलाएर आयो। रातभरको गाडी यात्राले थाकेको शरीरको थकान एक्कासि हराएर गयो। नुहाइधुवाइ गरेर लाइब्रेरी पुगेँ। अनि पुनः परीक्षाको तयारीमा लागेँ। धन्यवाद! मेरो परिवारलाई, यत्ति धेरै सपोर्टको लागि। यदि आज मैले परीक्षा बिग्रेकोमा नकारात्मक प्रतिक्रिया पाएको भए, सायद मेरो थाकेको शरीर झन् थाक्ने थियो अनि हारेको मन झन् कमजोर हुने थियो। म धेरै भाग्यमानी छु। अब बाँकी परीक्षा राम्रो गर्नु छ।
2081-12-16: आज शनिबार, दिउँसो खाना खाएर लाइब्रेरी पुगेँ। तर लाइब्रेरीको ढोका बन्द थियो। ढोकामा नै सूचना टाँसिएको थियो “घोडे जात्राको छुट्टी”। टन्टलापुर घाममा कोठा फर्किहाल्न मन मानेन। लाइब्रेरी छेउको भोगटे धकमक्क फुलेको थियो। मिठो बास्ना मगमग आइरहेको थियो। सिरसिर चल्ने बताससँगै फूल झरेर भुइँ सेताम्मे थियो। त्यही रुखको फेदमा बसेर दिनभर पढेँ। म सँगै लाइब्रेरीको वरपर हिँड्दै पढ्ने विद्यार्थीहरूको संख्या पनि उल्लेखनीय नै थियो।
2081-12-20: मेरो दिनहरू प्रायः कोठा-लाइब्रेरी गरेरै बितिरहेका छन्। झोला भरिको किताब पनि उस्तै…बेरोजगारीको अवस्था पनि उस्तै…भविष्यको अनिश्चितता पनि उस्तै…बस उमेर मात्र ढल्किरहेको छ। फेसबुकका पेजहरूमा परिचित अपरिचित साथीहरूको छरपष्ट रङ्गिबिरङ्गी सफलताहरू देख्दा लाग्छ, समय त मेरो मात्र पो रोकिएको रहेछ। अवश्य पनि अत्तालिन्छु…अनि फेरि सम्हालिन्छु…आँखामा फूलेको सुन्दर भविष्यको लागि। हुन त मेरो मात्र समय कहाँ उस्तै छ र? कोठादेखि लाइब्रेरी पुग्दासम्मको दृश्य पनि त उस्तै छ। उस्तै त छ- लाइब्रेरी जाने धुलाम्मे गोरेटो…कोठाबाट निस्कने बित्तिकै घरको पिँडीमा मुस्कुराएर बस्ने हजुरआमा…ट्याङ्गलाफाँट चोकैमा डोकोमा साग राखेर बेच्ने दिदी…रङ्गिबिरङ्गी रङ्गहरूसँग पेन्टिङमा व्यस्त दाइ…गल्ली छेउको बेन्चमा बसेर गफिने दुई हजुरबुबाहरू…ठूलो रुखकै फेदमा पानिपुरी चटपटे बेच्ने अंकल…टियुको घण्टाघर अगाडि पुस्तकमा हराइरहेका विद्यार्थीहरू अनि साँझपख बाटैमा बसेर मकै पोल्दै बेच्ने हजुरआमा…सबै त उस्तै हुनुहुन्छ। हुनसक्छ, कसैको समय ढिलो आउँछ। मैले थप प्रतीक्षा गर्नुपर्छ।
2081-12-23: अधिकृतको परीक्षा नजिकिएसँगै तयारीको गति बढेको छ। टियुको ३ वटा नयाँ पुरानो लाइब्रेरीहरु सबै समय विध्यार्थीले खचाखच हुन्छ। म पनि भ्याएसम्म त्यही पुगिहाल्छु। आज शनिबार बिहान अलि ढिलो बिउझेँ। एकछिन रिभिजन गरेँ अनि खाना बनाएँ। खाना खाएर १० बजे सेडेपतिर दौडिएँ। परीक्षा ११ बजेदेखि १२:३० सम्म थियो। अघिल्लो हप्तासम्म कोशीको लिखित परीक्षा तयारी गर्दा गर्दा मसँग जीके/आईक्यू र अङ्ग्रेजी त अपरिचित बनिसकेछन्। प्रश्नपत्र त्यत्ति सजिलो लागेन। परीक्षा सकिएपछि २ हप्ता अगाडि दिएको अधिकृत तेस्रो पत्रको उत्तरपुस्तिका लिन गएँ। कपिको चाङ्गहरुमा मेरो नाम खोज्दा खोज्दा बल्ल भेटियो। कपि जाँचकले अगाडि नै लेख्नुभएको थियो “study hard”। थाहा भइहाल्यो मेरो तयारी अझै पुगेकै छैन। त्यै पनि हत्तार हत्तार नम्बर जोडेँ, ओहो! ४६ नम्बर आएको रहेछ। तेस्रो पत्रमा पास भएको पहिलो पटक थियो। खुसी लाग्यो, मुस्कानसहित किर्तिपुर लागेँ। नयाँ बजार पुगेपछि कोठाको सट्टा लाइब्रेरीतिर लागेँ। लगभग २ महिना भइसक्यो, नयाँ लाइब्रेरी खुलेपछि पुरानो लाइब्रेरी गएकी छैन। गेटमै एक परिचित कर्मचारी दिदीले सोधिहाल्नुभयो “आजकाल त आउँदिनौ नि एता, के छ नयाँ नौलो खबर? …मैले सम्झिरहेकी हुन्छु…आउँदै गर है त कहिलेकाहीँ भेट्न”। मैले मुस्कुराउँदै “हुन्छ” को भावमा टाउको हल्लाएँ। ओहो! कस्तो आत्मियता। उहाँको व्यवहार देखेर अघि सम्मको थकान एकाएक कता हरायो कता। एक्कासी पढ्ने जोस बढेर आयो।
2081-12-27: चैत महिना…मौसम घमाइलो हुनुपर्ने, तर एक हप्ता भइसक्यो काठमाडौँको मौसम दिनभर धुमिरहन्छ। प्राकृतिक रूपमा धुमिएको भने पक्कै हैन, यो वायुप्रदूषणले गर्दा हो। यो हप्ता भरि नै नेपाल विश्वमै १ नम्बरमा प्रदूषित बन्न पुगेको छ। स्वास्थ्यलाई ख्याल गरेर बाहिर ननिस्कनु पर्ने हो, तर के गर्ने, कोठामै बसेर पनि त काम छैन। मलाई आफैँलाई पनि कोठामा बसेर पढ्न मन लाग्दैन। त्यसैले मौसमको ख्याल नगरी लाइब्रेरीमै पुगिहाल्छु। …यही प्रदूषणले गर्दा होला आज हल्का ज्वरोसँगै घाँटी दुखेको छ, आँखा पोलेको छ अनि नाक, कान सबै चिलाएको छ। दिनभर पढ्न असहज भइरह्यो। त्यै पनि पढिनैरहे। नपढ्न पनि कसरी? २ दिनपछि अधिकृतको परीक्षा छ। यो त्यही परीक्षा हो..जसका लागि म १ वर्षदेखि एकोहोरो भएकी छु। लाइब्रेरीका सबै साथीहरूले पनि मेरो परीक्षालाई खुब चासोका साथ हेरेका छन्। मैले भने बढी समय लिखितमै लगाएकी हुनाले पहिलो पत्रको डर लागेको छ। पहिलो पत्रमै नाम निस्केन भने?????
2081-12-30: आज चैत ३० गते, मेरो लागि विशेष दिन। स्पष्ट रूपमा भन्नुपर्दा आज सङ्घको अधिकृतको प्रथम पत्रको परीक्षा। यही परीक्षाको लागि त हो मैले लाइब्रेरीसँग मेरो कैयौँ दिनहरू साटेकी छु। निद्रा लाग्ने त कुरै भएन। साढे ५ बजेको आलार्म बज्नुअगाडि नै बिउँझे। हतारहतार रिभिजन गर्न छुटेका नोटहरू पल्टाएँ। आज परीक्षा बिहान ११ बजेदेखि थियो। मेरो परीक्षा केन्द्र चाबेलको टेक्सास कलेजमा थियो। त्यसैले पूर्वयोजना अनुसार नै म ९ बजे तयार भएँ। तर दुर्भाग्यवश! झलमल्ल लागेको घाममा एक्कासी कालो बादलले ढाक्यो। हावा-हुरी-बताससँगै पानी दर्किन थाल्यो। हावाको बहाव यत्ति ठूलो थियो कि मानौँ यसले मान्छेलाई नै उडाउन सक्छ। रोड छेउछाउका वस्तुहरू हावाले उडाएको दृश्य झ्यालबाट स्पष्ट देखिन्थ्यो। त्यसैले गइहाल्न डर लाग्यो। साढे ९ तिर हावा हुरी रोकियो तर पानी भने परिरहेकै थियो। छाता ओढेर रोडमा निस्केँ। आज शनिबार भएर होला सार्वजनिक गाडी कमै चलेको थियो। अझ लोकसेवाको परीक्षा भएर होला, चलिरहेका १-२ वटा गाडी पनि धेरै प्याक थिए। २-३ वटा गाडीले सिट छैन भन्दै रोकेनन्। बल्लतल्ल एउटा बसले रोक्यो। गाडीमा उक्लेँ। ओहो! त्यहाँ त लाइब्रेरीमा चिनेका धेरैजसो साथीहरू रहेछन्। सबै परीक्षा दिन उत्साहित देखिन्थे। हाम्रो गाडीमा लोकसेवा परीक्षार्थी थपिँदै गए…म भिडमा चेप्टिएँ। बल्खु पुग्दासम्म निस्सासिएला झैँ भयो। बल्खुमा ओर्लेर लामो सास तानेँ अनि चक्रपथ रिङरोडको गाडी चढेर चाबेलतिर लागेँ। सबैजसो सार्वजनिक यातायातहरू चोकैपिच्छे मान्छे कुरेर धेरै बेर बसिरहन्छन्। आज पनि त्यस्तै भयो। साढे ९ बजे नै निस्केकी म, पाउने १०…१०:३० अनि पाउने ११ बज्दै गयो तर अह! गाडी परीक्षा केन्द्र पुगेन। पठाओ नचढेकोमा पछुतो पनि लाग्यो, त्यै पनि आफूलाई सम्हालेर शान्त बनाएँ। सधैँ आधा घण्टा अगाडि पुग्ने म, आज १० मिनेट अगाडि मात्र पुगेँ। सबै विद्यार्थीले उत्तर पुस्तिका (ओएमआर सिट) मा नाम, रोल नं. भरेर बसिरहेका थिए। म दौडिएर पुगेको देखेर होला, सबैको नजर मैतिर थियो। म केही वास्ता नगरी हतारहतार उत्तर पुस्तिकामा व्यक्तिगत विवरण भरेँ। छिनभरमै प्रश्नपत्र पनि आइहाल्यो। प्रश्न गाह्रो पनि थिएन…सजिलो पनि थिएन। ११ देखि साढे १२ सम्मको समय पलभरमै सकियो। जम्मा १०० प्रश्नमध्ये धेरै प्रश्नहरू छुटेँ – कुनै नजानेर त कुनै समय नभ्याएर। प्रश्न मात्र छुटे कि! कि सपनाहरू नै पो छुटे? उत्तर पुस्तिका बुझाएर फर्केँ। कीर्तिपुरको नयाँ बजार पुगेपछि लाइब्रेरी गएँ। ३ घण्टा पढेपछि कोठा फर्केँ। आजको परीक्षामा पास होला कि नहोला? त्यो त नतिजा प्रकाशन भएपछि नै थाहा हुन्छ तर पनि भोलिबाट लिखित परीक्षाको तयारीमा लाग्नुछ।
2082-1-6: आज बिहान बिउँझदा जिउ बेस्मारी दुखेको थियो, मानौँ ठूलै थकाइ लागेको छ। घाँटी पनि दुखेको थियो अनि ज्वरो पनि अलिअलि थियो। बाहिर सिमसिम पानी परिरहेको थियो। सन्चो नभएर हो या आज शनिबार भएर हो, शरीर ओछ्यानबाट उठ्न सकिरहेको थिएन वा मानिरहेको थिएन। आज साप्ताहिक परीक्षा दिने योजना थियो। तर आफ्नो अवस्था देखेर दिनभर सुतेर आराम गरौँ या परीक्षा दिन जाऊँ? दोधारमा परेँ। शरीरले भनिरहेको थियो आराम गरौँ तर फेरि मनले भनिरहेको थियो “परीक्षा दिन जानै पर्छ”। अन्ततः मनले नै जित्यो। ओहो! मलाई कहिलेदेखि हो आफ्नो स्वास्थ्यभन्दा पनि सपना ठूलो लाग्न थालेछ। त्यसैले त अघि सम्मको बिरामी, थकित शरीरमा जोस पलाएर आयो। नत्र त म आराम गर्नुपर्ने अवस्था थियो। जुरुक्क उठेँ…एकछिन पढेँ…खाना पकाएँ…अनि तयार भएर सुनधाराको गाडी चढेँ। आफ्नै जिद्दीपन देखेर मलाई अचम्म लाग्यो। गाडीमा चढ्नेबित्तिकै एक अपरिचित दिदीले सोध्नुभयो “परीक्षा दिन हिँड्नुभएको हो?” मैले पनि “हो” मा उत्तर दिएँ। मैले केही सोध्नु अघि आफैँले भन्नुभयो “लाइब्रेरीमा देख्थेँ तपाईंलाई, त्यही भएर बोलाएको”। हुन त लाइब्रेरी जान थालेदेखि जताततै लाइब्रेरीकै साथीहरू भेटिन्छन्, चाहे परीक्षा हलमा होस् …चाहेँ चोकमा होस् …चाहेँ सब्जी पसलमा होस् …त चाहेँ बजारतिर। त्यसैले अपरिचित व्यक्तिले “चिन्छु” भन्दा खासै अनौठो लाग्दैन आजकाल। उहाँ शिक्षक सेवाको तयारीमा हुनुहुँदो रहेछ, गफिँदै नेम भवन पुग्यौँ। आज अरू दिनभन्दा बढी परीक्षार्थीको घुईँचो थियो। मैले पनि रु २०० तिरेर एउटा टोकन लिएँ र परीक्षा दिन बसेँ। परीक्षा हलमा २-३ जना कलेजका साथीहरू पनि भेट्टिए। ११ बजेदेखि २ बजेसम्मको परीक्षा सकेर फिडब्याक कक्षा लिएँ। भौतिक रूपमा परीक्षाको फिडब्याक लिएको अनुभव मेरो लागि पहिलो थियो। अनलाइन फिडब्याकभन्दा यो उपलब्धिमूलक थियो। करिब ४ बजे नेम भवनबाट बाहिरिएँ। बाटोभरि मान्छेको भिड थियो। सुनधाराको आकाशे पुल चढ्दै गर्दा कसैले ठट्यौली पारामा भन्दै थियो “यत्ति धेरै मान्छेको भिडमा चिनेको भने कोही छैनन्” तत्कालै उसको साथीको जवाफ थियो “अनि यहाँ सबै ७५ जिल्लाका मान्छेहरू बस्छन् नि त! सबैलाई कसरी चिन्नु!”। उनीहरू छिनभरमै भिडभित्र कतै ओझेल परे। तर मलाई भने उनीहरूको कुराले एकछिन स्तब्ध नै बनायो “अ साँच्चै, घाम उदाउँदै गर्दा भेटिने नयाँ आकृतिहरू गोधुली साँझसँगै कता बिलाउँछन्? मैले ६-७ वर्षको अन्तरालमा काठमाडौंको बसाइमा भेटेका परिचित अनुहारहरू काठमाडौंकै गल्लीहरूमा फेरि किन भेटिन्नन्? सबै कता हराए? सायद सपनासँगै पखेटा फिँजाई कतै उडे होलान्! उसो भए, मै मात्र पो यता छुटे कि?” प्रश्नै प्रश्नमा कुन बेला गाडी कीर्तिपुर पुगेछ पत्तै भएन।
2082-1-9: हिजोआज रुघाले गर्दा सन्चो छैन तर पनि लाइब्रेरी नै पुगिहाल्छु। आज पनि बिहान ज्वरो आइरहेको थियो_त्यै पनि ६ बजे लाइब्रेरी पुगेँ। बाहिर लागेको घामको किरण भित्रसम्म पोखिएको थियो। तर पनि मलाई जाडो नै भइरहेको थियो। चिसो भएर होला सायद_एक्कासी खोकी लाग्न थाल्यो। नाक पनि टालिएर सास फेर्न गाह्रो होला जस्तो भयो। पढ्न असहज भयो। त्यसैले ७ बजे नै कोठा फर्केँ। कोठामा पनि पढ्न सकिन, दिनभर सुतेरै बिताएँ।
2082-1-11: रुघा खोकी सन्चो भएन। २ दिनपछि कलेजको परीक्षा सुरु हुन लागेको छ। तर सन्चो नभएर पढ्न सकेको छैन। घरायसी उपचारले काम गरेन। त्यसैले आज दिउँसो कीर्तिपुर हस्पिटल गएँ। चेकजाँच गरेर औषधि ल्याएँ। फर्कने बेला कलङ्कीमा एमपीए को परीक्षा केन्द्र नेपालय कलेज पनि हेरेर आएँ। संघको अधिकृतको पहिलो पत्रको नतिजा आएछ। हतारहतार चेक गरेँ। जे नहुनुपर्ने हो त्यही भयो। मेरो नाम थिएन। अवश्य पनि एकछिन नराम्रो त लाग्यो नै। तर फेरि जम्मा २ हप्ता पढेर दिएको परीक्षाको नतिजा कसरी राम्रो होला र? आफैँलाई नै चित्त बुझाएँ। प्रयास गर्ने मान्छे नै त असफल हुन्छ हैन र? मैले सक्दो प्रयास त गरेकै हो। असफल भयो भन्दैमा भाग्न पनि त भएन नि! अब अरू परीक्षाको तयारीमा जुट्नु छ।
2082-1-16: म भन्दा ५-६ वर्ष कमका भाइबहिनीहरूले खर्च दिन थालिसके। तर आफ्नो मास्टर्स डिग्री सक्न लाग्दा पनि एक रुपैयाँ कमाएको छैन। अब त अति, आफैँदेखि लाज लाग्न थालिसक्यो। १०० रुपैयाँ खर्चको लागि पनि हात फिजाउनुपर्ने, उफ! बाध्यता भनौँ या के….! राम्ररी पढेर राम्रै जागिर गरौँला भन्यो! खै त, यो साल पनि बेरोजगार नै बित्ने भो। अवस्था यस्तै छ चाहेर पनि यो कठोर वर्तमानबाट भाग्न मिल्दैन, के गर्ने! तर मैले हार मानिरहँदा पनि हौसला दिने, भरोसा दिने, मुख्य कुरा खर्च जति भने पनि पुर्याइदिने मेरो परिवार छ। कत्ति भाग्यमानी म। उहाँहरु नभएको भए म पूरा समय पढाइमा यसरी लाग्न अवश्य पनि पाउने थिइनँ। आज पनि “मैले अहिलेसम्म केही प्रगति गर्न सकिन” भनेर निराश हुँदा दिदीहरूले “यत्ति धेरै मेहेनत गरिराछस्, बिस्तारै सफल हुन्छस्, केही कुराको पनि टेन्सन नगरी ढुक्क भएर पढ, जति खर्च चाहिन्छ माग, हामी पुराउँछौँ” भनेर भन्दै हुनुहुन्थ्यो। योभन्दा ठूलो हौसला अरू के हुन सक्छ। धन्यवाद! परिवारलाई, मलाई यत्ति धेरै सपोर्टको लागि। तपाईंहरूको लगानी म अवश्य पनि खेर जान दिने छैन।
2082-1-21: यो अघिल्लो २ हप्ता बिरामी अवस्थामै बित्यो। मुस्किलले एमपीए चौथो सेमेस्टरको परीक्षा चै दिन सकेँ। अब बल्ल कलेज सकियो। त्यसैले थोरै भए पनि राहत मिलेको छ। अबबाट भने कलेजको थेसिस गर्ने बाहेक अरू पूरा समय लोकसेवालाई नै दिन पाउनेछु। हिजोआज कलेजमा १ हप्ताको लागि थेसिस लेख्न सिकाउने विशेष कक्षा राखिएको छ। बिरामी भएर टियूको लाइब्रेरी नगएको पनि धेरै दिन भइसकेको थियो। आज २ हप्तापछि लाइब्रेरी पुग्दा सबैकुरा नौलो लाग्यो। घण्टाघर अगाडिको ज्याकाराण्डा धकमक्क फुल्न भ्याइसकेछ, झ्याल छेउमा कुहुकुहु गर्ने कोइली बसाइँ सरिसकेछ, रोज गार्डेनका गुलाफहरू ओइलिन भ्याइसकेछन्, लाइब्रेरी भित्र नयाँ नयाँ पुस्तकको चाङ थपिएछ अनि नयाँ पढ्ने विद्यार्थी अनुहारहरू पनि थपिएछन्। २ हप्तामै कस्तो परिवर्तन! फेरि म भने किन उस्तै…उफ! लाइब्रेरीमा चिनेको जति सबै साथीको एउटै प्रश्न थियो “अधिकृत प्रथम पत्रको नतिजा के भो?”! नसोधिदिए हुन्थ्यो जस्तो लाग्ने प्रश्न नै किन सोधिदिन्छन्?….निको भएको घाउ बल्झेझैँ हुने गरी! “बिग्रियो” भन्ने मेरो उत्तरमा कोही विश्वस्त थिएनन्। कत्तिले ढाँटेको पनि सोचे होलान्! अरूका कुरा त त्यस्तै हुन्, म चै अब नयाँ भ्याकेन्सीको तयारीमा लाग्नु छ।
2082-1-26: बिरामी निको भएसँगै मेरो लाइब्रेरीको दिनचर्या फेरि सुरु भएको छ। बिहानदेखि साँझको समय लाइब्रेरीमै बित्छ। लाइब्रेरीमा धेरै समय स्वअध्ययनमै बित्छ र बाँकी समय साथीहरूसँगको सामूहिक अध्ययनमा बित्छ। मेरो पनि आफ्नै समूह छ। हामीले भरेको विज्ञापनका सबै लेखकका पुस्तकहरू मिलेर किन्छौँ, साटासाट गर्दै पढ्छौँ, शनिबार इन्स्टिच्युटमा परीक्षा दिन पनि जान्छौँ, अनि प्रश्नपत्र छलफल गर्छौँ। पढाइका कुरा मात्र होइन, कहिलेकाहीँ हामी घण्टाघरको अगाडि धकमक्क ज्याकाराण्डाको फेदमा बसेर चियासँगै सपनाको गफ गर्छौँ र ती सपनाहरू ज्याकाराण्डाका फूलहरूभन्दा पनि सुन्दर हुन्छन्। पढ्ने साथीहरू नहुने हो भने त लाइब्रेरी दैनिक रूपमा जान सायद नसकुला म। लाइब्रेरीमा परिचित बाहेक नयाँ सपना बोकेका अरू नयाँ अनुहारहरू पनि दिनैपिच्छे भेटिन्छन्। कोही मान्छे वर्षौँ अगाडि भेट्दा पनि अपरिचित नै रहन्छन् त कोही एक दिन भेट्दा नै पनि यत्ति आत्मीयता हुन्छ कि मानौँ त्यो व्यक्ति सँग वर्षौँको चिनजान छ। आज पनि म पढिरहेको बेला एक अपरिचित दाई छेउमै पढ्न आउनुभयो। आफैँले परिचय अगाडि बढाउनुभयो। एमपीएको क्लासमेट हुनुहुँदो रहेछ। उहाँले मलाई कलेजमा देख्नुभएको रे! कुरैकुरामा उहाँले लोकसेवा तयारीसम्बन्धी धेरै कुराहरू सिकाउनुभयो अनि आफूले सङ्कलन गरेको नोटहरू पनि दिनुभयो। कस्तो सहयोगी उहाँ। उहाँलाई भेटेर खुसी लाग्यो।
2082-1-30: जीवनको आधा वसन्त पनि बित्न लागिसक्यो, तर खै त उपलब्धि! अझै पनि म हुनुको कुनै सार्थकता छैन। सिधै भनौँ—अहिलेसम्म न आफ्नो लागि कमाएको छु, न त परिवारको लागि? अझैसम्म पनि अरुकै भरमै जीवन चलिरहेछ। कोही यत्ति निरिह, बेकम्मा अनि असक्षम कसरी हुन सक्छ…??? आखिर सत्यता नै त यही हो! कास, गन्तव्यविहिन रहरहरूको पछाडि भाग्न छोडेर जागिरतिर प्रयास गरेको भए मेरो वर्तमान अर्कै हुन्थ्यो कि!
2082-2-2: लाइब्रेरीको दैनिकीहरू अत्ति प्रेमिल छन्। मलाई रात परेपछि फेरी लाइब्रेरी जान बिहानीकै पर्खाइ हुन्छ। कुनै सरकारी बिदा परेपछि लाइब्रेरी जान नपाएर छटपट्टी हुन्छ। हुन पनि हो, कोठामा बस्दा दिनभर मोबाइल चलाएरै दिन बित्छ, तर लाइब्रेरीको बसाइभरि पुस्तकसँग मात्र साक्षात्कार हुन्छ। घरीघरीको समय लोकसेवा तयारी गर्ने अरु साथीहरूसँगको अन्तर्क्रियामा बित्छ। यसलाई पनि म उपलब्धिमुलक नै मान्छु, किनकि यसले मनमा छिनछिनमा छाउने असफलताको नैराश्यतालाई टाढा भगाइदिन्छ। नत्र त प्रत्येक दिन…प्रत्येक हप्ता…प्रत्येक महिना…अनि प्रत्येक वर्ष एउटै कुरा पढ्न कहाँ सकिन्थ्यो र? लाइब्रेरीमा लगभग ८ घण्टाको लगातार पढाइपछि महसुस हुने थकान अनि पढ्दा पढ्दै पुस्तकहरूको चाङमा यसै घोप्टिएर निदाउँदाका पल सबैभन्दा बढी सन्तोषपूर्ण लाग्छ। अँ साँच्चि, म लाइब्रेरीबाट फर्किएपछि यत्ति धेरै थकान महसुस गर्छु कि थेसिस प्रपोजल बनाउन ल्यापटप खोल्नेबित्तिकै भुसुक्कै निदाउँछु। एक हप्ता भइसक्यो, प्रपोजल सकाउँछु भनेर बसेको, तर खै त! दिनभर लोकसेवाको तयारीमै बित्छ। …. सदाझैँ आज पनि साढे ५ बजे बिउँझेँ। तयार भएर साथीसँग लाइब्रेरी पुगेँ। बिहान ९ बजेसम्म जीके पढेँ। साढे ९ बजे कोठा फर्केँ अनि खाना बनाएर खाएँ। सरसफाइ गरेर तयार हुँदासम्म १२ बजिसकेको थियो। खाना खाएपछिको समय अलि अल्छे हुन्छ। एक कप कफी खाएँ अनि लागेँ लाइब्रेरीतिर टन्टलापुर घाममा। अल्छे पाराले लाइब्रेरी पुगेको म, उत्साहका साथ पढिरहेको साथीहरूलाई देखेर, पढ्ने जाँगर लाग्ने नै भयो। लिखित पत्रको पुस्तकमा घोट्टिन थालेँ। केही छिनमा एकजना नयाँ मान्छे मेरो अगाडि बस्यो अनि ठूलो ठूलो स्वरमा पढ्न लाग्यो। बेवास्ता गरौँ भन्दा भन्दै पनि आवाजले पढाइमा ध्यान दिन गाह्रो भयो। उतिर लक्षित गर्दै भनेँ, “आवाज ननिकाली पढ्नु न है डिस्टर्ब भयो मलाई।” मेरो आग्रह सक्किन नपाउँदै उसले झोक्किँदै भन्यो “आवाज? खै के को आवाज? तपाईँलाई त नि आफैँ बसेर पढ्नु, पढ्ने!” आफू हल्ला गर्ने अनि मलाई एक्लै बस्न सल्लाह दिने? उसको कुरा मन परेन। हुन त लोकसेवा पढ्ने विद्यार्थीमा मानसिक तनाव स्वाभाविक नै हो। सायद त्यो मान्छेमा पनि तनावले गर्दा त्यस्तो प्रतिक्रिया दिनु सामान्य नै हो। त्यसैले तर्कवितर्क गरिनँ। ऊ दिनभर ठूलै स्वरमै पढिरह्यो। …साँझपख बत्ती गयो। गोधुली साँझको फिक्का उज्यालोमा बत्तीमा पढाइ भैरहेको थिएन। एक्कासी झ्याल नै फुटाउलाझैँ एक झोका हावा लाइब्रेरीभित्र पस्यो। खाली पानीको बोतल भुईँमा खस्यो। सबैको ध्यान झ्याल बाहिर तानियो। मैले पनि उतैतिरै हेरेँ, ओहो! आकाशमा कालो बादल यसरी मडारिएको थियो कि मानौँ केही छिनमा ठूलै वर्षा हुन लागेको छ। हावाको बहाव पनि कत्ति ठूलो… सानो लाइब्रेरीको टिनको छाना उडाउलाझैँ गरी नाचिरहेको थियो। झिलिकझिलिक बिजुली चम्किँदै थियो अनि घरीघरी डरलाग्दो पारामा आकाश गर्जिँदै थियो। यस्तो अवस्थामा पढ्न के सक्नु! विद्यार्थीहरू झोला बोकेर फर्किने तरखरमा लागे। म पनि लागेँ कोठातिर। बाटोका सल्लाका रुखहरू भाँचिएलाझैँ गरी हल्लिरहेका थिए। पानी छेक्न छाता ओढ्दा पनि उडाउलाझैँ भइरहेको थियो। अझ बढी त मलाई बिजुली चम्किँदा बिजुलीको पोलमुनि हिँड्दा मनमा चिसो लागिरह्यो। ट्याङ्गलाफाँट चोक पुग्नै लाग्दा एउटा साथीले निराश भावमा भन्दै थियो “आज समाचारमा पढेको, संघीय निजामती सेवा विधेयक पारित भयो रे! यो विधेयक अनुसार अब नायब सुब्बा नखुल्ने रे! म त २-३ साल भयो सुब्बा मात्र पढेको… मेरो त बिजोक हुने भो!” बाहिरको हावाहुरीभन्दा उसको मनको हावाहुरी साँच्चिकै भयावह थियो। ऊ मात्र होइन…म, हामी लगायत सम्पूर्ण लोकसेवा परीक्षार्थीका लागि नै यो व्यवस्था स्वीकार्न गाह्रो छ।
2082-2-3: आज शनिबार, परीक्षा नदिने त कुरै भएन। बागमती पाँचौँको परीक्षा आउन लाग्यो। आज पनि त्यसैको परीक्षा दिन साथीहरुसँग सेडेप ईक्सटिचिउट गयौँ। दिनको २ देखि ३ बजेसम्म परीक्षा थियो। परीक्षा दिएर फर्कदै गर्दा टुँडिखेलमा उभौली पर्व थियो। आफ्नै पर्व नमनाउने त कुरै भएन। सधैँ जीकेमा पढ्दै गरेको चण्डी नाच हेर्न मेरो साथीहरूले पनि रहर गरे। हामी पनि नाच्यौँ। माहोल एकदमै भिडभाड थियो। विविध प्रकारका नाचहरू थिए त्यहाँ। मैले मेरा साथीहरूलाई जानेजति उभौलीमा हुने संस्कार, राईको पहिरन, लगाउने गरगहना, खानपान लगायत सम्पूर्ण कुराको जानकारी दिने कोसिस गरेँ।
2082-2-6: लाईब्रेरीमा दाइदिदीहरूले सधैँ भन्ने गर्नुहुन्थ्यो, “लोकसेवा तयारीमा जति वर्षहरू बित्दै जान्छ, उति पढ्न सकिन्न नि!”। उहाँहरूको कुरामा असहमति जनाउँदै अनि मैले भन्ने गर्थेँ, “झन् तयारी पुग्दै जान्छ, अनि पढ्न जाँगर लाग्नुपर्ने हो!”। तर होइन, उहाँहरू नै सत्य हुनुहुँदो रहेछ। सफलतामा जति अबेर हुन्छ, उति पढ्न जाँगर नलाग्दो रहेछ। एक त वर्षभरि गरेको मेहनतले सफलता नपाउँदाको नैराश्यता अनि अर्को उमेरको उकालोसँगै थपिँदै जाने जिम्मेवारीका बोझहरू! खै किन हो अघिल्लो वर्षमा जस्तो आजकाल पढ्न जाँगर लाग्दैन मलाई पनि। हिजो बाढीजस्तै उर्लेर आएको जोसजाँगर आज खै कता बिलाएको छ। मनमा उत्साह फिटिक्कै छैन। लोकसेवाले भन्दा पनि खेर फालेको विगतले आजकाल झनै सताउन थालेको छ। हिजोको कमाउने, रमाउने उमेर यत्तिकै बितेझैँ लाग्छ। अहिलेसम्म पनि परिवारको जिम्मेवारीमा हातेमालो गर्न नसकेकोमा थप ग्लानि पनि लाग्छ। अब त लोकसेवा प्रतिको धैर्यताको बाँध पनि फुट्न लागिसक्यो। कलेज सकेदेखि झन् भविष्यको चिन्ताले सताउन थालेको छ। देशमै बसेर कहिले कमाउने अनि कहिले रमाउने?। “विदेश जान्न, देशमै केही गर्छु” भन्ने देशप्रेमी ममा पनि आजकाल विदेशकै योजना मनभरी दुलिरहन्छ।
2082-2-8: रातभरको हावाहुरीपछि बिहानपख घाम लाग्यो। आकाशमा हेर्दा दिउँसो पनि घाम नै लाग्ने छाँटकाँट देखियो। त्यसैले खाना खान कोठा फर्किँदा छाता लाइब्रेरीमै छोडेर आएँ। मौसमको के भर, लाइब्रेरी फर्किने बेला हावाहुरीसहित बेस्मारी झरी पर्यो। घरमै थेसिस प्रपोजल बनाएर बसेँ। ३ बजेतिर बल्ल झरी रोकियो अनि लागेँ लाइब्रेरी तिर। साथीहरूको प्रश्न थियो, किन ढिला? “यत्तिकै” भनेर टारिदिएँ। कसरी भन्नु, पढ्न मन छैन भनेर! हुन त मेरो मन ठिक्क वर्षायामको मौसमजस्तै छ। त्यत्तिबेलै पढेर सबै पुस्तक सकौँ झैँ लाग्छ अनि फेरि त्यत्तिनै बेला मनमा यसरी नैराश्यता छाउँछ कि मानौँ यो मेहनतको केही सार्थकता छैन! हिजोदेखि हो, मनमा नैराश्यताले धेरै डेरा जमाएको। पढ्न थाल्यो कि विरक्त मात्र लाग्छ! बरु परीक्षा आउनु नै सही…. तयारीको चटारोमा कमसेकम नैराश्यताबाट त मुक्ति पाउँछु!
2082-2-9: दुई वर्षअघि एउटा साथीले भनेकी थिइन्, “अब त लोकसेवा कि वार कि पार नलगाई भएन!”। भन्दा भन्दै यो साल उनले लोकसेवालाई वार लगाएरै छाडिन्, अहिले गण्डकी प्रदेशको पाचौँ तहमा सिफारिस भएर कार्यरत छिन्। उत्तिबेला उनको कुरा सुनेर “किन त्यसरी हत्तारिएकी होलिन्” जस्तो लाग्थ्यो। तर आज बल्ल बुझ्दैछु, लोकसेवामा अल्झिनु भनेको आफ्नो उत्पादनमूलक समय यसै बितिजानु रहेछ। भन्नलाई त घरमा एमपिए सकुन्जेल मात्र लोकसेवा दिन्छु अनि पनि नाम निस्केन भने प्राइभेट जागिर गर्छु भन्ने वचन दिएको थिएँ। तर आज कलेज पनि सकिसक्यो तर खै त लोकसेवामा नाम निस्केको? फेरि आधाउधी तयारी पुगिसकेपछि लोकसेवालाई चटक्कै छोडिहाल्न पनि त सकिन्न। त्यसैले मैले परिवारमा एक वर्षको थप समय मागेकी छु। अब धेरै मेहनत गरेर चाँडो नाम निकाल्नु छ। यो १-२ सालमा पनि भएन भने मैले पनि अर्को बाटो फेर्नैपर्छ। जीवनभरि लोकसेवा नै भनेर बस्न पनि त सम्भव छैन नि हैन र?
2082-2-10: आज शनिबार, परीक्षा दिने दिन। दिउँसो २ देखि ३ बजेसम्मको बागमती पाँचौँ प्रथम पत्रको परीक्षा दिन साथीहरुसँग सेडेप इन्स्टिट्युट गयौँ। परीक्षा नजिकिएको भएर होला, अरु दिनभन्दा आज परीक्षार्थी अलि बढी थिए। परीक्षा सक्किएपछि नेम भवनदेखि सिंहदरबार हुँदै सुनधारासम्मको बाटो प्रश्नपत्र छलफल गर्दै काट्यौँ। यसरी परीक्षा लगत्तै बाटोमा गरिएको प्रश्नपत्र छलफल लामो समयसम्म याद भइरहन्छ। छलफलबाट यो थाहा भयो कि कतिपय उनीहरूको त कतिपय मेरो उत्तरहरू मिलेछन्। आजकाल अरु दिनभन्दा पनि प्रत्येक शनिबारको परीक्षा सबैभन्दा विशेष लाग्छ। प्रत्येक परीक्षाको सकारात्मक नतिजाले पनि हो मलाई झन् परीक्षा दिन हौस्याएको। हुन पनि हो, साप्ताहिक परीक्षा धेरै नै उपलब्धिमूलक हुन्छ। शनिबार परीक्षा अनि अरु दिन अध्ययन, समग्रमा मेरो तयारी निखारिँदै छ। आजकाल दिन…हप्ता…महिना बितेको पत्तै हुनै छोडेको छ। भर्खर आइतबार भयो भन्ने लाग्दा लाग्दै कत्तिबेला शनिबार भइसक्छ, पत्तै हुँदैन। लेखेर सकेको कापिका चाङहरू र सकेका डटपेनका रिफिलहरू देख्दा बल्ल धेरै दिन बितेको पत्तो हुन्छ। धन्य लाइब्रेरीमा पढ्ने वातावरण अनि मेहनती साथीहरू पाएकी छु, नत्र त लोकसेवा प्रति यत्तिको लगाव कहाँ हुन्थ्यो र मेरो!
2081-2-16: हिजोआज पढ्दा पढ्दै एक्कासी यसरी तनावले गाज्छ कि मानौँ मेरो सास अड्किरहेको छ…छटपटिले जिउ समात्छ…शरीरभरि चिटचिट पसिना आउँछ…मन नैराश्यताले ढपक्कै छोप्छ अनि मस्तिष्कमा नकारात्मक सोचहरूको बाढी आउँछ। म नियन्त्रण गर्न सक्दो कोसिस गर्छु। तर अह, धेरै बेरसम्म निस्सासिरहन्छु, मानौँ म कुनै अक्सिजन नभएको बन्द कोठामा फसेको छु। पहिले यस्तो अनुभव कहिल्यै भएको थिएन। खै के कारणले हो, आजकाल दिनदिनै यस्तो खालको तनावले गाज्छ। सायद परीक्षाको धेरै तनावले हो कि? तनाव नलिई पनि त लोकसेवाको तयारी गर्न सकिन्छ नि! हैन र? अब मैले पनि तनाव व्यवस्थापन सिक्नै पर्छ। नत्र मेरो अवस्था झन् नाजुक हुँदै जानेछ!
2082-2-18: हिजो शनिबार…आज भोटो जात्रा…लाइब्रेरी बन्द थियो। लाइब्रेरी बन्द हुँदा सबैभन्दा दुखी हुने सायद मै होला। घरमा बसेपछि सोचेजस्तो पढ्न सकिन्न। हिजो त परीक्षा दिन सेडेपतिर गइयो, दिन उपलब्धिमूलक नै रह्यो तर आज? यसै पनि आजभोलि मनमा जोस छैन…खाली नकारात्मक सोचले मात्र गाज्छ। खराब समयको बेला केही पनि ठीकठाक हुँदैन। साप्ताहिक परीक्षामा पनि राम्रो नतिजा आउन छोडेको छ। आइतबारदेखि शुक्रबारसम्म तयारीमा जुटे पनि नतिजामा खासै सुधार आएको छैन। यसले झन् पढाइप्रति हतोत्साहित बनाउने गर्छ। आज पनि बिहानबाट नै पढ्न जोस चलेन! मनमा छटपट्टि भइरह्यो। दिउँसो पढ्न बसेँ…अहँ, पढ्न सकिन। समय सधैँ एउटै रफ्तारमा नहुँदो रहेछ!!!!!! तीतो कफी बनाएँ अनि युट्युबमा बुलबुल कम्युनिकेशन च्यानलबाट अच्युत घिमिरे सरको स्वरमा उपन्यास सुनेर दिन बिताएँ। उपन्यासमार्फत अरूका कहानी सुन्दा खुब आनन्द लाग्छ मलाई।
2082-2-21: मेरो मन ठ्याक्कै खुला आकाशजस्तै! कत्ति बेला नैराश्यताको बादल मडारिन्छ त कत्ति बेला भारी वर्षासँगै सफा हुन्छ अनि आशाका किरणहरू पोखिदिन्छन्। धेरै दिनको नैराश्यतापछि आज मन चङ्गा भएको थियो। दिनभर पढाइप्रति लगाव भइरह्यो। घरी जिके त घरी आइक्यूसँग दिन बिताएँ। मन खुसी भएको दिन सबै माहोल नै खुसी भइदिन्छ। आज पनि यस्तै भयो। म बसिरहेको बेन्चमा एउटा नयाँ विद्यार्थी साथी बसेको थियो। भेटेको केही मिनेटमै मेरो नाम सोध्यो अनि कागजमा केही कोरेर मलाई दियो। त्यो कागजमा लेखिएको थियो “अनन्ता राई- वडा सचिव बागमती प्रदेश”। यो देखेर खुब हाँसो लाग्यो। अझ उसले थप्यो “यो साल हजुर बागमती पाचौँमा पक्का सिफारिस हुनुहुनेछ”। व्यङ्ग्य भावमा जवाफ फर्काएँ, “केही सेकेन्ड चिनेकै भरमा मान्छेलाई यसरी विश्वास गर्नु हुँदैन नि”! उसले गम्भीर हुँदै अझ भन्दै थियो “मैले ब्याचलर संस्कृतमा गरेको छु, तपाईंलाई देख्ने बित्तिकै मैले यो कुरा महसुस गरेको हुँ”। खै उसले साँच्चै भन्यो कि गफ लाइदियो त्यो त उसलाई मात्र थाहा होला तर जे होस् मलाई पढ्नलाई भने उत्प्रेरणा जगाइदियो। यसै गरी साँझपख फेरि अर्को साथी मेरो छेउमा बस्दै भन्यो, “तपाईं कत्ति धेरै पढ्नुहुन्छ…तपाईंको छेउमा बस्यो कि पढ्न मन लाग्छ…त्यही भएर आएको”। खै उल्टोबाट भन्यो कि सुल्टोबाट भन्यो! …मैले केही नबोली मुस्कुराइदिए मात्र। समग्रमा आजको दिन उपलब्धिमूलक नै रह्यो।
2082-2-23: २-३ हप्तादेखि थेसिस प्रपोजलले खुब तनाव दिएको थियो। आज प्रपोजलको प्रेजेन्टेसन थियो। बिहान लाइब्रेरीभरि प्रेजेन्टेसनकै तयारीमा जुटेँ अनि दिउँसो कलेज गएँ। करिब २ बजेतिर प्रेजेन्टेसन सुरु भयो। हामी जम्मा १५ जना रहेछौँ। लाइनमा बस्दा मन अवश्य पनि डराइरहेको थियो। ३ बजे मेरो पालो आयो। प्रेजेन्टेसन सोचेभन्दा एकदमै राम्रो भयो। सरमिसहरूले अब्जेक्टिभ्स र मेथोडोलोजीमा अलिकत्ति मिलाउनु भनेर सुझाव पनि दिनुभयो। प्रपोजल एक्सेप्ट भएको भएर होला, मन साह्रै हल्का भएको छ। फर्कने बेला एउटा मिसले बाटोमा भन्दै हुनुहुन्थ्यो “तिम्रो प्रेजेन्टेसन धेरै राम्रो थियो”। म फुरुङ्ग हुँदै लाइब्रेरी पुगेँ।
2082-2-26: फेरि पनि मेरो तयारीले लय समातेको छ। दिनभरि दिमागले काम गरेसम्म किताबका शब्द शब्दहरूमा आँखा दौडाइरहन्छु। घरीघरी शौचालय जाने बाहेक दिनभरको समय एकै ठाउँमा नै बसेर बिताउँछु। लाइब्रेरी सुरु सुरुमा जाँदा एउटै ठाउँमा बस्न खुब गाह्रो लाग्थ्यो। तर अब त पुस्तकसँग साह्रै प्रेम बसेछ क्यारे! दिनभरको समय पुस्तकका पानाहरूमा कसरी बगिदिन्छ पत्तै हुँदैन।
2082-2-28: आज दिनभरि पानी परिरह्यो। लाइब्रेरी भित्र यसै त चिसो हुन्छ, झन् पानी परेको दिन त झ्यालबाट पानीको बछेटासँगै पस्ने चिसो हावाले झन् चिसो बनाउँछ। त्यै पनि बढी जसो विद्यार्थीलाई पंखा चाहिन्छ। म यसै त चिसो खप्न नसक्ने मान्छे, त्यसमा पनि हावाले नभेट्ने कुनाको सिटमा बस्ने गर्छु तर पनि पंखाको हावा खपिनसक्नु थियो। एक जना विद्यार्थीले पंखा बन्द गरिदियो, मलाई खुसी लाग्यो। तर फेरि पलभरमै अरूले खोलिहाले। दिनभर विद्यार्थी बीच पंखा बन्द गर्ने…खोल्ने प्रतिस्पर्धा चलिरह्यो। यो देखेर सोचेँ “बरु लाइब्रेरीको कोठाको आधा भाग जाडो हुनेहरूको लागि र आधा भाग गर्मी हुनेहरूको लागि छुट्याइदिए के होला?”। तर यो कुरा कार्यान्वयन हुने खालको पनि त छैन! त्यसैले कसैलाई सुनाइनँ। चिसो हावालाई बेवास्ता गर्दै दिनभर जिकेमा ध्यान लगाइरहेँ। … आज बागमती पाँचौँको परीक्षा केन्द्र आएछ। हेटौँडा जाने खर्च अनि लाग्ने समयले खुब सताएको थियो। तर भाग्यवश परीक्षा केन्द्र काठमाडौं नै परेछ। खुशी लाग्यो। अब जसरी पनि परीक्षा राम्रो गर्नुछ। हिजो पनि बाबाले “अब त पार्ट टाइम जागिर भए पनि गरे नि हुन्थ्यो” भनेर भन्दै हुनुहुन्थ्यो। मैले केही जवाफ नदिई सदाझैँ मुस्कुराइदिए मात्र!
2082-3-7: आज असार ७ गते, बागमती प्रदेशको पाँचौँ तहको प्रथम पत्रको परीक्षाको दिन। जति परीक्षा दिए पनि परीक्षाको डर मभित्र कहिल्यै नसक्ने भयो। परीक्षाको डर बोकेर सुतेको भएर होला, रातभर भुतको सपनाले तर्साइरह्यो। बिहान बिउँझँदा साढे ५ बजेको थियो। ९ बजेसम्म भ्याएजति जिके/आईक्यु रिभिजन गरेँ। अनि लागेँ परीक्षा केन्द्रतिर। मेरो परीक्षा केन्द्र कोटेश्वर चोकदेखि १० मिनेटभित्र थियो। परीक्षाको तनावको बेला स्कुटरमा जानुभन्दा गाडीमा जानु उचित लाग्यो। गाडी चढ्न रोडमा निस्केँ। आज परीक्षाको दिन भएर होला, सबै माइक्रोबसहरू यत्ति भरिभराउ थिए कि ३-४ वटा माइक्रोबस रोक्दा पनि कसैले रोकेनन्। मलाई परीक्षाका लागि ढिला भइरहेको थियो। तनावमाथि तनाव अवश्य थपिने नै भयो। यत्तिकैमा एउटा खचाखच माइक्रोबसले रोक्यो, अनि ड्राइभर छेउको २ जनाको सिटमा म सहित ३ जना कोच्चियौँ। म बल्खु पारि ओर्लेँ, अनि चक्रपथ रिङरोडको गाडी चढेँ र लागेँ कोटेश्वर। साढे १० बजे परीक्षा केन्द्र पुगेँ। परीक्षार्थीको घुइँचो थियो। मैले कोठा नम्बर हेरेँ र कलेज गेटमै मोबाइलबाट जिके पढ्दै बसेँ। घण्टी बजेसँगै भित्र छिरेँ, अनि ओएमआर सिट पेपरमा आफ्नो व्यक्तिगत विवरण भरेँ। ३-४ चोटि मेरो आफ्नै विवरण जाँच गरेँ। ११ बजे प्रश्नपत्र आयो। कत्तिपय प्रश्नहरू १००% निश्चित भएका, कत्तिपय ५०% निश्चित भएका, त कत्तिपय कहिल्यै नसुनेका प्रश्नहरू थिए। ४५ मिनेटको समयमा ५० वटा प्रश्नको समाधान गरेर ओएमआर सिट पेपरमा गोलो लगाउनुपर्ने थियो। समयको सीमितताका कारण रफ्तारमा खै के-के उत्तर लगाए, पत्तै भएन। घरमा आएर जाँच गर्दा थाहा भयो कि कत्तिपय उत्तर मिलेछन्, कत्तिपय सजिला प्रश्न पनि बिग्रेछन्, त कत्तिपय प्रश्न छुटिएछन्। अब तनाव लिएर के गर्नु? हेरौँ अब नतिजा के हुन्छ!
2082-3-11: बागमती प्रथम पत्रको परीक्षा सकेको दिन लोकसेवा फेसबुक पेजहरूमा सबै प्रश्न-उत्तरहरू अपलोड थिए। मैले सबै प्रश्नलाई संकलन गरेर मेरो उत्तर याद भएसम्म चेक गर्दा ३० वटा जत्ति प्रश्न मिलेछन्। यसको मतलब मेरो लगभग ६० नम्बर जत्ति आउला। यसको पास मार्क ४० मात्र भएकाले, म पास हुने केही हदसम्म सम्भावना छ। त्यसैले मैले बागमतीको लिखित पत्रको तयारीलाई पनि तीव्र बनाएकी छु। प्रथम पत्रको नतिजा राम्रो भयो भने लिखितको परीक्षा पनि राम्रै हुनेछ भन्नेमा म ढुक्क छु। यो वर्षका लागि बागमतीको परीक्षा नै मेरो लागि अन्तिम अवसर हो, त्यसैले मैले सकेसम्म राम्रो गर्नुछ!
2082-3-13: मैले लाइब्रेरीमा प्रायजसो सुन्ने प्रतिक्रियाहरू: “पहिलो पत्रमै नाम निस्कँदैन होला! किन लिखित परीक्षाको तयारी गर्नु? अहिले पढ्यो अनि पछि फेल भयो भने लाज हुन्छ! …कत्ति पढेको तपाईं? … मान्छे कत्ति सानी केटाकेटी हो जस्तो देखिनुहुन्छ! तपाईंको पढेको दुःख देखेर छिट्टै नाम निस्किदिए नि हुन्छ जस्तो लाग्छ! …किन आत्तिएर पढ्नुहुन्छ? ढुक्कले पढ्नु न! …पहिलो पत्रमा ३५ जत्ति कट्यो भने मात्र लिखित पत्रमा नाम निस्कन सम्भव हुन्छ! तपाईंको त कम मिलेछ! अलि सम्भव नहोला! …यो लाइब्रेरीमा तपाईंजस्तो पढ्ने मान्छे कोही देखेको छैन! तपाईंको त यो चोटि सिफारिस पक्का! … तपाईं त लोकसेवाको विद्यार्थी होइन? मास्टर्स डिग्रीको कार्ड कसरी पाउनुभयो? … सुरु-सुरुमा यस्तै हो, अधिकृत पढ्न जाँगर लाग्छ! पछि-पछि हामीजस्तै गलेर खरिदारतिर लाग्ने न हो! …सानी मान्छे भएर किन बाठी गरेको? नेता गर्न मन लाग्ने मान्छे त चुनाव उठ्नु नि!” थरी-थरीका मान्छेका मप्रति थरी-थरीका प्रतिक्रिया..! लाइब्रेरीमा राम्रो-नराम्रो सबै खालका मान्छे भेटिन्छन्। मलाई भेट्ने प्राय सबैले सुझावै नमागी सकारात्मक-नकारात्मक मेरो बारेमा प्रतिक्रियाहरु पोखिदिन्छन्। सुरु-सुरुमा त नकारात्मक प्रतिक्रियामा खुबै चित्त दुखाउँथेँ, तर अब त मनले यो कुरा सिकिसक्यो कि “जोसुकै ले जे सुकै भनून्, केही फरक पर्दैन। बस् आफ्नो रफ्तारमा हिँड्ने हो!”। आजकाल मान्छेको प्रतिक्रियाभन्दा बढी मेरो लक्ष्यमा ध्यान दिन थालेकी छु।
2082-03-14: आज शनिबार, परीक्षा नहुने त कुरै भएन। दिनको २ बजेदेखि सेडेप ईन्सटिचिउटमा बागमती पाँचौँको दोस्रो पत्रको परीक्षा थियो। मैले १० वटै प्रश्नहरू राम्ररी समाधान गरेँ। अधिकृतको परीक्षा दिँदै गरेको भएर होला, आजको प्रश्न त्यत्ति गाह्रो लागेन। प्रथम पत्रको नतिजा नआई पनि लिखितको परीक्षा दिन आउने विद्यार्थी धेरै थिए। परीक्षा सकेपछि भएको फिडब्याक झन् उपलब्धिमूलक रह्यो।
2082-03-18: त्यत्ति बेला नै घाम लाग्छ त त्यही समय फेरि पानी पर्छ, यो वर्षायामको मौसमको भरै नहुने। हुन त मेरो वर्तमान पनि त उस्तै छ! त्यत्ति बेला नै लाचार वर्तमान र आकारहीन भविष्यको नैराश्यताले निस्सासिने गरी घाँटी अठ्याउँछ, त फेरि त्यही समय सुन्दर भविष्यको आशाका किरणहरूले मन उज्यालिन्छ। आइतबारदेखि शुक्रबारसम्म लाइब्रेरीको अध्ययन अनि शनिबारको साप्ताहिक परीक्षा, त्यै पनि लाग्छ, अझै तयारी पुगेकै छैन। खै कत्ति वर्षहरू यसै दौडमा बित्ने हुन् …! हिजोआज मन यसै पागलझैँ भुटभुटाउँछ, यात्रा भुलेझैँ भौतारिन्छ, केही छुटेझैँ आत्तिन्छ, आफैँ खै के-के हो बर्बराउँछ, ऐनाको आकृति देखेरै तर्सन्छ, कसैको यादमा हराएझैँ तोलाउँछ, बिना कारण आफैँ मुस्कुराउँछ, अनि फेरि किताबतिर घोटिन्छ। कहिलेकाहीँ त लाग्छ, कुनै घना जङ्गलमा गएर बजोडले ठूलो आवाजमा कराऊँ, रुवूँ ताकि सबै मनको नैराश्यता वर्षोस्! खैर, समयले सबै अवश्य राम्रो पार्नेछ। चाहे यात्रा जत्ति नै गाह्रो होस्, गन्तव्य त सुन्दर नै छ।
2082-3-21: आज शनिबार, बिहान बिउँझँदा घाँटी दुखिरहेको थियो। हल्का ज्वरो पनि थियो। खै, तर पनि किन हो बिसन्चो लागेन। शरीरभन्दा मन फुर्तिलो भएपछि रोगले खासै गलाउन नसक्दो रहेछ। बागमती पाँचौँको लिखित पत्रका पुस्तकहरू आफ्ना र साथीहरूका गरी फरक-फरक लेखकका ३ वटा भेला पारेको थिएँ, त्यही किताबलाई तुलना गर्दै नोट बनाएर बिहानको समय बिताएँ। आज सेडेपमा ११ बजेदेखि बागमतीको दोस्रो पत्रको परीक्षा थियो, त्यसैले १० बजे सुन्धाराको गाडी चढेँ। अस्तिको हप्ताभन्दा यो हप्ता विद्यार्थीको संख्या अलि बढेको थियो। दोस्रो पत्रको तयारी राम्रै छ, त्यसैले प्रश्न त्यत्ति गाह्रो लागेन। साढे १ बजेसम्म परीक्षा अनि फिडब्याक कक्षा भयो। त्यसपछि अघिल्लो परीक्षाको उत्तरपुस्तिका पनि प्राप्त गर्यौँ। प्राप्ताङ्क हत्तार-हत्तार जोडेँ, जम्मा ४५ आएछ। सोचेभन्दा अलि कमै आएछ…मन खिन्न भयो। तर साथीहरूले राम्रै आएछ भनी प्रशंसा गर्दै थिए। बागमतीका लागि पहिलो चोटिको परीक्षा हो भनेर मैले पनि चित्त बुझाएँ!
2082-3-26: ३-४ दिन भयो, रुघा लागेर बिसन्चो भएको। तर पनि यो चोटि घरमा सुतेर बस्न मनले मानेन। जत्ति गाह्रो भए पनि लाइब्रेरी नै गइरहेकी छु। खै, यत्ति जबरजस्ती त म कहिल्यै थिइनँ। आजकाल कसरी जिद्दी भएँ? …बाध्यताले हो कि? …कि रहरले? आज झन् चिसो दिन थियो, त्यसैले लाइब्रेरी नजाने सोच बनाएँ, तर अहँ, मन मान्दै मानेन। लाइब्रेरी पुगिहालेँ। सदाझैँ आज पनि पंखा चलेको थियो। पढ्न बसेको मात्र के थिएँ, पंखाको हावाले एकोहोरो खोकी सुरु भइहाल्यो। त्यसैले संविधान बोकेर लागेँ घण्टाघरतिर। रातभर पानी परेको भएर होला, मौसम सफा थियो। कलिलो घाम चउरभरि पोखिएको थियो, परेवा अनि भँगेराहरू भुर्भुर उड्दै थिए। हरियाली वातावरणमा पुस्तक समाएर यताउती हिँड्दै पढ्ने विद्यार्थीको संख्या पनि बाक्लै थियो। म पनि थपिएँ। धेरै दिनपछि बाहिर चउरमा पढ्दा खुब रमाइलो लाग्यो।
2082-3-28: आज शनिबार, बागमती पाँचौँको लिखित परीक्षा दिन सेडेप गएँ। ऐन कानुन बढी भएको कारणले प्रश्नपत्र अलि गाह्रो थियो। त्यै पनि मैले सबै प्रश्नको समाधान गरेँ। परीक्षा पछि फिडब्याक कक्षा लिएँ। फर्किने बेला अस्ति हप्ताको दोस्रो पत्रको उत्तरपुस्तिका लिएँ, ५२ अंक आएको रहेछ। खुसी लाग्यो। आज लाइब्रेरी ५ बजेसम्म मात्र खुल्छ। म कीर्तिपुर पुग्दा साढे ३ बजिसकेको थियो। लाइब्रेरी बन्द हुन धेरै समय बाँकी थिएन। हिँड्दा हिँड्दै थाकेको पनि थियो, तर नयाँ बजार गेटमा गाडीबाट झरेपछि मेरा पाइला लाइब्रेरीतिर मोडिए। गेटमै गार्ड दाइले सोध्नुभयो, “आज किन ढिलो?”। मैले केही जवाफ नदिई मुस्कुराउँदै भित्र पसेँ। अरू बारजस्तै आज पनि लाइब्रेरी भरिभराउ थियो। म पनि किताब झिकेँ र पढ्न बसेँ।
2082-3-30: लाइब्रेरी पढ्न जान थालेको पनि १ वर्षभन्दा बढी भइसक्यो। पहिलाजस्तो लाइब्रेरी जाने जाँगर पनि आउँदैन आजकाल। दिन-हप्ता-महिना घोटिएर पढेँ, तर अझै तयारी पुगेजस्तो लाग्दैन। पास हुने छाँटकाँट देखिँदैन अझै। धैर्यताले पनि सीमा नाघिसक्यो। पहिले जस्तो जोसिलो छैन म। नैराश्यतासँगै दिनहरू ढल्किरहन्छन् आजकाल। अझ यता कलेज सकेदेखि छिटो जागिर खान पाए हुन्थ्यो भन्ने हतार लागेको छ। मास्टर्स डिग्री सकेको विद्यार्थी म, गर्नै परे जागिर नपाउने होइन, तर फेरि जागिर गर्न थाल्यो भने लोकसेवा के हुन्छ? यत्रो पूरा समय लोकसेवामै खर्चेर त केही पार लगाउन सकेको छैन भने जागिरसँगै त कसरी तयारी सम्भव होला! उफ! के गर्ने हो? यत्तिका समय लोकसेवामा खर्चिसक्यो! अब यहाँसम्म आएर चटक्कै छाड्न पनि त सक्दिन! खै कुन्नी कहिले हो मेरो मेहनतले सार्थकता पाउने! कि मेरो ऊर्जाशील समय लोकसेवाकै चक्रभित्र खेर जाने त होइन?
2082-3-31: लाइब्रेरीबाट फर्किन लाग्दा बागमती पाँचौँको प्रथम पत्रको नतिजा आयो। सबैले आफ्नो-आफ्नो नतिजा हेर्दै थिए। साथीहरूले मेरो पनि नतिजा हेर्न कर गर्दै थिए, तर त्यहाँ हेर्न उचित लागेन। त्यसैले फटाफट कोठा आएँ। कोठामा पुग्ने बित्तिकै नतिजा हेरेँ, पास भएछु। यसको लिखितको तयारी गर्न थालेको ३ हप्ता बढी भइसकेको छ। त्यसैले प्रथम पत्र पास भएकोमा धेरै खुसी लाग्यो। मेरो साप्ताहिक लिखित परीक्षा पनि त राम्रो भइरहेको छ। अतः पास गर्ने सम्भावना धेरै छ। त्यसैले अब मैले मेरो तयारीको गति झन् बढाउनु छ। मैले जसरी पनि पास गर्नै पर्छ।
2082-4-5: पढाइ फेरि रफ्तारमा गइरहेको छ। दिनप्रतिदिनको दमदार तयारीले लाग्दैछ कि “बागमती पाँचौँ मेरै लागि हो”। बिहान बिउँझेदेखि राति ननिदाएसम्म यसको तयारीमा जुटेकी छु। हिजोआज त रातको सपनामा पनि लोकसेवासँगै हुन्छु, कहिले तयारी गर्दै त कहिले परीक्षा दिँदै। हिजोबाट लाइब्रेरीमा बसाइको समय पनि बढाएकी छु। जुनसुकै हालतमा भए पनि मैले यो चोटि नाम निकाल्नै पर्छ। यस्तो अनुकूल समय र जाँगरमा पनि ननिस्के भने …!
2082-4-7: आज बिहान बिउँझँदा साढे ५ बजिसकेको थियो। तयार भएर ६ बजे लाइब्रेरी पुगेँ। बिहानभरि पढेर १० बजे कोठा फर्केँ। खाना पकाएर खाँदासम्म साढे ११ भइसकेको थियो। अनि लागेँ साथीहरूसँग नेम भवन तिर, बागमती पाँचौँको तृतीय पत्रको परीक्षा दिन। आज शनिबार त हैन, त्यै पनि परीक्षा नजिकिएको भएर हप्ताको २ दिन परीक्षा हुन थालेको हो। १ बजेदेखि साढे ३ बजेसम्म परीक्षा दियौँ। फिडब्याक कक्षा भने विशेष कारणले गर्दा हुन पाएन। लोकसेवाको विद्यार्थी बीचमा केजीमा जोखेर पाइने रफ कपी खुब चर्चामा छ। हामीले पनि कालिमाटीबाट २-२ केजीको दरले कापी किन्यौँ। सस्तो भए पनि कपीको गुणस्तर राम्रो थियो। कीर्तिपुर पुग्दा ६ बजिसकेको थियो। मैले बिहान झोला लाइब्रेरीमै छोडेकी थिएँ, त्यसैले म लाइब्रेरीतिरै फर्केँ। अनि साढे ७ बजेसम्म त्यही बसेर पढेँ। हिजोआज मलाई आफ्नै जाँगर देखेर अचम्म लाग्छ। रात पनि नपरिदिएझैँ लाग्छ। कहाँबाट यस्तो दौडने जाँगर आयो ममा? यो जोसिलो समयमा नै मैले मेरो तयारी दमदार बनाउनुछ।
2082-4-10: सदा झैँ आज पनि शनिबार मनाउन नेमको भवन पुगेँ। परीक्षा ११ बजेबाट थियो। हप्तादिन पढेँ पनि नतिजामा खासै सुधार आउँदैन। प्रायजसो सधैँ पास मार्क त आउँछ, तर अपेक्षित रूपमा धेरै नम्बर आउँदैन। प्रतिस्पर्धात्मक परीक्षामा पास मात्र भएर पनि त हुँदैन! मैले बढी अधिकृत तहको तयारीमा समय खर्च गरेकी हुनाले सुब्बा तहमा घोक्नुपर्ने ऐन कानुनका र संविधानका कुरा धेरै छन्। जब नजिकिएको परीक्षा सम्झन्छु तब सक्दिन कि? भन्ने संकाले छोपेर ल्याउँछ। हरेस खाउझैँ लाग्छ। अनि फेरि जब म आफू को हो? भन्ने कुरा सम्झन्छु तब फेरि मेहनत गर्न मन लाग्छ। हुन पनि हो, म त्यो गाउँबाट आएको हुँ जहाँ सरकारी सेवामा प्रवेश गर्ने व्यक्ति सायदै नहोला! अतः मैले गर्नैपर्छ। म पास भए भने भाइबहिनीहरूलाई प्रेरणा मिल्नेछ, मेरो समुदायको प्रतिनिधित्व हुनेछ, गाउँमा सम्भावनाको ढोका खुल्नेछ, अनि मुख्य गरी मलाई सरकारी सेवामा देख्ने मेरो परिवारको सपना पूरा हुनेछ। त्यसैले मैले गर्नैपर्छ, आज नसके त भोलि…!
2082-4-16: आज बिहान साढे ५ को अलाराम खै कुनबेला अफ गरेर सुतेछ, एकैचोटी साढे ६ बजे बिउँझेँ। यत्ति बेला त म सधैँ लाइब्रेरी पुगिसक्थेँ…! आज के भयो? मन भारी थियो। अल्छी मान्दै उठेँ। लाइब्रेरी जान फिटिक्कै मन थिएन, फेरि कोठामै पढ्न सक्छु भन्ने विश्वास पनि भएन। अनि अल्छी मान्दै लाइब्रेरी पुगेँ। आज ढिलो पुगेर होला, म सधैँ बस्ने ठाउँमा अर्कै विद्यार्थी बसिसकेछ। झन बिरक्त लागेर आयो। कुना छेउको पंखा नचलेको ठाउँमा गएर बसेँ। किताब पल्टाएँ, अहँ, पढ्न मन लागेन! सदाझैँ लाइब्रेरीको अवस्था सामान्य नै थियो। वातावरण उस्तै शान्त थियो, विद्यार्थीहरू पढ्नमा व्यस्त थिए, तर खै मलाई भने किन हो सबै कुरा असामान्य लागिरहेको थियो। परिचित साथीहरूले मुस्कुराउँदा पनि गिज्याएझैँ लागिरहेको थियो, पंखाको सानो आवाज पनि चिच्याएझैँ हल्ला लागिरहेको थियो, विद्यार्थीको भिडभित्र पनि एक्लो महसुस भइरहेको थियो, अनि त्यो प्यारो लाइब्रेरीको चौघेरा पनि पिँजडाझैँ निसास्सिँदो लागिरहेको थियो। मुस्किलले बिहान बित्यो। दिनभर पनि त्यत्ति जाँगर चलेन। साँझपख एमपीए चौथो सेमेस्टरको रिजल्ट आयो, राम्रै भएछ। कलेज सकेको आभासले होला, मन चङ्गा भयो। अनि बल्ल मन पुनः जोस-जाँगरले भरियो।
2082-4-20: हप्ताको २ दिन परीक्षा अनि अरू सबै दिन लाइब्रेरीमै बिताउँछु। दिनको लगभग १०-१२ घण्टा पढाइमै बिताइरहेकी छु। मैले बागमती पाँचौँको दोस्रो-तेस्रो पत्रको पुस्तक ६-७ चोटी रिभिजन गर्न भ्याइसकेँ। अनि छुट्टै नोट पनि बनाएकी छु। अहिलेको मेरो पढाइको रफ्तारलाई हेर्दा लिखित पनि पास गर्न सक्छु कि भन्ने आशा पलाइरहेको छ। लाइब्रेरीका प्रायः सबैले मेरो पढाइको निरन्तरतालाई देखेर मेरो परीक्षा प्रति खुब चासो देखाइरहेका छन्। उनीहरूको चासोले पनि “मैले गर्नै पर्छ” भन्ने मेरो अठोटमा थप हौसला दिइरहेको छ। आज पनि एउटा बहिनीले भन्दै थिई, “तपाईं कत्ति धेरै पढ्नुहुन्छ, म तपाईंको बिग फ्यान हुँ नि।” खै मनदेखि भनिन् या यसै भनिन् त्यो त थाहा भएन, तर जे होस् उनको कुराले भने दिनभर थाकेको दिमागमा फेरि ऊर्जा भने पक्कै थपिदियो। अब २ हप्ता मात्र बाँकी परीक्षा आउन। त्यसैले मैले थप रफ्तार बढाउनु छ। यो अवसर म कुनै हालतमा पनि गुमाउन चाहदिन।
2082-4-25: हिजो जनै पूर्णिमा र आज गाईजात्रा परेको हुनाले नयाँ लाइब्रेरी दुई दिन सरासर बिदा थियो। हिजो शनिबार त सेडेपमा परीक्षा दिँदै दिन बित्यो, तर आज घरमा बसेर पढाइ हुन्छ जस्तो लागेन। त्यसैले पूर्व योजना अनुसार बिहान साढे ३ बजे उठेँ। हत्तार-हत्तार तयार भएँ अनि स्कुटरसँग लागेँ २४ घण्टै खुल्ने वाला छाप्रो लाइब्रेरी। सबेरै भएर होला, रोड सुनसान थियो। कीर्तिपुरतिर चितुवाको खुब चर्चा हुने गर्छ। त्यसैले स्कुटरमै भए पनि मनमा डरले डेरा जमाइरहेको थियो। स्पिड बढाएर रफ्तारमा लाइब्रेरी पुगेँ। लाइब्रेरीमा विद्यार्थीको चहलपहल यत्ति बाक्लो थियो कि मानौँ यहाँ घण्टौँ पहिले उज्यालो भइसकेको थियो। बेन्चहरू प्रायः भरिभराउ नै थिए। साँच्चै, लोकसेवा पढ्ने विद्यार्थीलाई निद्रा लाग्दैन कि क्या हो? कि लोकसेवाले सुत्न दिदैन? सायद रातभर निद्रामा सुब्बा अफिसर हुने सपनाले तर्साउँछ क्यारे! त्यसैले त रातभर नसुती पढिबस्छन्। म पनि उनीहरुकै हुलमा पढ्न बसेँ। दिनको ११ देखि १२ बजेसम्म खाना खाने समय छुट्टाएबाहेक सबै समय पढेरै बित्यो। अतः बिहान ४ बजे देखि साँझ ७ बजेसम्मको मेरो लाइब्रेरी बसाइ धेरै नै उपलब्धिमूलक रह्यो।
2082-4-27: समय कत्ति चाँडै बितिगएछ। यसरी नपर्खिकन समय आफ्नै रफ्तारमा बित्छ भन्ने कुरा पहिल्यै हेक्का पाएको भए सायद म पनि समयकै रफ्तार हिँड्ने कोसिस गर्ने थिएँ। आज जब समयको रफ्तार थाहा भयो तब यो त धेरै अगाडि पुगिसकेछ। कास्, मनभरी आवारा रहरहरू नहुदो हो त म पनि समयसँगै धेरै टाढा पुगिसक्ने थिएँ। व्यर्थैमा रहरको पछि दौडेर अमूल्य समय यसै खेर फालेछु। समयसँगै दौडन नसके पनि समयसँगै हिँड्न सकेको भए पनि यत्तिखेर कहीँ न कहीँ त अवश्य पुग्ने थिए होला! सबै सफलताको गन्तव्य पुगिरहँदा म चाहिँ कसरी यात्रामै अल्झेँ, सायद दोबाटोमै अल्मलिएछु क्यारे! निराकार गन्तव्यको यात्रामा पश्चातापको भारी बोकेर निराशा पाइलाहरू खै कुन्नी कहाँ पुग्ने हुन् …! कास् मैले पनि अरूले जस्तै समय जिउन जानेकी भए…!
2082-4-29: हिजो बुधबार, सेडेपमा परीक्षा दिन गएँ। बागमतीको अन्तिम परीक्षा भएको हुनाले कपी चेक नभई फिर्ता भयो। अघिल्लो २ हप्ताको कपी आएको थियो। धेरै अंक आउला भन्ने आश थियो तर मात्र ३९ र ३६ मात्र आएछ। मतलब पास पनि भइनँ? यो नतिजाले गर्दा आज लाइब्रेरीमा पढ्न जाँगर चलेको थिएन। दिनभरि निराशामै बित्यो। साँझपख एउटा साथीले भन्दै थियो, “मैले लाइब्रेरीका धेरै साथीहरूको परीक्षाको कपी हेरेको छु तर सबैभन्दा तपाईंको धेरै राम्रो पाएँ, थप लेखनलाई उत्कृष्ट बनाउनु।” उसको यो सानो कुराले मलाई यत्ति हौसला दियो कि मानौँ निभ्न लागेको दियोमा कसैले तेल हालेको छ। त्यसपछिको समय जोस-जाँगरका साथ पढियो।
2082-4-30: आज बिहानभर पढ्न खुब जाँगर चल्यो। बिहान ६ बजेदेखि ११ बजेसम्म मस्तसँग पढेँ। तर दिउँसो खै किन हो, जाँगर लागेको छैन। शरीर यत्ति थकित र कमजोर महसुस भइरहेको छ कि मानौँ मलाई बिसन्चो हुन लागेको छ। अगाडि साथीहरूसँगै पढ्न बसेको भए पनि अलि त जाँगर लाग्ने थियो, तर आज मेरा सबै साथीहरू पनि आएका छैनन्। मनमा त लागिरहेको छ, किताब बन्द गरेर कहीँ बहकिन जाऊँ, तर अहँ, सक्दिन किनकि मेरो परीक्षा आउन जम्मा ५ दिन मात्र बाँकी छ। मलाई जसरी पनि पढ्नु छ, चाहे जति नै गाह्रो महसुस किन नहोस्! … लाईब्रेरीबाट फर्कने बेला ट्याङ्गलाफाँट चोक नजिकै एउटा मान्छेले मलाई खुब निहाल्यो। धेरै बेरपछि केही सम्झेझैँ गरी भन्यो, “मैले तपाईँलाई चिन्छु सायद, तपाईँ बागभैरव मन्दिर छेउ बस्नुहुन्छ हैन?” मैले त्यो मान्छेलाई पहिलोचोटि देखेको थिएँ, अनि उसको प्रश्न पनि सही थिएन। त्यसैले “हैन” भन्ने जवाफ दिँदै फटाफट अगाडि लागेँ। हुन त कीर्तिपुरका गल्लीहरूमा यसै कैयौँ पटक बरालिएकी छु। सायद उसले मलाई कहीँ त पक्कै देखेको होला…कुनै नौलो कुरै होइन। किनकि आजकाल कीर्तिपुरका सबै दोबाटोहरूले पनि यसै भन्ने गर्छन् “सायद मैले तपाईँलाई चिन्छु!”
2082-5-4: भन्दै-भन्दै परीक्षा आयो। भोलि बागमती पाँचौँको परीक्षा दिन जानका लागि हेटौडाको टिकट लिईसके। परीक्षा भनेपछि मलाई बिरामी नभई नहुने…खोकी लाग्न थालिसक्यो। जत्ति तनाव लिन्न भने पनि तनाव भइहाल्छ। झन् यो परीक्षामा त मेरो भविष्यको सवाल छ। मलाई जसरी पनि पास हुनु छ। ममाथि सबै जनाको ठूलो विश्वास पनि छ। मलाई जसरी पनि पास हुनु छ!
2082-5-5: आज बिहान ४:३० बजे बिउँझेँ। हेटौडाको गाडी चढ्न बल्खु पुग्दा सबै साथी आइसकेका थिए। हाम्रो गाडी ७ बजे हिँड्यो, अनि हामी दिउँसो ११ बजे हेटौडा पुग्यौँ। त्यसपछि हामी सिधै परीक्षा केन्द्र गयौँ। हाम्रो परीक्षा केन्द्र त्रिभुवन मा.वि., हेटौडा-११, नवलपुरमा थियो। बसपार्कबाट अटोमा १५ मिनेट लाग्दोरहेछ। परीक्षा केन्द्र वरपर होटल पाएनौँ। त्यसैले बसपार्क नै फर्कियौँ। त्यसपछि प्रत्येक होटल धाउँदै-धाउँदै बल्ल २ घण्टामा हामीले खोजेजस्तो शान्त र सहज कोठा पायौँ। प्रत्येक दिनको एकजनाको भाडा रु १५०० रहेछ। चर्को घाममा भोकै हिँडेको भएर होला! शरीर पूरै गलेको छ। आराम गर्न मन छ, तर फेरि भोलिको परीक्षाका लागि पढ्नु पनि त छ!
2082-5-6: महिनादिनको तयारीपछि बल्ल त परीक्षा दिन आएको हेटौडा, तनाव नहुने त कुरै भएन। बिहानभरि रिभिजन गरेँ। अनि ट्याम्पु चढेर परीक्षा केन्द्र पुगेँ। मन डरले भरिएको थियो। नभन्दै २ बजे प्रश्नपत्र हात पर्यो। सरसर्ती प्रश्नहरू हेरेँ, सबै प्रश्न यत्ति सजिला लाग्यो कि मलाई विश्वास नै भइरहेको थिएन। अलमल नगरीकन फटाफट उत्तर लेख्न थालेँ। धेरै सजिला प्रश्न भएका कारण निश्चित समयभन्दा बढी समय एउटै प्रश्नमा खर्च भइरहेको थियो। लेखन रफ्तारमै गइरहेको थियो बाहिर अचानक डर्के पानी पर्न थाल्यो। यसको आवाज कुनै भिडभाडको हल्लाभन्दा कम थिएन। दुर्भाग्यवश त्यही बेला बत्ती पनि निभ्यो अनि कक्षाकोठा अन्धकारमय भयो। उत्तरपुस्तिकामा आफूले कोरेका शब्द पनि हेर्न मुस्किल परिरहेको थियो। जसोतसो सबै प्रश्नको उत्तर समयमै लेखेर भ्याएँ। परीक्षा धेरै राम्रो भएकोले खुसी हुँदै साथीसँग होटल फर्केँ।
2082-5-7: हिजोको दोस्रो पत्रको परीक्षा राम्रो भएको कारण तेस्रो पत्रको तयारीका लागि जोसले आज मन भरिएको थियो। त्यसैले हामी बिहानको साढे ३ बजे नै उठ्यौँ। घरी बार्दलीमा त घरी कोठाभित्र बसेर खुब पढ्यौँ। मैले तेस्रो पत्रको ऐन-कानुनका महत्वपूर्ण प्रश्न प्रायजसो सबै पढेकी थिएँ। मैले किनेको बागमती प्रदेशको किताबको तेस्रो पत्र लगभग १३ चोटी पढेर भ्याइसकेकी थिएँ। त्यसैले तेस्रो पत्र खुबै राम्रो हुन्छ भन्नेमा म निश्चित थिएँ। उत्साहका साथ परीक्षा केन्द्र पुगेँ। तर जब प्रश्नपत्र खोलेँ तब थाहा भयो मैले पढेका प्रश्नहरू त बागमतीले हाल्नै छुट्टाएछ। खण्ड “क” त राम्रै भयो तर खण्ड “ख” का प्रश्न हल गर्न अलि गाह्रो पर्यो। जसो तसो सबै प्रश्न त गरेँ तर सोचेजस्तो उत्कृष्ट नभएकाले मन खिन्न भयो। भारी मन लिएर परीक्षा सकेकै साँझ साथीहरूसँग काठमाडौँ फर्केँ।
2082-5-14: त्रिभुवन विश्वविद्यालयको प्रशासनतर्फ अधिकृतमा परीक्षा फाराम भरेकी थिएँ। पाठ्यक्रम आधाउधि संघको अधिकृतसँग मिल्दोजुल्दो छ। त्यसैले फाराम भर्ने बित्तिकै पुस्तक पनि किनेकी थिएँ तर बीचमा बागमतीको परीक्षाका कारण पढ्न भ्याइनँ। अहिले बल्ल एक हप्ता भयो पढ्न थालेको। अबको २ हप्तापछी त परीक्षा नै छ। त्यसैले पढाइको रफ्तार बढाउँदैछु। आज शनिबार, म र साथी साढे १० बजेको टियू छैटौँको परीक्षा दिन बानेश्वरमा अवस्थित चैतन्य इन्स्टिच्युटमा पुग्यौँ। प्रवेश शुल्क रु २०० थियो। तयारी पुगेको थिएन, त्यै पनि ३ घण्टाको परीक्षामा ३ वटा कापी थपेर सबै प्रश्नहरू समाधान गरेँ। परीक्षा सकेर हामी कीर्तिपुर फर्कँदा दिनको ३ बजिसकेको थियो। सहरको कोलाहल, ढुलो, धुवा अनि खचाखच गाडी यात्रा… खुब थकान महसुस भइरहेको थियो। त्यै पनि लाइब्रेरी गयौँ। परीक्षाको सिजन भएर होला, अरु बार जस्तै विद्यार्थी भरिभराउ थियो। म पनि संविधान निकालेर पढ्न थालेँ। सधैँ शनिबार त ५ बजे लाइब्रेरी छुट्टी हुन्थ्यो तर आज ६ बज्दासम्म छुट्टी भएन। अचम्म मान्दै गार्ड बहिनीलाई सोध्दा पो थाहा भयो, २ महिना भइसक्यो, छुट्टी समय परिवर्तन भएर ५ बजेबाट ७ बजे पुगेको। हैन! हिजोजस्तो लाग्छ ५ बजे छुट्टी हुने गरेको। तर २ महिना कसरी बितिगयो? हिजोआज समयको गतिमा यसरी डुबिरहेकी छु कि दिन, हप्ता, महिना अनि वर्ष बितेको पनि हेक्कै हुन छाड्यो।
2082-5-21: आज शनिबार, लाइब्रेरी बन्द थियो। साढे ५ बजे अलार्मले बिउँझँदा घाटी दुखिरहेको थियो अनि ज्वरो पनि आइरहेको थियो। त्यसैले अलार्म मारेर सुतेँ। ८ बजे हत्तपत्त उठेँ, तयार भएँ अनि चैतन्य इन्स्टिच्युट लागेँ। जिउ बिसन्चो थियो, त्यै पनि ३ घण्टाको साप्ताहिक परीक्षा दिएँ। खासमा आराम गर्नुपर्ने अवस्थाको म परीक्षा दिन कसरी आइपुगेँ…आफै अचम्म थिएँ। परीक्षा सकेपछि अस्तिको हप्ताको जाँच गरेको उत्तरपुस्तिका हातमा पर्यो। तयारी बिना नै लेखेको भए पनि ५० अंक आएछ। त्यो कापीमा सरले लेखिदिनुभएको फिडब्याक पनि सकारात्मक नै थियो। यो देखेर म फुरुङ्ग हुँदै कोठा फर्केँ।
2082-5-23: आज सेप्टेम्बर ८ तारिखको दिन “जेन जी” समूहको देशव्यापी आन्दोलनको घोषणा थियो। यो आन्दोलनको मुख्य उद्देश्य देशको भ्रष्टाचार विरुद्ध र भर्खर सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरुद्ध थियो। बिहानको माहोल अरु दिनजस्तै शान्त थियो। म पनि ६ बजे नै पढ्न लाइब्रेरी पुगेँ। लाइब्रेरीको माहोल पनि सामान्य नै थियो। बिहानभरि राम्ररी पढियो। तर जत्ति दिन ढल्दै गयो, उत्ति सामाजिक सञ्जालभरि जेन जी आन्दोलनले छाउन थाल्यो। मैले कल्पना गरेभन्दा बढी आन्दोलनका लागि युवा पुस्ता सडकमा उत्रेका थिए। यो देखेर मलाई पनि आन्दोलनमा जाने रहर नजागेको पक्कै हैन, तर पनि २-३ दिनमा हुन लागेको परीक्षाको तयारी गर्नु थियो। लाइब्रेरीमा किताब राखेर पढ्नै बसेको भए पनि मेरो ध्यान आज आन्दोलनतिरै थियो। दिनभर ताजा समाचार हेर्दै बित्यो। बिस्तारै बिस्तारै मानवीय क्षतिको समाचारहरू देखिन थाले। हेर्दा हेर्दै मर्ने जेन जीको संख्या १९ जना पुग्यो। स्कुल ड्रेसमा झोला बोकेर आन्दोलनमा उत्रेका जेन जीहरूलाई टाउको र छातीमा धमाधम गोली हानेको देखेर लाइब्रेरीका युवाहरू पनि जोसिँदै लाइब्रेरीमै नाराबाजी लगाउन थाले। कोही रक्तदानको लागि आह्वान गर्दै थिए। अन्ततः त लाइब्रेरीको शान्त वातावरण कोलाहल बन्यो। पढ्ने माहोल नभएपछि कोठातिर फर्केँ।
2082-5-24: हिजोको “जेन जी” आन्दोलनमा १९ जना भन्दा बढी विद्यार्थी मरिसकेपछि यो यत्तिकै साम्य हुने त पक्कै थिएन। त्यै पनि म लाइब्रेरीको माहोल बुझ्न किताब बोकेर लाइब्रेरी पुगेँ। अरु दिनभन्दा धेरै कम विद्यार्थी थिए, सायद आन्दोलनतिर गएका थिए होलान्। हामी पनि पढ्न बसेका मात्र के थियौँ, त्रिभुवन विश्वविद्यालयको घण्टाघर अगाडि “जेन जी” आन्दोलन सुरु भयो। हिजोदेखिको आन्दोलनमा जाने इच्छा एक्कासी उर्लेर आयो। किताब बन्द गरेर लाग्यौँ आन्दोलनतिर। भिडभित्र पसेर नाराबाजी गर्यौँ। आन्दोलनका अघिल्तिर निराश हामीहरू नै थियौँ, जो देशमा केही गरौँला भनेर वर्षौंदेखि मेहनत गरिरहँदा पनि असफलताको चाङमा थिचिएका थियौँ अनि देशको भ्रष्टाचार, दण्डहीनता, विसंगति, कुशासन, अस्थिरतादेखि विरक्तिएका थियौँ। “देशमा सुशासन” का लागि आवाज उठाइरहँदा खुब सन्तोष मिल्यो। पहिलोचोटि म आन्दोलनमा यसरी होमिँदा आफैमा गर्व महसुस गरिरहेकी थिएँ। टियु भरि नाराबाजी लगाएपछि भिड कीर्तिपुर नयाँबजारतिर लाग्यो अनि म कोठातिर लागेँ। कोठामा पुगेर समाचार हेर्दा पो थाहा भयो, देशभरको जेन जी युवा मात्र हैन, बालबालिका, युवा, वृद्धवृद्धा, सबै उमेर समूहको जनमानस सडकमा उर्लेको रहेछ। हेर्दा हेर्दै कीर्तिपुरको नगरपालिका, प्रहरी कार्यालय सबै जल्यो। अरु ठाउँका सार्वजनिक कार्यालय, पार्टी कार्यालय, सार्वजनिक स्थल सबै तोडफोड हुँदै गयो। आन्दोलनले यत्ति चाँडै उग्र रूप लियो कि एकपछि अर्को गर्दै प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री सबैको घर धमाधम जले। यत्ति हुँदा हुँदै पनि प्रधानमन्त्रीको राजीनामा आएन। भीड अझ उग्र बन्यो अनि जल्यो देशका ठूला ठूला प्रशासनिक कार्यालयहरू: संसद भवन, सर्वोच्च अदालत अनि सिंहदरबार! जुन देशको अस्तित्वका लागि नजल्नुपर्ने थियो। अन्ततः त सरकार हार्यो, प्रधानमन्त्रीले राजीनामा दिए अनि “जेन जी” को जित भयो। तर पनि आन्दोलन साम्य भएको छैन, आगजनी जारी नै छ। हुँदै हुँदै आन्दोलनको नाममा सबै जेल फोडी कैदीहरू मुक्त भएका छन्, जताततै चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, लुटपाटका समाचार सुनिन थालिएको छ, जुन हिंसाको पराकाष्ठा हो। यसलाई चाँडै रोक्न जरुरी छ! यो २ दिनको आन्दोलनको दर्दनाक दृश्य मेरो जीवनको पहिलो भोगाइ हो, त्यसैले मन अलि आत्तिएको छ। तत्कालको लागि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने घोषणा गरेको छ। आशा गरौँ अबको नयाँ नेपाल साँच्चिकै सुन्दर, असल, आत्मनिर्भर, सुशासनयुक्त अनि भ्रष्टाचारमुक्क्त हुनेछ।
2082-5-27: नेपाल अहिले सरकारविहीन छ। नेपाली सेनाले देशलाई सम्हालेको छ। निषेधाज्ञा र कर्फ्यू लागेको आज ४ दिन भयो। विद्यालय, सार्वजनिक यातायात, बजार, सबै बन्द छन्। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने आदेश छ। मेरो दैनिकी कोठाको चौघेराभित्रै बितिरहेको छ। केही दिनअघिसम्म दैनिकीहरू आफ्नै रफ्तारमा बितिरहेका थिए। धेरै सालको मेहनतपछि बल्ल केही प्रगति होला कि भन्ने आशा पलाउँदै थियो, तर अचानक “जेन जी” आन्दोलनले देशकै अवस्था नै फेरिदियो। देश संकटमा भइरहँदा “लोकसेवा अब के हुन्छ? नयाँ परीक्षाको विज्ञापन हुन्छ कि हुँदैन? परीक्षा दिइसकेको विज्ञापनको नतिजा आउँछ कि आउँदैन?” भन्ने कुरामा म अनविज्ञ नै छु। त्यसैले पढ्ने जाँगर ओइलिएको छ। यतिबेला देश शोकमा डुबेको छ। अन्तरिम सरकारको गठन अझै हुन सकेको छैन। प्रधानमन्त्री को बन्ने भन्ने कुरामा विवाद चुलिएको छ। गल्ली-गल्लीमा देशकै चिन्ता बढेको छ। देशमा सत्ता परिवर्तन जरुरी नै थियो, तर देशका सबै सार्वजनिक सम्पत्ति भने जोगिन पर्थ्यो! दुर्भाग्यवश सबै जले। यसै त ऋणको भारले थिचिएको हामी कसरी देश पुनर्निर्माण गर्न सकौँला? देशले नयाँ नेतृत्व कस्तो पाउने हो? देशमा स्थिर सरकार बन्ला त? भ्रष्टाचार साँच्चिकै हट्ला र? देशमै युवाको भविष्य सुनिश्चित होला त? नेपालीले सुशासनको अनुभूति गर्ने दिन आउला र? हिजोआज यस्तै प्रश्नले रातभर अनिदो बनाइरहन्छ! आज बल्ल बुझ्दैछु, भविष्यको चिन्ताभन्दा त देशको चिन्ता पो खुब भारी हुने रहेछ!
2082-5-31: देशको अवस्था सामान्य भएपछि टियू लाइब्रेरी फेरि खुला भएको छ। हुन लागेको आयोगका परीक्षाहरू रोकिएको भएर होला, लाइब्रेरी आउने विद्यार्थीको संख्या धेरै कम भएछ। हप्तादिनपछि लाइब्रेरी पुग्दा खुब मन रमाएको थियो। थाहा छैन यत्ति बिघ्न लाइब्रेरी जान किन मन पर्छ मलाई? सायद लाइब्रेरीका सबै स्टाफहरूको व्यवहार राम्रो भएर पो होला कि? कि पूर्व-पश्चिम सबैतिरका साथीहरूसँग भेट हुने भएर हो कि? कि शान्त पढ्ने माहोल भएर हो? जे होस्, मेरो लोकसेवा तयारीलाई मजबुत बनाउनमा लाइब्रेरीकै ठूलो हात छ। लाइब्रेरीप्रति म सधैँ कृतज्ञता रहनेछु।
2082-6-4: सन्चो नभएर लाइब्रेरी जान छोडेको पनि हप्ता दिन पुग्न लागेछ। आज शनिबार, सन्चो नभएको कारण कुनै परीक्षा दिने योजना थिएन। बिहान बिउँझँदा पनि लहरे खोकी चलिरहेकै थियो। घरमा आराम गरेर मात्र त कहिल्यै सन्चो होला जस्तो लागेन, त्यसैले भाइबरमा चैतन्य इन्स्टिच्युटको ग्रुप म्यासेज हेरेँ। आज त्रि.वि. सेवाको परीक्षा थिएन। तर खाद्य संस्थान छैटौँको प्रथम पत्रको परीक्षा रहेछ। यसमा फाराम त भरेकी छु तर त्रि.वि. सेवाको तयारीका कारण खाद्यको पढ्न भ्याएकी छैन। हत्तार–हत्तार पाठ्यक्रम हेरेँ, संघीय अधिकृतसँग मिल्दोजुल्दो रहेछ। त्यसैले केही नसोची साथीसँग खाद्य संस्थानको परीक्षा दिन चैतन्य पुग्यौँ। उत्तर आउने नआउने, सजिलो गाह्रो सबै प्रश्न हल गरेँ। फर्कने बेला अस्तिको हप्ताको उत्तरपुस्तिका लिएँ। त्यही काउन्टरमै बसेर हत्तपत्त अंक जोडेँ, ५७ आएको रहेछ। आजसम्म दिएको परीक्षा मध्ये सबैभन्दा बढी अंक थियो यो। खुसी नहुने त कुरै भएन। उत्साहित हुँदै मेरो अंक साथीलाई सुनाएँ। साह्रै ठूलो स्वरमा सुनाएँछु क्यारे! आफ्नै काममा व्यस्त एउटा सरले पनि मेरो कपी हेर्न माग्नुभयो। मेरो लेखाइलाई जाँच गरेर उहाँले पनि भन्दै हुनुहुन्थ्यो, “एक लेभलको तयारी त पुगिसकेछ तपाईंको, अझ थप मेहनत गर्नु, कहीँ न कहीँ त पोस्टिङ भइहाल्छ।” उहाँको यो सकारात्मक प्रतिक्रिया सुनेर मलाई थप खुसी र उत्प्रेरणा मिल्यो। समग्रमा आजको दिन उपलब्धिमूलक नै रह्यो।
2082-6-11: दशैँ मनाउन विद्यार्थीहरू गाउँ फर्किने क्रम बढ्दो छ। यद्यपि लाइब्रेरीमा पढ्न आउने विद्यार्थीको संख्या कत्ति पनि घटेको छैन। प्रायजसो साथीहरू दशैँमा घर नजाने योजना सुनाउँछन्। आज लाइब्रेरीमा “किन घर नजाने?” भन्ने मेरो प्रश्नमा एउटा साथीले भन्दैथिई, “हेर्नु मिस, अघिल्लो साल दशैँमा घर जाँदा आफन्त सबैले “लोकसेवा पास भइसक्यो?” कि “कहिले पास हुन्छ?” भन्ने प्रश्न सोधेर हैरान बनाए। त्यसैले दशैँबाट काठमाडौँ फर्किँदा अर्को साल जसरी पनि कि लोकसेवा पास गर्छु, कि विदेश जान्छु, कि विवाह गर्छु! अनि मात्र गाउँ फर्किन्छु भनेर प्रतिज्ञा गरेकी थिएँ। तर हेर्नु मिस, केही गर्न सकिएन! अवस्था उस्तै छ। त्यसैले यो साल दशैँ मनाउन गाउँ नै गइनँ। बरु दशैँभरि लाइब्रेरी नै आएर पढ्छु।”यो उसको आफ्नो व्यक्तिगत विचार थियो। तर मलाई पनि घर जान मन नलाग्नुको प्रमुख कारण यही नै हो!
2082-6-25: अघिल्लो हप्ता दशैँ मनाउँदै बित्यो। किताब त साथमा नै थियो तर वर्ष दिनमा घर पुगेको म पढ्न जाँगर चलेन। परिवार, आफन्तसँग रमाइलो गरेरै बित्यो। ३ दिन भयो, लाइब्रेरी जान थालेको। बल्ल पढाइले रफ्तार समातेको छ। आज शनिबार, म बिउँझँदा ६ बजिसकेको थियो। एकैछिन रिभिजन गरेँ अनि टियू छैटौँको परीक्षा दिन चैतन्य इन्स्टिच्युटतिर लागेँ। परीक्षा ३ घण्टाको थियो। हप्ता दिन नपढेको भएर होला, आजको प्रश्नपत्र गाह्रो लाग्यो। जानेको उत्तर लेख्न पनि हातले अप्ठ्यारो मानिरहेको थियो। जसो तसो ३ घण्टाको समयमा सबै प्रश्न हल गरेँ।
2082-7-4: दशैँपछि बल्ल त पढाइले गति समातेको थियो, फेरि तिहार सुरु भइहाल्यो। नयाँ लाइब्रेरीमा तिहारको छुट्टी छ। तर परीक्षाले चाडपर्व भन्दैन क्यारे! त्रि.वि. सेवाको अफिसरको परीक्षा यही कार्तिक महिनाको अन्तिम हप्तातिर छ र मंसिरको १-२ गते नै खाद्य संस्थान छैटौँको परीक्षा पनि छ। त्यसैले म सकभर भ्याएसम्म झोला भरि किताब बोकेर छाप्रोको लाइब्रेरीतिरै धाइरहेकी छु। त्यहाँको माहोल उस्तै शान्त छ। सहर बजार बत्ती र फूलमालाले झिलिमिलि भइरहँदा पनि लाइब्रेरी भने उसैगरी पढाइमै व्यस्त छ। मलाई पनि यो साल पर्वको कुनै उत्साह छैन। उत्साह छ त केवल जीतको उत्सव मनाउन।
2082-7-13: काठमाडौँको जाडो ह्वात्तै बढेको छ। त्यसैले लाइब्रेरीमा समय बिताउन धौधौ परिरहेको छ। जसो तसो २, ३ वटा ज्याकेट लगाएर भए पनि लाइब्रेरी नै धाइरहेकी छु। खै किन हो, लाइब्रेरीमा जस्तो घरमा मेरो पढाइ हुँदै हुँदैन। आजदेखि क्याबिनतिर बस्न थालेकी छु किनकि उतातिर धेरै न्यानो हुन्छ। दिनभर वर्षायामझैँ दर्के पानी परिरहेकै थियो। तातो पानीको सहारामा म बिहानको ६ बजेदेखि रातीको ६ बजेसम्म लाइब्रेरीमै बिताएँ। उताको समय मेरो लागि खुब उपलब्धिमूलक रहन्छ। रातीको समय मैले आफ्नो थेसिसको लागि छुट्टाएकी छु। तर दिनभरको पढाइले थाकेर होला, गर्नै सकेको छैन। कोशी प्रदेशको सातौँ तहको नयाँ पदपूर्तिका लागि विज्ञापन पनि खुलिसकेको छ। तर अघिल्लो सालको हाम्रो परीक्षाको नतिजा नै आएको छैन। त्यसमा नाम आउँछ नै भन्नेमा म विश्वस्त त पक्कै छैन, तर पनि परीक्षा दिएपछि जत्ति नै बिग्रेको भए नि आश हुँदो रहेछ। नयाँ विज्ञापनको फाराम बुझाउने मिति सकिन लाग्दा पनि नतिजा नआएपछि फेरि आवेदन दिएँ। कहिँ सिफारिस नभएसम्म यो चक्र त चलिनैरहन्छ हैन र?
2082-7-15: आज शनिबार, बिहान बिउँझँदा पानी परिरहेको थियो। मौसम चिसो भएको कारण ब्लाङ्केट हटाएर ओछ्यानबाट उठ्न मन त लागेको थिएन, तर पनि नजिकिएको परीक्षाले सुतिरहन पनि दिएन। अरूबेला सँगै जाने साथी आज काम विशेषले जान भ्याएन। एक्लै अलि अल्छी मान्दै स्कुटर चढेर त्रि.वि. छैटौँको साप्ताहिक परीक्षा दिन चैतन्य इन्स्टिच्युट पुगेँ। पानी परेको भएर होला, अरू दिनभन्दा परीक्षा दिने विद्यार्थी धेरै कम थिए। हामी त्रि.वि.को परीक्षा दिने जम्मा ५ जना थियौँ। ३ घण्टाको परीक्षा दिएर फर्कने बेला अघिल्लो २ हप्ताको उत्तरपुस्तिका लिएँ। तेस्रो पत्रमा ४३ आएछ अनि दोस्रो पत्रमा ५२ आएछ। पास मार्क आएको देखेर मख्ख पर्दै घर फर्केँ।
2082-7-17: आज ५ बजे मेरो मोबाइलमा बजेको अलार्मसँगै बिउँझेँ। हत्तार-हत्तार तयार भएर साथीसँग लाइब्रेरी पुगेँ। लाइब्रेरी पुग्ने हामी नै पहिलो थियौँ। त्यसैले क्याबिनतिरको सबैभन्दा उज्यालो सिट छानेर बसेँ। परीक्षा नजिकिएको भएर होला, आज पढ्न खुब जाँगर लागेको थियो। सकेसम्म रफ्तारमा रिभिजन गरेँ। दिनमा ३ घण्टा खाना पकाउने-खाने समय बाहेक बाँकी समय राति ६ बजेसम्म पढाइ रफ्तारमै गयो। लगातार लाइब्रेरी जाने भएर होला, बढी जसो सबै विद्यार्थी साथीहरूसँग चिनजान भइसकेको छ। त्यसैले पनि होला, सुरूसुरूमा भन्दा अहिले लाइब्रेरीमा पढ्न खुब जाँगर चल्छ। जत्ति पढे नि पढिरहूँजस्तो। सायद, मलाई लाइब्रेरीले मोहनी लगायो! कि लोकसेवाले पो हो कि..?
2082-7-26: लगातार ३ दिनको तनावपछि आज बल्ल त्रि.वि. छैटौँ तहको परीक्षा सकियो। मेरो परीक्षा केन्द्र नेशनल कलेज अफ इन्जिनियरिङ, ललितपुरमा थियो। तीन वटै पत्रको परीक्षा एकैचोटि भएर होला, सायद आधाजत्ति विद्यार्थी परीक्षामा अनुपस्थित थिए। उपस्थित परीक्षार्थीमध्ये पनि प्रायजसो त्रि.वि. सेवाका विभिन्न पदमा कार्यरत सर-मिसहरू नै हुनुहुन्थ्यो। उहाँहरूसँगको प्रतिस्पर्धा सम्भवतः चुनौतीपूर्ण नै छ। करिब १ महिना जत्ति मात्र यो परीक्षाका लागि पढ्न भ्याएको भएर होला, खुब डर लागेको थियो। फेरि प्रथम पत्रमै गाह्रो प्रश्न सोधिएको भएर म झन् निराश भएकी थिएँ। तर दोस्रो र तेस्रो पत्रका प्रश्न, सोचेकोभन्दा सजिला नै थिए। प्राय सबै प्रश्न राम्रै गरेँ। समग्रमा यो परीक्षा राम्रै भयो। लगातार ३ दिनको अनिदो पढाइले होला, खुब थकित महसुस भइरहेको छ। मस्तले आराम गर्ने मन त छ…तर फेरि ४ दिनपछि खाद्य संस्थानको परीक्षा छ। जत्तिसक्दो यसमा पनि तयारी पुर्याउनु नै छ।
2082-8-2: ४ दिन पढेर दिएको खाद्य संस्थानको परीक्षा, राम्रो हुने आशा त थिएन। त्यै पनि परीक्षामा सामेल भने भएँ। मेरो परीक्षा केन्द्र कोटेश्वरमा थियो। पहिलो पत्रको परीक्षा उत्कृष्ट नै भयो। तर दोस्रो पत्रमा ऐन–कानुनका प्रश्नहरू धेरै थिए। उसै त गाह्रो प्रश्नपत्र, त्यसमा पनि परीक्षा कोठाको छेउमा भइरहेको सडक मर्मतको कामको हल्लाले तीन घण्टाको समय काट्न मुस्किल पर्यो। जसोतसो सबै प्रश्न हल गरेँ, तर सोचेजस्तो राम्रो भने गर्न सकिएन। अब भोलिदेखि कोशी सातौँको तयारीमा लाग्नुपर्छ।
2082-8-3: नाम निकालेपछि, नाम निकाल्नका लागि वर्षौँ गरेको मेहनत चट्टै बिर्सिन्छ सायद। त्यसैले त “१ महिना तयारीमै ९ ठाउँमा सिफारिस!” भन्ने समाचारहरू छापिन्छन्। जब कि १ महिनामा त पाठ्यक्रम बुझ्नै समय लाग्छ। यस्तो समाचारहरूले परीक्षा तयारी गर्नेहरूलाई हतोत्साहित भने पक्कै गर्छ। हिजो गफ गर्ने क्रममा प्रदेशको नायब सुब्बामा नाम निकालेको दिदीले भन्दै हुनुहुन्थ्यो रे!, “लोकसेवा पास हुनलाई त भाग्य चाहिन्छ, मैले त तयारी बिना नै परीक्षा दिन गएको थिएँ, भरै प्रश्न मैले जानेको जानेको नै सोध्यो। त्यसैले पास भएँ।” उहाँको कुरा विश्वास गरेर मेरा बाबा-आमाले मेरो लागि ज्योतिष कहाँ जानुभएको थियो रे! तर लोकसेवाको क्षेत्रमा मेरो भाग्य देखिएन रे! त्यसैले फोन कलमा बाबाले भन्दै हुनुहुन्थ्यो “लोकसेवा पास हुनलाई त भाग्य हुनुपर्छ रे, तर ज्योतिषलाई देखाउँदा तेरो लोकसेवाप्रति अलि जुरेको छैन रे! यत्रो मेहनत गरिराछस्, हुने भए त अहिलेसम्म पास भइसक्नुपर्ने हो! हुन्न होला तेरो! बरु लोकसेवा बाहेक अर्कै विकल्प पो सोच्ने हो कि?” उहाँको सुझावमा म शब्दविहीन मुस्कुराइदिएँ मात्र। कास त्यो दिदीले, लोकसेवामा नाम निकाल्न भाग्य हैन, कडा मेहनत चाहिन्छ भनेर भन्नुभएको भए…!
2082-8-8: टियू क्रिकेट ग्राउन्डमा १ हप्तादेखि एनपीएल क्रिकेट खेल भइरहेको छ। लाइब्रेरी र क्रिकेट ग्राउन्डको दूरी जम्मा ५ मिनेटको मात्र छ। विद्यार्थीका लागि टिकटमा पनि विशेष छुटको व्यवस्था रहेको छ। त्यसैले प्रायजसो विद्यार्थी खेल हेर्न गएको भएर अरू दिनभन्दा आज लाइब्रेरी अलि खाली छ। मलाई पनि साथीहरूले एनपीएल हेर्न जाऔँ भन्दै थिए, तर मलाई क्रिकेटको खासै रुचि नभएको कारण क्रिकेट ग्राउन्डको सट्टा लाइब्रेरीमा आएकी छु। बाहिर घाम लागेपनि लाइब्रेरीभित्र चिसो नै छ। म तातोपानीको सहारामा ल्यापटपमा थेसिस लेख्दैछु। तर घरीघरी इन्टरनेट नचलेर मलाई हैरान बनाइरहेको छ। अर्को महिना कोशी सातौँको परीक्षा छ। लोकसेवासँगै थेसिस पनि सक्नुपर्छ भन्ने हिसाबले मैले यो एक हप्ताको समय थेसिसलाई छुट्टाएकी छु। अतः टियू ग्राउन्डमा भइरहेको क्रिकेटले मलाई भने छुन सकेको छैन।
2082-8-12: पहिल्यै सक्नु पर्ने मेरो मास्टर डिग्रीको थेसिस, लोकसेवाको लगातार परीक्षाहरूले गर्न फुर्सदै भएन। यो परीक्षा सकेपछि गर्छु… त्यो परीक्षा सकेपछि गर्छु…! तर अह, मेरो लोकसेवाको परीक्षा कहिल्यै सकेनन्। त्यसैले अब यो महिनालाई थेसिसलाई सुम्पिनु पर्ला। हुन त कोशी सातौँको परीक्षा यही आउँदो महिना नै छ। तर खै किन हो, थेसिस नै गरेर चाँडै सकाउन मन छ। आज मेरो सुपरभाइजर मुकेस सरसँग पनि भेटेँ। मैले लेखेको कोइस्चनेयर र लिटेरेचर रिभ्यु हेरेर सकारात्मक प्रतिक्रियाका साथमा सुधारका सुझावहरू पनि दिनुभयो। साथै अरू थेसिस गर्ने साथीहरूसँग भेटेपछि थेसिस गर्ने जोस अझ बढेको छ। अब थेसिस नै सकाउँछु सुरुमा।
2082-8-13: आज शनिबार, बाहिर टन्टलापुर घाम लागेको छ। म हत्तारिँदै थेसिस गर्न लाइब्रेरी त पुगेँ तर अह, कत्ति पनि पढ्न जाँगर चलेको छैन। एक मनले त लागेको पनि थियो, घरमै बसेर आराम गरौँ, तर फेरि मन मानेन। सोचेँ, लाइब्रेरी पुगेपछि त पढ्न जाँगर चल्ला तर अह! आज पढ्ने उत्प्रेरणा कत्ति पनि छैन…! फेरि नपढ्नुको विकल्प पनि त छैन…! उफ…!!!!!!!!!
2082-9-6: हिजोआजका दिनहरू फेरि उराठलाग्दा भएका छन्। सबै कुरा भएर पनि केही अभाव भएझैँ… सपनाको चक्रव्यूहभित्र कतै अल्झिएझैँ… म आफू पनि स्वयं आफू नभएझैँ… समय पनि कुनै भ्रमझैँ… अनि त्यो भ्रममा अल्झिएको मेरो अस्तित्व पनि कुनै भ्रमझैँ…! अ साच्चि मैले कल्पेको दुनिया भ्रम हो या बाँचेको दुनिया? निशब्द… निरर्थ… निराकार…!
2082-9-8: समयसँगै मान्छे… मात्र आफूसँग नजिक हुँदै जाने रहेछ। हेर न, आज मलाई पराइको साथको मोह कत्ति पनि छैन। नयाँ सम्बन्ध गाँस्नमा पनि कुनै रहर छैन अनि भइरहेको सम्बन्ध जोगाउन पनि जरूरी लाग्दैन। हिजोआज दिनहरू प्रायः मौनतामै बित्छन्। तर यो मौनता पहिले जस्तो उराठलाग्दो छैन। म जत्ति मौन हुन्छु, उत्ति आफूलाई पाउँछु। आज बल्ल महसुस गर्दैछु, एक्लोपनमा पनि छुट्टै आनन्द हुने रहेछ। अनि आफ्नै छायाको साथ पनि त पर्याप्त हुने रहेछ।
2082-8-20: आज शनिबार, म बिउँझँदा ७ बजिसकेको थियो… ५ बजेको अलार्म कुनबेला अफ पारेछु, पत्तै भएन। एकैछिन पढेँ अनि खाना पकाएँ। तयार भएर १० बजे लाइब्रेरी पुगेँ। आज अरू दिनभन्दा विद्यार्थीको संख्या कम थियो, सायद क्रिकेट हेर्न गएका होलान्। सदाझैँ क्याबिनमा चिसो थियो, त्यसैले किताब च्यापेर साथीहरूसँग बाहिर चौरमा निस्कियौँ। मौसम खुलेको थियो। त्यसैले लाइब्रेरीको भर्याङ्ग चढेर छतमा पुग्यौँ। त्यहाँबाट त्रिभुवन विश्वविद्यालयको घण्टाघर भवन सहित कीर्तिपुर बजार एकदम सुन्दर देखिएको थियो। हामी चौरमा २ घण्टा पढेर लाइब्रेरी फर्क्यौँ। त्यसपछि साँझ ७ बजेसम्म मैले थेसिसमा काम गरेँ।
2082-8-23: काश्, म लोकसेवातिर नलागेको भए सायद हातमा केही न केही जागिर हुन्थ्यो… आत्मनिर्भर हुने थिएँ… म, म हुनुको सार्थकता पाउने थिएँ… अनि जीवन सामान्य हुन्थ्यो। २ वर्ष भइसक्यो, रातदिन नभनी मेरो सबै समय लोकसेवालाई नै सुम्पेको छु तर अह! नतिजा उस्तै शून्य छ। एकतर्फ लोकसेवाको फ्रस्टेसन र अर्कोतर्फ उमेरसँगै बढ्दै गएको जिम्मेवारीको महसुस…! कुनै समय मैले परिवारमा मास्टर्स सकुन्जेल मात्र फूलटाइम लोकसेवा गर्ने, त्यतिन्जेलसम्म पनि नाम ननिस्के जुनसुकै अरू जागिर गर्छु भन्ने वाचा गरेको थिएँ। नभन्दै मास्टर्स पनि सकिसक्यो तर लोकसेवा पार लागेन…! अब यत्ति सम्म आइसकेपछि म लोकसेवालाई चटक्कै छाड्न पनि सक्दिनँ…! जागिर गर्दै गर्छु भन्दा पनि लोकसेवालाई समय निकाल्न गाह्रो पर्ला भन्ने डर! के गर्ने होला…!!!! काश्, मैले लोकसेवाको सपना नै नदेखेको भए…!
2082-8-26: २, ३ हप्ता भइसक्यो थेसिस गर्न थालेको, तर अह! लिटरेचर रिभ्यु पनि भ्याएकी छैन। कोशी सातौँको परीक्षा त छुट्ने नै भयो तर संघको अधिकृत राम्रो गर्नुछ। त्यसैले थेसिसलाई चाँडोभन्दा चाँडो भ्याउने योजनामा छु। आज पनि सुपरभाइजर सरलाई भेट्न कलेज गएकी थिएँ। अझै धेरै सुधार्ने सुझाव दिनुभयो उहाँले।
2082-9-2: यो हप्ताको समय मैले थेसिसको डाटा कलेक्सनका लागि छुट्टाएकी थिएँ। पूर्वनिर्धारित योजना अनुसार नै आज ४ दिनमा मैले डाटा कलेक्ट गरेर सकेँ। यो अवधिमा मैले १७० कोईसनेयर भराएँ अनि १० जनालाई इन्टरभ्यु पनि लिएँ। पक्कै पनि यी दिनहरू सहज थिएनन्। बिहानै कलेज पुग्थेँ, अनि दिनभर परीक्षा दिन आएका विद्यार्थी प्रत्येकलाई कोईसनेयर भर्न आग्रह गर्थेँ। परीक्षाको चटारोमा भएकालाई सर्भे गर्न चुनौतीपूर्ण नै थियो, किनकि परीक्षाको तनावको बेला जो कोही फाल्तु कुरामा झर्को मान्नु स्वाभाविक नै हो। सर्भे गर्ने क्रममा सहयोगी हातहरू पनि चिनिए, खोक्रो मित्रता पनि देखियो। सहयोग गर्छन् भन्ने विश्वस्त पात्रहरूले सहयोग गर्नु त परको कुरा, अझ उल्टै हतोत्साहित गर्न मात्र तम्सिए। बरु सहयोगको आशा नगरेका पात्रहरूबाट बढी सहयोग प्राप्त भयो। यो ४ दिन धेरै गाह्रो समय भएता पनि यसले मलाई धेरै कुरा सिकायो… अरू मान्छेलाई कन्भिन्स गर्न सिकायो… इन्टरभ्यु लिन सिकायो। यसले ममा आत्मविश्वास बढाएको छ। आखिरमा मान्छेलाई सिकाउने त अप्ठ्यारो परिस्थितिले नै रहेछ।
2082-9-6: डाटा कलेक्सन सकेर डाटा एनालाइसिस र डाटा इन्टरप्रिटेसनमा काम गरिरहेकी छु। मैले सोचेभन्दा पनि रफ्तारमा थेसिसको काम भइरहेको छ। अबको २ हप्ताभित्र जसरी पनि थेसिस सकाउने योजना छ। थेसिस सकेपछि मलाई संघ अफिसरको तयारीमा जुट्नु छ। पुसको चिसोमा पनि लाइब्रेरी नियमित रूपमा नै गइरहेकी छु। आज साँझ ६ बजे म लाइब्रेरी पुग्दा विद्यार्थीको लामो लाइन थियो। म सधैँ बस्ने सिट प्याक हुने पक्का थियो। तर दाइहरूले मेरै लागि सिट छाडिदिनुभयो। म मख्ख पर्दै थेसिसको काममा दिनभर व्यस्त भएँ।
2082-9-7: पुसको महिना सुरु भएसँगै काठमाडौँमा जाडो व्वात्तै बढेको छ। चिसो मौसम भए पनि मलाई लाइब्रेरी नै पुगिहाल्नुपर्ने बानी…! आज पनि हत्तारिँदै साढे ५ बजे लाइब्रेरी पुगेँ, ढोकैनेर विद्यार्थीको लामो लाइन थियो। म पनि लाइनमा मिसिएँ। विहानीपखको माहोल अक्सर आनन्ददायी नै हुन्छ, तर चिसो सिरेटोले जति न्यानो लुगा लगाए पनि मुटुलाई चिसाइरहन्छ। बल्ल ६ बजे लाइब्रेरी खुल्यो। लाइनमा पछाडि भएको कारण म सधैँ बस्ने सिट पाउँदिन भन्नेमा म ढुक्क थिएँ। फेरि अरू ठाउँमा बसे भने नेट पनि त चल्दैन! अनि कसरी थेसिस लेख्नु? भन्ने कुरा नै सोच्दै थिएँ। त्यो सिटमा चिनेकै दाइ बस्नुभएछ। सिट साट्न रिक्वेस्ट गर्दा सहजै मान्नुभयो। म सदाकै क्याबिनको सिटमा बसेर दिनभर थेसिसमा काम गरेँ।
2082-9-9: आज अरू दिनभन्दा गह्रौँ थियो दिन…! कत्ति पटक त क्याबिनको चौघेराबाट भागेर यसै बरालिन जाउ जस्तो पनि लाग्यो, तर पनि थेसिस सकाउने जिद्दीमा ल्याप्टपमै घोरिरहेँ। आँखा पनि एकोहोरो ल्याप्टपमा हेरेको भएर होला, अलि हेर्न असहज भइरहेको थियो। तर मेरो जबरजस्तीको अगाडि कसको के लाग्ने…! दिनभर थेसिसको काममै व्यस्त भएर होला, एकदम थकान महसुस भइरहेको छ। रातिको खाना खाएपछि संघको अधिकृत र कोशी प्रदेशको नायब सुब्बाको विज्ञापनमा आवेदन दिएँ। थेसिसको कामले गर्दा कोशी सातौँको परीक्षा त छुट्यो नै अब आज भरेको विज्ञापनमा भने दमदार तयारी गर्नुछ।
2082-9-17: खै के भएको हो, मैले दिएको लोकसेवाको परीक्षाको नतिजा प्रकाशन किन ढिलो भइरहेको छ? ३ वटा परीक्षाको लिखित नतिजा आउन बाँकी नै छ। नतिजा चाँडै प्रकाशन भए पनि त केही विकल्प त आउँथ्यो होला नि…! लगभग २ महिना लगाएर मैले थेसिस सकेँ। कलेज सकेपछि झन् भविष्यको तनाव बढेको छ। मास्टर्स डिग्री पढ्दासम्म पनि बेरोजगार रहनु…राम्रो कुरा पक्कै हैन! यै लोकसेवा भनेर बसेको पनि २ वर्ष बढी भइसक्यो, अझै पास हुने छाँटकाँट छैन। कति वर्ष पर्खने?? मास्टर्स डिग्रीका डकुमेन्टहरू आएपछि सानो-तिनो जागिर खोज्नुपर्ला…!!
2082-9-18: लाइब्रेरीको समय पहिले जस्तो रंगिन लाग्दैन। लाइब्रेरीमा जत्ति वर्षहरू बित्दै गइरहेका छन्, उत्तिनै यता आउने जोस हराउँदै गइरहेको छ। सुरु-सुरुमा जस्तो नयाँ मित्रता गाँस्ने रहर पनि लाग्दैन। परिचितहरूसँग पनि नभेटिए हुन्थ्यो झैँ लाग्छ। कसैसँग कुरा गर्ने जाँगर पनि लाग्दैन। खाली विगतमा खेर फालेको समयको पश्चाताप अनि भविष्य कता टुंगो लगाउने भन्ने चिन्ताले मात्र सताइरहन्छ। जे गरेर भए पनि जागिर खानुपर्ने बाध्यता बढेको छ। मनभित्रको चिन्ताको ताप धेरै भएर होला, पुसको चिसोले पनि मलाई छुन सकेको छैन। प्रायजसो सधैँ बिहानको साढे ५ बजे झोला बोकेर लाइब्रेरी आउँछु। कुनाको क्याबिनमा दिनभर घरी किताबमा त घरी ल्यापटपमा घोरिरहन्छु। १० बजेदेखि १ बजेसम्मको समयमा खाना पकाएर खाएर लाइब्रेरी फेरि पुग्छु। दिनभर क्याबिनको बसाइपछि साँझको ७ बजेतिर कोठा फर्कन्छु। यही रूटिनकै आसपासमा आजभोलि मेरा दिनहरू बितिरहेका छन्। आजकाल साथीहरूसँगको रमझमभन्दा त क्याबिनको सानो चौघेरा र कीर्तिपुरका मौन गल्लीहरू मेरा लागि प्रिय हुन थालेका छन्।
2082-9-26: करिब २ महिना लगाएर मेरो थेसिस सकाएँ। हिजो कलेजमा डिफेन्सका लागि थेसिस बुझाएर आएँ। अबको समय भनेको पूर्णतया लोकसेवाका लागि मात्र हो। भर्खर संघ अधिकृतको पढ्न सुरु गरेँ। जहाँसम्म मलाई लाग्छ, यो १ महिनाको समय अधिकृतको प्रथम पत्रका लागि पर्याप्त हुनेछ। पहिलो पत्रसँगसँगै मैले लिखित पत्रको तयारी पनि थालेकी छु। लाइब्रेरीमा एक जना दिदीसँग दैनिक रूपमा एउटा-एउटा एकाइ छलफल गर्न थालेका छौँ र यो धेरै उपलब्धिमूलक पनि भइरहेको छ। आज शनिबार, परीक्षा दिने दिन। थेसिस गर्न थालेदेखि इन्स्टिच्युटमा परीक्षा दिन गएकी थिइनँ। पढ्न पनि राम्ररी भ्याएको छैन। त्यै पनि म ९ बजे सेडेप इन्स्टिच्युटमा पुगेँ। परीक्षा नजिकिएको भएर होला, परीक्षार्थीहरू धेरै उपस्थित थिए। १०० रुपैयाँ तिरेर पहिलो पत्रको परीक्षा दिएँ। साढे १० बजे परीक्षा सकियो। त्यसपछि रु २०० तिरेर ११ बजेबाट अधिकृत तृतीय पत्रको परीक्षा दिएँ। पुसको महिनाको मौसम, धेरै चिसो थियो। चिसोले हात कङ्ग्रिएर कलम अलि चलिरहेको थिएन। जसोतसो सबै प्रश्नपत्र हल गरेँ। प्रतिज्ञा गर्छु, अर्को हप्ता थप तयारी अब्बल बनाएर परीक्षा दिनेछु।
2082-9-29: अन्ततः मेरो थेसिस सकियो। हिजो थेसिसको डिफेन्स थियो। मैले ३, ४ दिन लगाएर डिफेन्स प्रेजेन्टेसनका लागि तयारी गरेकी थिएँ। त्यसैले मेरो प्रस्तुतिकरण मैले सोचेको भन्दा धेरै राम्रो भयो। सर-मिसहरूबाट पनि राम्रै प्रतिक्रिया पाएँ। मेरा एक्सटर्नल र इन्टर्नल सुपरभाइजर सरहरूबाट पनि डाइरेक्ट स्वीकृत भयो। थप सुधार्नुपर्ने केही सुझाव आएन। त्यसैले आज मैले एआई र प्लागियारिज्म चेक पनि गरेँ। सबै पास भयो। त्यसैले तत्काल कलेजबाट लिनुपर्ने थेसिसका कागजातहरू लिएर बाइन्डिङका लागि फोटोकपि गर्ने ठाउँमा पनि बुझाएर आएँ। बाइन्डिङ गरेको थेसिस बुझाउन बाहेक अरू सबै थेसिसको काम सकियो। यो थेसिस सकिनुमा मेरो सुपरभाइजर मुकेश सरको धेरै नै महत्वपूर्ण सहयोग छ। उहाँप्रति म धेरै नै आभारी छु। मेरो मास्टर्स डिग्री पनि सकियो। त्यसैले म आज धेरै नै खुसी छु। अबको समय भनेको लोकसेवाका लागि मात्र।
2082-10-7: आज म बिउँझँदा ५ बजेको थियो। हत्तार हत्तार तयार भएर लाइब्रेरीतिर दौडेँ। ट्याङ्गलाफाँट चोकमा पुगेसकेपछि मर्निङ वाकबाट फर्कँदै गरेकी एक जना दिदीले टियु छिर्ने घुम्तीनेर कुकुरहरू धेरै बसेका छन्, होसियार भएर जानु भनेर सल्लाह दिनुभयो। सधैँ एक्लै जाने म, खासै उहाँको कुराले डर लागेन। अरू दिन त कोही न कोही त बाटोमा हिँड्थे तर आज कोही भेटिएनन्। घुम्ती हुँदै सानो जङ्गलमा पुगेँ, बाटो अँध्यारो थियो। दिदीले भनेअनुसार कुकुरको हुल त थिएन तर सुनसान अँध्यारो भएको कारण जड्याहा वा चितुवाले झम्टन्छ कि भनेर जङ्गल नकटुन्जेल मनमा चिसो पसिरह्यो। हुन पनि हो, त्यो छोटो जङ्गलमा झिसमिसेमा चुरोट अनि अरु खै के-के हो खाँदै लठ्ठिँदै मानिसहरू बसिरहेका हुन्छन्। हुन त जुन बेला गए पनि लाइब्रेरीमा सिट पर्याप्त नै हुन्छ। तर मलाई भने क्याबिनको लागि सबेरै लाइब्रेरी पुग्नै बानी छ। हस्याङफस्याङ गर्दै लाइब्रेरी पुगेँ। अरू दिनभन्दा झोलाको लाइन धेरै लामो थियो, सायद परीक्षा नजिकिएको भएर होला। चिसोमा यता उता हिँड्दै लाइन कुर्न थालेँ। बल्ल ६ बजे ढोका खुल्यो। मुस्किलले क्याबिनमा सिट पाएँ। ८ बजेसम्म पढेँ अनि त्यसपछि टियूको घण्टाघर अगाडि बसेर दिदीसँग १० बजेसम्म लिखित पत्रको छलफल गर्यौँ। मलाई यो समय सबैभन्दा उपलब्धिमूलक लाग्ने गर्छ। हामीले दिनमा एउटा एउटा टपिक छलफल गर्ने गर्छौँ। उहाँसँग छलफल गर्दा मलाई जति सुकै गाह्रो विषय पनि सहजै बुझ्ने गर्छु। उहाँले पनि आफूले जानेका कुरा मज्जाले सिकाउनुहुन्छ। छलफलपछि १० बजे कोठा फर्केर खाना पकाएँ, खाएँ अनि फेरि १ बजे लाइब्रेरी फर्केँ। त्यसपछिको साँझ ७ बजेसम्मको समय घरी जीके, घरी आईक्यू, घरी अंग्रेजी पढ्दै बित्यो। फर्कने बेला बोधि सरको आईक्यू किताब र गरिमा मिसको समसामयिक जीके किनेर फर्केँ। समग्रमा दिनहरू परीक्षा तयारीको रफ्तारमै बितिरहेका छन् तर रातिको समय भने खाना खाएपछि पढ्न बस्नेबित्तिकै भुसुक्क कत्तिबेला निदाउँछु पत्तै हुन्न। अनि फेरि अर्को दिन उसैगरी दैनिकी सुरु हुन्छ।
2082-10-9: आज वसन्तपञ्चमी, सरस्वती पूजा गर्ने दिन। अरू वर्ष खासै वास्ता नलाग्ने मलाई यो वर्षको सरस्वती पूजा खुब विशेष लागिरहेको थियो। त्यसैले पूर्वनिर्धारित योजना अनुसार म बिहान चाँडै बिउँझेँ। पूजा सामग्री तयार पारेर मेरा लोकसेवा किताबहरूलाई पूजा गरेँ। त्यसपछि साथीहरूसँग म टियू लाइब्रेरीतिर लागेँ। हामी ९ बजे लाइब्रेरी पुग्दा धेरै विद्यार्थी पूजामा व्यस्त थिए। हामी पनि पालो कुरेर पूजा गर्यौँ। जब संघर्षमा सफलता फुल्दैन, तब भगवानमा आस्था जाग्दो रहेछ। विधिवत रूपमा सरस्वतीसँग सफलताको प्रार्थना गरेँ। आशा छ, सफलताको ढोका चाँडै खुल्नेछ।
2082-10-11: अर्को साल बढी तयारी पुर्याउँछु भन्यो, अह! तयारी जहाँको त्यहीँ। जताततै सबैखाले परीक्षाहरू धाउँदै धाउँदै न यता तयारी पुग्छ न उता। पैसा… समय… उमेर… मेहनत… सबै यसै खेर गएझैँ लाग्छ…! यो साल पनि कलेजको थेसिस गर्दा गर्दै अधिकृतको तयारीलाई अब्बल बनाउनै भ्याइएन। २ हप्ता पछी संघ अधिकृतको पहिलो पत्रको परीक्षा छ। सेडेपमा साप्ताहिक परीक्षा दिँदा नतिजा खासै सन्तोषजनक आउँदैन। यसले गर्दा झन् हतोत्साहित मात्र भएको छ। खै के गर्ने हो, जत्ति मेहनत गरे पनि तयारी पुग्दै पुग्दैन…! उफ!!!!!
2082-10-15: सदा झैँ आजको दिन पनि सामान्य रूपमा नै बितिरहेको थियो। अधिकृतको परीक्षा नजिकिएसँगै तयारीको रफ्तार बढ्नु स्वाभाविक नै हो। घरी आईक्यू, घरी जीके, त घरी अंग्रेजी पढ्दै दिन ढल्दै थियो। अचानक साँझको साढे ५ बजे मोबाइलमा साथीको मेसेज देखेँ, जसमा लेखिएको थियो “बागमती पाँचौँको लिखित परीक्षामा तिम्रो नाम आएको हो?” उसको कुराले म झस्किएँ। लिखितमा नाम निस्क्यो भने मोबाइलमै प्रदेश लोकसेवा आयोगले मेसेज पठाउँछ भन्ने सुनेकी थिएँ, तर मलाई मेसेज आएको थिएन। त्यसैले फेल भएछु भन्ने अनुमान लगाएँ। त्यै पनि बागमती प्रदेश लोकसेवाको वेबसाइटमा नतिजा खोलेर हेरेँ, सुरुको पेजमै मेरो नाम देखियो। एक्कासि मनको डर शान्त भयो अनि ओठमा अनायासै खुसी मुस्कुरायो। लिखित परीक्षामा नाम आएको पहिलो पटक, उत्साहित नहुने त कुरै भएन। हत्तपत्त परिवारलाई जानकारी दिएँ। अनि लाइब्रेरीका मेरो नजिकका साथीभाइहरूलाई जानकारी गराएँ। हुन त अझै अन्तर्वार्ता र कम्प्युटरको परीक्षा बाँकी नै छ, त्यै पनि म यत्ति उत्साहित भएँ कि मेरो शुभचिन्तकहरूलाई मेरो नतिजा नभनिरहन सकिनँ। दिनभर हिउँदको चिसो मौसमले चिसिएको मन एक्कासि न्यानो भयो। कोठा फर्किँदा पनि छुट्टै उमंग थियो। यस्तो लागिरहेको थियो कि मानौँ उदास गोरेटोहरू पनि आज, मेरो खुसीमा मुस्कुराइरहेका छन्। अब १ महिना पछाडि कम्प्युटर र इन्टरभ्यु छ। मलाई यसको लागि धेरै राम्ररी तयारी गर्नु छ। आशा गरौँ, सबै चरणमा राम्ररी सफल हुनेछु।
2082-10-16: बागमती पाँचौँको लिखितमा नाम त निस्क्यो तर मागेको संख्याभन्दा डबल नम्बरमा विद्यार्थीको नाम निस्केको छ। त्यसैले प्रतिस्पर्धा अझै कडा नै छ। ढुक्क भइहाल्नुपर्ने अवस्था छैन। मलाई जसरी पनि अन्तर्वार्ता र कम्प्युटर परीक्षामा पास हुनु छ। यसको लागि मेरो तर्फबाट १०० प्रतिशत कोसिस गर्नेछु। आज दिउँसो, कीर्तिपुरमा अवस्थित “स्मार्ट इन्फो टेक” भन्ने इन्स्टिच्युटमा कम्प्युटर सिपका लागि भर्ना गरेर आएँ। यसको लागि जम्मा रु. ३६०० शुल्क लाग्यो। अब आइतबारदेखि कक्षा सुरु हुने कुरा छ। मलाई विश्वास छ, अबको एक महिनामा मेरो टाइपिङ अब्बल हुने नै छ। यसका साथसाथै मैले अन्तर्वार्ताको लागि पनि तयारी गर्नु छ। चाहे जत्तिसुकै मेहनत गर्न किन नपरोस्, मैले यो अवसर गुम्न दिनु हुँदैन। मलाई अब पास मात्र होइन, उत्कृष्ट नम्बर ल्याएर प्रदेशमै सिफारिस हुने ठूलो धोको छ।
2082-10-18: म बिउँझँदा ५ बजेको थियो। झोलाभरी ल्यापटप र किताब च्यापेर पाँगा दोबाटोतिर लागेँ। आज कम्प्युटर कक्षाको पहिलो दिन, धेरै विद्यार्थी साथीहरू उपस्थित हुनुहुन्थ्यो। म पनि कक्षामा मिसिएँ। पहिले नै टाइपिङ गर्नमा म पोख्त भएको भए पनि मेरो औँला राख्ने तरिका नमिलेको हुनाले फेरि बेसिकबाट सिकाउनुभयो।६ देखि ७ बजेसम्मको कक्षा सकेर म लाइब्रेरी पुगेँ। त्यहाँ बसेर १० बजेसम्म अभ्यास गरेँ अनि खाना खान कोठा फर्केँ। केही दिनदेखि आँखा खुब दुखिरहेको थियो। त्यसैले २ बजेतिर कीर्तिपुर आँखा अस्पतालमा आँखा जचाउन गएँ। सदाझैँ आज पनि आँखाको पावर बढेछ, माइनस ३.२५ देखि माइनस ४ पुगेछ। हातमा सिफारिस पत्र आउँदासम्म त अन्धो भइन्छ कि क्या हो…! के गर्नु, आँखा जति दुखे पनि नपढी कुनै विकल्प नै छैन! डाक्टरको सल्लाह अनुसार चस्मा फेरेँ अनि लाइब्रेरी गएर पुनः ७ बजेसम्म पढेर घर फर्केँ।
2082-10-20: मेरो कम्प्युटरको कक्षा उपलब्धिमूलक नै भईरहेको छ। बिहानीको कक्षा सकेपछि दिनभरको समय टियू लाइब्रेरीमा नै बसेर टाइपिङ अभ्यास गर्छु। अहिले झन् टाइपिङ अभ्यास गर्न ल्यापटप चाहिने, झन् ह्याङ्ग भएर घरी घरी खुल्नै मान्दैन। त्यसैले लाइब्रेरीका सरहरूसँग कुरा गरेर मलाई एउटा डेस्कटप सेटअप गरिदिनु भएको छ। यसमा अभ्यास गर्दा बढी सहज भएको छ। बागमती प्रदेशको लिखितमा नाम निस्केपछी मलाई मेरा साथीहरूको व्यवहारमा आत्मीयता भन्दा पनि बढी सम्मान बढेझैँ लाग्न थालेको छ। उनीहरूको सम्मानपूर्ण व्यवहारले मलाई असहज हुनु स्वाभाविकै हो। तर किन? लिखितमा नाम निस्किँदैमा म ठूलो हुन्छु र? म त हिजो जे थिए त्यस्तै नै छु। एक्कासी मित्रतामा आएको व्यवहार परिवर्तनलाई देख्दा त नाम निस्केकोमा पनि बिरक्त लागेर आउँछ।
2082-10-24: बागमती पाँचौँको लिखितमा नाम निस्केदेखि मैले कम्प्युटर कक्षा भर्ना गरेर दिनभर त्यसकै अभ्यासमै बिताइरहेकी छु। १ हप्ता बढी भइसक्यो, अधिकृत प्रथम पत्रको लागि पढ्न छाडेको। त्यसैले आज संघको अधिकृत प्रथम पत्र दिने नदिने दुविधा भैरह्यो। फाराम भर्दा पैसा खर्च भइसक्यो, त्यसैले तयारी अब्बल नभए पनि परीक्षामा उपस्थित हुने निधो गरेँ। मलाई पहिलो पटक परीक्षाको डर थिएन, सायद बागमतीमा नाम आएको भएर होला। मेरो परीक्षा केन्द्र कालिमाटीमा अवस्थित जन-प्रभात मा.वि. मा थियो। गाडी भरी परिचित-अपरिचित अधिकृत परीक्षा दिने साथीहरू नै हुनुहुन्थ्यो। साढे १० बजे परीक्षा केन्द्र पुगेँ। ठीक ११ बजे प्रश्नपत्र हातमा पर्यो। सुरुमा जीके प्रश्नहरू हेरेँ, धेरैजसो प्रश्नहरू सजिलै लाग्यो। सोचेँ, सायद आईक्यू र अंग्रेजी गाह्रो होला तर ती प्रश्नहरू पनि सोचेभन्दा धेरै सजिला थिए। चाहे फाइनल परीक्षा दिँदा होस् या इन्स्टिच्युटको परीक्षा दिँदा, अधिकृतको प्रश्नपत्र यत्तिको सजिलो कहिल्यै लागेको थिएन। परीक्षा राम्रो भएपछि खुसी नहुने त कुरै छैन। मख्ख पर्दै कोठा फर्केँ। कति मिल्यो, त्यो त हेर्न भ्याएको छैन तर पनि ७०-८० प्रश्न हल गर्दा ४५ त पक्कै बस्यो नै होला भन्नेमा म पूर्ण विश्वस्त छु।अब बागमतीको तयारीसँगसँगै अधिकृतको लिखित परीक्षा तयारीका लागि पनि समय छुट्याउनु पर्ला।
2082-11-3: आज महाशिवरात्रि, नयाँ टियू लाइब्रेरीमा बिदा थियो। त्यसैले छाप्रोवाला लाइब्रेरी जाने पूर्व योजनाअनुसार बिहान साढे ४ बजेको आलारामसँगै बिउँझेँ। तयार भएर लाइब्रेरी पुग्दा ५ बजिसकेको थियो। अलि ढिला भइसकेको भएर सिट पाइँदैन कि भन्ने डर थियो, फेरि चिसोमा बाहिर बसेर पढ्ने आँट पनि थिएन। तर भाग्यवश! लाइब्रेरी त प्रायजसो खाली नै थियो। बिहानीको उज्यालो पोखिँदै जाँदा क्रमशः लाइब्रेरीमा विद्यार्थी भरिँदै गए। सानो बन्द कोठामा कुकुर अनि विद्यार्थीको चाप बढी भएर होला, मलाई भने घरीघरी निस्सासिएझैँ लागिरहेको थियो। तर पनि पढ्ने माहोल नै सही, दिनभर त्यही कोठामा मस्तले पढेर बित्यो।
2082-11-6: संघीय अधिकृतको प्रथम पत्रको परीक्षा त राम्रै भएको थियो तर नतिजा राम्रो भएन। तर पनि बागमतीको कम्प्युटर इन्टरभ्यु तयारीलाई समय दिनुपर्ने भएर होला नतिजा बिग्रेकोमा खासै नराम्रो लागेको छैन। प्रथम पत्र पास नभए पनि अधिकृत लिखितको तयारीलाई जारी नै राख्ने छु।
2082-11-11: हिजोआजको दैनिकीहरू प्राय एकनासले नै बितिरहेका छन्। बिहान ५ बजेको मोबाइलको आलारामसँगै बिउँझन्छु। अनि तयार भएर पाँगा दोबाटोको स्मार्ट इन्फोटेक इन्स्टिच्युटमा कम्प्युटर कक्षा लिन पुग्छु। ६ देखि ७ बजेसम्मको कक्षा सकेर म उतैबाट टियू लाइब्रेरी पुग्छु। साढे ७ देखि ९ बजेसम्म दिदीसँग लिखित पत्रको कुनै एउटा विषयमा छलफल गर्छौँ। यो समय मलाई सबैभन्दा बढी उपलब्धिमूलक लाग्छ। यसले मेरो इन्टरभ्यूका लागि उत्तर दिने आत्मविश्वास बढाउँछ भन्ने कुरामा म विश्वस्त छु। १० बजेदेखि १ बजेसम्मको समयमा खाना पकाएर खाएर फेरि लाइब्रेरी पुगिसक्छु। अनि बाँकी दिनभरको समय लाइब्रेरीको कम्प्युटर ल्याबमा बसेर घरी टाइपिङ त घरी सेटिङको अभ्यासमा घोटिरहन्छु। अल्छी लागेको अवस्थामा इन्टरभ्यूका लागि लिखित पत्रको किताब पनि पढ्छु। करिब साँझको ७ बजेतिर कोठा फर्किन्छु। साँझको खाना खाएपछिको समयमा भने ओछ्यानमा बसेर पढ्दै गर्दा खै कुनबेला भुसुक्कै निदाउँछु पत्तै हुन्न।
2082-11-25: देशमा चुनावको माहोल छ। त्यसैले ३-४ दिन लाइब्रेरी बन्द थियो। म कोठामै बसेर तयारी गरेँ। नभन्दै मेरो अन्तर्वार्ताको समय पनि नजिकिएको छ। मात्र ५ दिन बाँकी छ। कम्प्युटरको तयारी राम्रै छ। अन्तर्वार्ताको लागि विषयगत र वस्तुगत ज्ञान पनि सम्भव भएसम्म त पढिसकेँ। मेरो परीक्षा राम्रै हुन्छ भन्नेमा पनि म विश्वस्त नै छु। त्यै पनि लोकसेवाको प्रतिस्पर्धी परीक्षा भएर होला, मन अलि डराएको छ।
2082-11-30: आज फागुन ३० गते, भोलि बागमती पाँचौँको इन्टरभ्यू छ। त्यसैले बिहान एमपीएको नोट्सहरू एकछिन रिभिजन गरेँ अनि ९ बजेको गाडीमा एकजना साथीसँग हेटौँडा लागेँ। करिब एक महिना भइसक्यो, मेरा दैनिकिहरू कम्प्युटर र अन्तर्वार्ताको तयारीमा मात्र व्यस्त भए। त्यही भएर होला, हेटौँडाको यात्रा खुब रमाइलो लागिरहेको थियो। शिशिर ऋतुको समय… सुख्खा डाँडापाखा, फुङ्ग उडेको धुलो, बतासको बेग सँगै उडेका बूढा पातहरू अनि धकमक्क फूलेको लालिगुराँस, सबै दृश्यहरू मनमोहक थिए। हामी करिब १ बजेतिर हेटौँडा पुग्यौँ। बसपार्क नजिकैको होटेलमा प्रतिव्यक्ति रु. ६०० को दरमा तिरेर होटेलमा बसेका छौँ। गाडी यात्राले गर्दा शरीर त थाकेकै छ तर पनि हामीलाई आराम गर्ने फुर्सद नै कहाँ छ र! समय खेर नफाली आफ्नो-आफ्नो ल्यापटपमा टाइपिङ गर्न व्यस्त छौँ। मेरो ५ मिनेटमा नेपाली टाइपिङ ९० आसपास र अंग्रेजी टाइपिङ १३० को आसपासमा गइरहेको छ। मैले अन्तर्वार्ता तयारीका लागि पुराना अन्तर्वार्ताका प्रश्नहरू सम्भव भएसम्म नोट बनाएर पढेको छु। अनि यो हप्ताभरी अग्रज दिदीहरूको सहयोगमा नमुना अन्तर्वार्ता पनि अभ्यास गरेकी छु। मैले मेरो तयारीमा कुनै कमी राखेको जस्तो लाग्दैन। त्यसैले भोलिको परीक्षा राम्रै होला भन्नेमा म पूर्ण विश्वस्त छु। आशा गरौँ, अपेक्षा गरेको भन्दा पनि मेरै परीक्षा राम्रो हुनेछ।
2082-12-1: आज २०८२ सालको चैत १ गते, मेरो अन्तर्वार्ताको दिन। निद्रा लाग्ने त कुरै भएन। ५ बजेको आलाराम लगाएको भए पनि रातभर छिनछिनमा बिउँझिरहेँ। साढे ४ बजेदेखि त निद्रा खुलिहाल्यो। त्यसैले कम्प्युटरको टाइपिङ अनि सेटिङको अभ्यास गरेँ। ७ बजे ट्याम्पु चढेर साथी र म बागमती प्रदेश लोकसेवा आयोगको कार्यालय पुग्यौँ। बिहानको सिफ्टमा परीक्षा हुने विद्यार्थी साथीहरू प्रायः सबै आइसक्नुभएको थियो। ठीक ८ बजेदेखि कम्प्युटर स्किल टेस्टको परीक्षा सुरु भयो। मैले ५ मिनेटमा नेपाली टाइपिङ ८० र अंग्रेजी टाइपिङ १२० गरेँ। सेटिङका ५ वटा सबै प्रश्न मिलाएँ। परीक्षा सकेपछि आवश्यक कागजात मिलाएर ९ बजे कागजातहरू रुजु गर्यौँ अनि अन्तर्वार्ताका लागि लाइनमा बस्यौँ। नर्भस नहोस् भनेर साथीहरूसँग गफिँदै बस्यौँ। नभन्दै लगभग ११ बजे तिर मेरो अन्तर्वार्ताको पालो आयो। पूर्वतयारी भएको भएर प्रश्नको उत्तर कसरी प्रस्तुत गर्ने भन्नेमा म अभ्यस्त थिएँ। ४ जना सर-मिसहरूले प्रश्न सोध्दै जानुभयो र मैले फटाफट उत्तर दिँदै गएँ। प्रश्नहरू व्यावहारिक र सरल नै थिए। जीकेको १-२ वटा प्रश्नको उत्तर बाहेक अरू सबै प्रश्नको उत्तर दिएँ। करिब ४० मिनेटपछि मेरो अन्तर्वार्ता सकियो। समग्रमा मेरो कम्प्युटर र इन्टरभ्यु राम्रै भयो। त्यसैले ढुक्क मन लिएर काठमाडौँ फर्केँ।
मलाई सोधिएको अन्तर्वार्ताका प्रश्नहरूः
- तपाईँको परिचय भन्नुहोस्।
- तपाईँको नामको अर्थ के हो?
- तपाईँले ब्याचलरसम्म विज्ञान विषय पढेर अहिले किन सार्वजनिक प्रशासन (MPA) मा आउनुभयो?
- तपाईँले त मास्टर्स डिग्री सकाउनुभएको रहेछ। नायब सुब्बा त सानो पद भयो। तपाईँले किन सुब्बा नै रोज्नुभयो?
- नायब सुब्बाको प्रशासनिक कामहरू के के होलान्?
- नागरिक वडापत्र के हो? यो कहाँ राखिन्छ?
- नागरिक वडापत्र प्रभावकारी भएन भन्ने गुनासो आएको छ। यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ?
- कार्यालयमा गुनासो गर्दै सेवाग्राहीले झगडा गर्यो भने तपाईँ कसरी सम्झाउनुहुन्छ?
- सेवाग्राहीको गुनासो कसरी कम गर्ने?
- सेवाग्राहीलाई सन्तुष्ट कसरी बनाउनुहुन्छ?
- तपाईँलाई कम्प्युटरमा के के चलाउन आउँछ? (Photocopy, Print, MS Word, Excel, PowerPoint, Blogging)
- तपाईँको रुचि चित्रकला भन्नुभयो। भन्नुहोस् त चित्रकला कति प्रकारको हुन्छ?
- तपाईँलाई ड्राइभिङ गर्न आउँछ? लाइसेन्स छ? के चलाउनु हुन्छ?
- म ३-४ जना व्यक्तिहरूको नाम भन्छु। तपाईँ उहाँहरूको बारेमा छोटकरीमा भन्नुहोस् है? (पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटा, बालेन, हर्क साम्पाङ राई)
- हर्क साम्पाङले कुन पार्टीबाट चुनाव लड्नुभएको हो?
- LDC graduation को कुरा सुनिँदै आइएको छ। स्कुल, कलेजका graduation भन्ने त सुनेको छु तर यो सरकारको graduation कस्तो खालको रहेछ, बुझाउनुहोस् न मलाई।
- Gen Z आन्दोलनको मुख्य माग के थियो? उहाँहरूको मागको सम्बोधन गर्न के गर्नुपर्छ?
- यो सामाजिक सञ्जालले तपाईँ Gen Z हरूलाई के के फाइदा र के के बेफाइदाहरू गरिरहेको छ?
- तपाईँले कुनै सरकारी निकायको सेवा सामाजिक सञ्जालमार्फत लिएको अनुभव छ? उदाहरण दिनुहोस् त?
- तपाईँहरू e-governance मार्फत सेवा प्रवाहलाई चुस्त गराउने कुरा गर्नुहुन्छ। तर पूर्ण रूपमा e-governance लागू गर्दा त कर्मचारीको संख्या कम भए काम सञ्चालन भइहाल्छ। अझ AI को कुरा पनि आइरहेको छ, जसले गर्दा तपाईँहरूको job opportunity झन् कम हुन्छ। यस्तो अवस्थामा कसरी रोजगारी सिर्जनालाई तादाम्यता गर्ने होला?
- बागमती प्रदेशमा हिमाली जिल्ला कति छन्? नाम भन्नुहोस् त?
- सबैभन्दा पछाडि निर्धारण गरिएको हिमाली जिल्ला कुन हो?
- बागमती र कोशी प्रदेशका जम्मा स्थानीय तह कति छन्?
- नेपालको जम्मा स्थानीय तह कति छन्?
- बागमती प्रदेशको कुन कुन जिल्लामा स्थानीय तह बढी र कम छन्?
- निजामती सेवा भनेको के हो?
- प्रदेश निजामती सेवा पढ्नुभएको छ? भन्नुहोस् त, कर्मचारीका आचरणहरू के के छन्?
- अनि सजायको व्यवस्था के छ? कति प्रकार छन्? के गरेमा ५ वर्षसम्म तलब वृद्धि रोक्का गर्न सक्छ?
- कति वर्षपछि कर्मचारीले अवकाश पाउन सक्छ?
- लोकसेवा आयोगमा परीक्षा दिनको लागि न्यूनतम उमेर कति हुनुपर्छ?
- लोकसेवामा प्रवेश गर्ने उमेर हद कति हो?
- यदि कसैले १९ वर्षमै ब्याचलर सक्यो भने उसले अधिकृतको परीक्षा दिन पाउँछ कि पाउँदैन?
- तपाईँले किन लेखामा परीक्षा दिनुभएन?
- प्रदेशको मुख्यमन्त्रीको नाम? लोकसेवा आयोगको अध्यक्षको नाम?
- बढी जिल्ला संख्या भएको प्रदेश?
- तपाईँको विचारमा नेपाललाई संघीयता आवश्यक छ? किन आवश्यक छ?
- हाम्रोमा विविधता धेरै छ है। कति जाति र कति भाषी छन्? बताउनुहोस् त।
- बागमती प्रदेशमा सरकारी कामकाजको भाषा नेपाली मात्र हो कि अरू पनि छन्? कुन कुन हुन्?
- अभिलेख व्यवस्थापन भनेको के हो?
- कस्ता अभिलेखहरूलाई थोरै समयमा नष्ट गर्न मिल्छ?
- १ देखि १०० सम्ममा १ कति वटा हुन्छ?
- तपाईँलाई अन्तर्वार्ता कस्तो लाग्यो?
मलाई सोधिएको कम्प्युटर स्किल टेस्टका प्रश्नहरूः
- English File लाई open गर्नुहोस् र My Skill Test भन्ने नाममा नयाँ file बनाउनुहोस्।
- Set margin (Top-2, Bottom, Left and Right 1 inch).
- Insert page number and set the page number size 8pt.
- Select first line of 1st paragraph and do words only underline.
- Open file explorer and search MS files, Do screenshot of it.
मेरो तर्फबाट गर्नुपर्ने सबै प्रयासहरू सकेँ। अब बस्, लोकसेवाको निर्णय कुर्नु छ। आशा गरौँ, अन्तिम नतिजा पनि सकारात्मक नै हुनेछ।
2082-12-5: सदाझैँ आज पनि म लाइब्रेरीमा पढ्न व्यस्त थिएँ। एक जना साथीले आएर बधाई दिइन्। मलाई लाग्यो, बागमतीको लागि दिएको होला। तर उनले मुसुमुसु हाँस्दै भनिन्, तपाईँको त टियू सेवाको अधिकृतको लिखित परीक्षामा पनि नाम आएछ। अनि पो बल्ल म झस्केँ। हत्तार हत्तार टियू सेवा आयोगको वेबसाइट खोलेर हेरेँ, नतिजाको सुरुमा नै मेरो नाम देखियो। खुसी नहुने त कुरै भएन। नजिकका साथी र घरपरिवारलाई यो कुरा जानकारी गराइहालेँ। वरपर बसेका साथीहरू सबैले मलाई बधाई दिए। तयारी पुगेपछि नाम सबैतिर आउँछ भन्थे, हो रहेछ। परीक्षामा सम्मिलित जम्मा ८९९ विद्यार्थीमध्ये हामी ९६ जना प्रयोगात्मक परीक्षाको चरणका लागि छनोट भएका रहेछौँ। अब यसको प्रयोगात्मक परीक्षा चैतको २२ गते रहेको छ। बागमती पाँचौँको कम्प्युटरसँग धेरै कुराहरू मिल्ने भएकोले मलाई टियूको प्रयोगात्मक परीक्षा सहज नै होला भन्ने लागेको छ। आशा गरौँ, मेरा बाँकी परीक्षा पनि अब्बल नै हुनेछ। बागमतीको परीक्षा सकेपछि मलाई १-२ हप्ता बाबा आमाले आराम गर्न घर बोलाइरहनुभएको थियो। तर अहँ, मलाई पढाइदेखि थकाइ लागेको नै छैन। त्यसैले घर नगई दिनदिनै लाइब्रेरी नै धाइरहेकी छु। अब लाइब्रेरी कार्डको समय अवधि सकिन लागेको भएर पनि होला, लाइब्रेरीप्रतिको लगाव झन् बढेको छ। त्यसैले त छुट्टिमा पनि उतै लाइब्रेरीको चउरमा पुगिहाल्छु। अब मलाई टियूकै प्रयोगात्मक परीक्षाका लागि पनि दमदार तयारी गर्नु छ।
2082-12-9: हिजोदेखि फेरि कम्प्युटर कक्षा लिन थालेँ। माईक्रोसफ्ट वर्ड, विन्डोज र टाइपिङ सबै बागमतीको लागि नै सिकिसकेको हुँदा अहिले मैले एक्सेल र पावरपोइन्ट कक्षाको लागि मात्र कक्षा लिईरहेकी छु। पावरपोइन्ट त पहिलेदेखिनै चलाइरहेको भएर खासै गाह्रो छैन तर एक्सेलका सूत्रहरू बुझ्न र कण्ठ पार्नचाहिँ अलि समय लागिरहेको छ। तर पनि परीक्षा सम्ममा मेरो तयारी दमदार हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।
2082-12-10: कम्प्युटरको कक्षा लिइरहेकी थिएँ। अचानक साथिहरूको म्यासेज आउन थाल्यो, जसमा खाद्य संस्थान छैटौँको लिखित परीक्षाको नतिजाको स्क्रिनसट थियो। खोलेर हेरेँ, सुरुमै मेरो नाम देखियो। जताततै आफ्नो नाम देख्दा म त आत्तिने नै रहेछु। मेरो हैन कि झैँ लाग्यो। हत्तार हत्तार रोल नम्बर चेक गरेँ, मेरै रहेछ। वर्षौँ गरेको संघर्षको फूल्ने मौसम आएछ क्यारे, त्यसैले त लगातार परीक्षा दिएको सबै ठाउँमा नाम आइरहेको छ। ओठ फेरि अर्को सफलताको लागि अनायासै मुस्कुरायो। लिखित परीक्षामा सम्मिलित जम्मा ९८५ विद्यार्थीमध्ये हामी ३० जना अन्तरवार्ताको लागि छनौट भएका रहेछौँ। यसको कम्प्युटर र अन्तरवार्ताको समय भने तोकिएको छैन। अब टियूको प्रयोगात्मक परीक्षा सकेपछि खाद्यको लागि तयारीमा जुट्नु छ। आशा गरौँ, बाँकी चरण पनि राम्रै हुनेछ।
2082-12-12: एमपीएको थेसिस गर्न थालेदेखि नै लगातार ल्यापटप र कम्प्युटरमा व्यस्त हुन थालेको। निरन्तर रूपमा ४-५ महिना कम्प्युटरमा बसेर होला, आँखा खुब दुख्न थालेको छ। दिनभर टाइप गर्दा शरीर यसरी थाक्छ कि मानौँ म शक्तिहीन छु। शरीर दुख्ने त छ नै। अब टियूको परीक्षा आउन जम्मा १० दिन मात्र छ। त्यसैले जति नै कठिन महसुस भए पनि कम्प्युटर प्रयोगात्मक परीक्षाको तयारी रफ्तारमै भइरहेको छ। लाइब्रेरीको कम्प्युटर ल्याबमा विद्यार्थीको संख्या बढेको छ। त्यसैले दिनभरिको अभ्यास उपलब्धिमूलक नै रहन्छ।
2082-12-16: एक महिना बढी भइसक्यो, लोकसेवा कम्प्युटर स्किल टेस्टको लागि कम्प्युटरमा व्यस्त हुन थालेको। एकोहोरो अभ्यासले होला, दिक्क लाग्न थालेको छ। त्यसमा पनि आँखा दुखेर सहिनसक्नु छ। अब त झन् प्रत्येक हप्ता टियू र खाद्य अधिकृतको प्रयोगात्मक परीक्षा छ। अझ अन्तर्वार्ताको तयारी पनि गर्नु नै छ।
2082-12-20: टियू र खाद्य संस्थानको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको समय नजिकिएसँगै तनावले निद्रा हराउँदै गएको छ। रातभर अनिँदो बसाइँ अनि लगातार कम्प्युटर अभ्यासले खुब थकाइ लाग्छ आजकाल। मेसिन हैन मान्छेको शरीर न हो… नथाक्ने त कुरै छैन। अझ शरीर मात्र हैन, मन पनि खुब थाक्छ अनि दिक्क मान्दै आत्मसमर्पण गरौँ झैँ लाग्छ। तर यो चरणसम्म पुगिसकेपछि, अवसरलाई यसै जान दिन पनि त भएन नि! हैन र? त्यसैले कफिको सहारामा दिनभर थकित मनलाई सक्रिय बनाउने झुटो कोसिस गर्छु। पर्सि टियूको प्रयोगात्मक परीक्षा छ, थप दमदार अभ्यास गर्नु छ।
2082-12-22: आज टियू अफिसरको कम्प्युटर प्रयोगात्मक परीक्षाको दिन, बिहान उठेर ९ बजेसम्म कम्प्युटर अभ्यास गरेँ। त्यसपछि पठाओ चढेर पुल्चोकस्थित सूचना तथा सञ्चार प्रविधि केन्द्र पुगेँ। त्यहाँ पुग्दा प्रायजसो परीक्षार्थी साथीहरू आइपुगिसक्नुभएको थियो। ११ बजेसम्म गफिँदै बस्यौँ। हाम्रो सिम्बल नम्बर अनुसार ल्याब नम्बर तोकियो। म ल्याब नं. १ को कम्प्युटर नं. १ मै परेछु। आ-आफ्नो कम्प्युटरमा बस्यौँ। हामीलाई एकछिन कम्प्युटर जाँच गर्ने समय दिनुभयो। भाग्यवश, मेरो कम्प्युटर त सबै ठिकठाक नै थियो। तर कतिपय अरु कम्प्युटरमा कालिमाटी ट्रेडिसनल किबोर्ड नै थिएन, त कतिपय कम्प्युटर ह्याङ्ग भइरहेको थियो, त्यसैले कम्प्युटर बनाउँदा बनाउँदै ११ बजेको परीक्षा १२ बजेपछि मात्र सुरु भयो। सुरुमा ५ मिनेट अंग्रेजी टाइपिङ अनि अर्को ५ मिनेट नेपाली टाइपिङ गर्यौँ। मैले अंग्रेजी टाइपिङ १६५ र नेपाली टाइपिङ ८२ शब्द पुर्याएँ। टाइपिङ सकिसकेपछि एउटा प्रश्नपत्र दिनुभयो, जसमा ५ मार्क्सको माइक्रोसफ्ट सेटिङ, ५ मार्क्सको एक्सेल, ५ मार्क्सको पावरपोइन्ट र ५ मार्क्सको विन्डो सेटिङका प्रश्नहरू थिए। एकपछि अर्को प्रश्नहरू धमाधम समाधान गरेर निर्धारित २० मिनेटको समयभित्र सकाएँ। परीक्षा सकिएपछि सबै उत्तरहरू प्रिन्ट गराएर बुझाएँ अनि कोठा फर्केँ।
मलाई कम्प्युटरमा सोधिएका प्रश्नहरू:
MS Setting Questions:
1. Copy English typing text and paste in an MS setting file.
2. Insert margin (Top and left- 2 inch, Right & Bottom- 1 inch)
3. Give left gutter 0.5
4. Insert page number as 1 of x at the bottom right side.
5. Give watermark as ‘DRAFT’
6. Give footnote as ‘It is good’ to last word of the paragraph.
PowerPoint questions:
1. Make a presentation with minimum 3 slides.
2. On the first slide, write about university with bullet lists.
3. On second slide, make organizational structure including chancellor at the top, vice-chancellor at the middle step and other staff at the bottom step.
4. Give animation to all bullet text.
5. Set transitions that start automatically after 5 seconds.
Window Setting Questions:
1. Screenshot the initial background of desktop. Change background and again take screenshot, also show the process.
2. Search pdf files in file explorer and screenshot it.
3. Set tu.edu.np website as homepage.
Excel Questions:
1. Calculate amount and total amount of the given data.
2. Calculate VAT amount and net amount.
3. Insert a bar chart.
समग्रमा आजको परीक्षा राम्रै भयो। आशा गरौँ नतिजा पनि सकारात्मक नै आउनेछ। अब अर्को हप्ता हुने खाद्य अधिकृतको कम्प्युटर र अन्तर्वार्ताको परीक्षाको लागि दमदार तयारी गर्नु छ।
2082-12-26: लगातार कम्प्युटर अभ्यास गर्दा खुब दिक्क लाग्छ। अझ नजिकिँदै गएको इन्टरभ्यूको लागि पढ्नु पर्ने तनाव पनि छुट्टै। सदाझैँ कानमा इयरफोन लगाएर गीतको तालमा टाइपिङ गर्दै थिएँ, एक्कासी हल्लाखल्ला गुन्जियो। हल्ला यत्ति धेरै थियो कि पढ्ने माहोल नै थिएन। सबै लाइब्रेरीका नियमित विद्यार्थी साथीहरू नै हुनुहुँदो रहेछ। आन्दोलनको कारण बुझ्न समय लागेन- भर्खर नयाँ सरकारले बनाएको शनिबार आइतबार २ दिन बिदासँगै लाइब्रेरी पनि २ दिन बिदा गर्ने अनि अरु बाँकी दिन चाहिँ बिहान ९ बजे खुल्ने र साँझ ५ बजे बन्द हुने सूचना लाइब्रेरी प्रशासनले निकालेको रहेछ। सधैँ हप्ताको ६ दिन बिहान ६ बजे देखि साँझको ९:३० सम्म खुल्ने अनि शनिबार चाहिँ बिहान १० देखि साँझसम्म खुल्ने लाइब्रेरी एक्कासि धेरै छुट्टी हुने सूचना देखेर नियमित विद्यार्थी साथीहरू आन्दोलनरत भएका रहेछन्। विद्यार्थीहरूको माग चाहिँ पहिलेकै जसरी यथावत राख्ने भन्ने रहेछ। दुई पक्षबीच सहमति नभईकन नै लाइब्रेरी ५ बजे छुट्टि भयो। म पनि साथीहरूसँग घर फर्केँ। अन्तिम निर्णय के भयो कुन्नी…!
2082-12-28: आज खाद्य संस्थान छैटौँको कम्प्युटर स्किल टेस्ट हुने दिन। हप्तैपिच्छे परीक्षा दिए पनि डर कमै नहुने। रातभर निदाउनै मुस्किल पर्यो, फेरि निद्रा नपुगे पनि त दिनभर विसन्चो भईरहन्छ। त्यसैले मुस्किलले निद्रा पुर्याएर बिहान साढे ५ बजे बिउँझेँ। त्यसपछि एकछिन टाइपिङ अभ्यास गरेँ। करिब साढे ७ बजे, काठमाडौँको भद्रकाली प्लाजामा अवस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रधान कार्यालयमा पुगेँ। हाम्रो सिफ्टमा जम्मा ५ जना परीक्षार्थी रहेकोमा ४ जना मात्र उपस्थित थियौँ। सुरुमा परीक्षाको लागि फर्म भर्न लगाउनुभयो। त्यसपछि कागजको एउटा टुक्रा गोलाप्रथा मार्फत टिपेँ, जसमा लेखिएको थियो नम्बर ४। म चार नम्बरको कम्प्युटरमा बसेँ। सरहरूको निर्देशन अनुसार सुरुमा आफ्नो सिम्बल नम्बरको नाममा एउटा फोल्डर बनायौँ। उक्त फोल्डर भित्र नेपाली टाईपिङ, अङ्ग्रेजी टाईपिङ, एक्सएल, पावरपोइन्ट, वर्ड र विन्डो गरी ६ वटा फाइल बनायौँ। एकैछिन कम्प्युटर चेक गर्न लगाउनुभयो। लगभग ८:४५ मा परीक्षा सुरु भयो। सुरुमा ५ मिनेट नेपाली टाइपिङ र अर्को ५ मिनेट अङ्ग्रेजी टाइपिङ गर्यौँ। किबोर्ड एकदमै नयाँ भर्जनको थियो। हामीले सामान्यतया प्रयोग गर्ने भन्दा धेरै कडा पनि थियो। त्यसैले सोचेजस्तो टाइपिङ धेरै गर्न सकिनँ। नेपाली ८० र अङ्ग्रेजी १२० मै सीमित रह्यो। मेरो मात्र हैन, सबै साथीको अनुभव पनि यस्तै थियो। टाइपिङ सकेपछि बाँकी प्रश्नपत्र दिनुभयो। १० मिनेटको समयमा क्रमशः वर्ड सेटिङ, एक्सएल, पावरपोइन्ट, विन्डोका प्रश्नहरू हल गरेँ। प्रश्नपत्र सजिलै थियो।
मलाई सोधिएका प्रश्नहरू:
Word Setting Questions:
1. Copy English typing text and save in a new file.
2. Make at least 3 paragraphs. Divide second paragraph in 3 columns with line between.
3. Set before and after paragraph space to 6 pt to all paragraphs and give line spacing 1.3
4. Insert a table with 5 columns and 6 rows. Merge 3 cells of the first row and write “merged cells” inside it.
5. Give margin- top and bottom: 2 inches, left and right: 1 inch.
PowerPoint Questions:
1. Make two slides. In first slide, give title ‘computer skill test’ and define it on two bullets.
2. On second slide, insert a computer related image and give animation to it.
Excel Questions:
1. Calculate total sales amount from the given data.
2. Calculate profit amount.
Window Questions:
1. Show the properties of window.
समग्रमा आजको कम्प्युटरको परीक्षा राम्रै भयो। परीक्षा सकेर घर फर्केपछि खुब थकित महसुस भईरहेको थियो। तर फेरि भोलिको इन्टरभ्यूको लागि पनि त पढ्नु छ। त्यसैले लाइब्रेरी गएँ अनि साँझको ७ बजेसम्म पढेर फर्केँ।
2082-12-29: आज चैतको २९ गते, मेरो लागि विशेष दिन। आज खाद्य संस्थान छैटौँको अन्तरवार्ताको दिन। जत्तिसुकै राम्रै तयारी भएता पनि परीक्षाको दिन तनाव नहुने त कुरै छैन। कोठामै पढ्दा झन् तनाव होला भनेर बिहानको ६ बजे नै टियू लाइब्रेरी पुगेँ। एकछिन दिदीसँग अन्तरवार्ताको नमुना अभ्यास पनि गरेँ। दिउँसो एक्कासि पेट बेस्मारी दुखेर आयो। खै के भएको हो, झन् २-३ दिनदेखि पेट दुख्ला भनेर पिरो खुर्सानी, अचार केही खाएको थिएन। औषधि खाएर आराम गर्दै कोठामै दिनभर पढेँ। करिब ४ बजे तिर शैक्षिक योग्यताको प्रमाणपत्र लगायत आवश्यक अन्य कागजात बोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रधान कार्यालय भद्रकालीप्लाजा पुगेँ। सुरुमा फोटोकपी डकुमेन्टहरू बुझायौँ। त्यसपछि कार्यक्षेत्रको प्राथमिकता फाराम भर्यौँ। मेरो अन्तरवार्ता दोस्रो नम्बरमा थियो। नर्भस नहोस् भनेर अरु साथीहरूसँग गफिँदै बस्यौँ। लगभग साढे ५ बजे पालो आयो। म एकदमै औपचारिक हुने कोसिस गर्दै अन्तरवार्ता कोठामा पसेँ। ४ जना सरहरू र एक जना मिस हुनुहुन्थ्यो। उहाँहरू सबैजनाले मलाई पालैपालो प्रश्न सोध्दै जानुभयो। प्रश्नहरू सबै व्यावहारिक नै थिए। मैले प्रायजसो सबै प्रश्नहरूको उत्तर भनेँ। अस्ति बागमतीको अन्तरवार्तामा अनुभव बटुलेको भएर पनि होला, मलाई अन्तरवार्ताको अवधिभरि कत्ति पनि डर, नर्भस अनि असहज महसुस भएन। प्रश्नहरू यत्ति रमाइलो खालका थिए कि पुरै अन्तरवार्ताको अवधिभर सबै जना खुब मुस्कुराउनुभयो। मलाई पनि यो अन्तरवार्ता खुब रमाइलो लाग्यो।
मलाई खाद्य संस्थानको छैटौँको अन्तरवार्तामा सोधिएका प्रश्नहरू:
- तपाईँको परिचय दिनुहोस्।
- तपाईँको गाउँपालिका रामप्रसादराई हो भनेर भन्नुभयो। उहाँ को हुनुहुन्छ?
- संघीयता आइसकेपछि मात्र उहाँको नाममा गाउँपालिकाको नाम राखिएको हो कि पहिले पनि थियो?
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रबन्धपत्र त पढ्नुभएकै होला। यो कम्पनीको मुख्य उद्देश्यहरू केके रहेछन्, बताउनुहोस् न।
- खाद्य संस्थानले खाद्यान्न आपूर्ति बाहेक अन्य कार्य के के गर्लान्?
- अन्तरवार्ता समितिमा को को सदस्य रहने रहेछन्? जानकारी छ तपाईँलाई?
- खाद्य संस्थानको औचित्य किन छ?
- सरकारी निकाय र निजी कम्पनीमा के फरक छ?
- तपाईँले खाद्य अधिकृत भएपछाडि के के काम गर्नुपर्ला?
- तपाईँले कार्यक्षेत्र प्राथमिकता क्रममा कुन जिल्लालाई प्राथमिकता दिनुभयो? किन त्यो जिल्ला छान्नुभयो?
- खाद्य संस्थानमा खाद्यान्नको खरिद कसले गर्छ?
- खाद्य संस्थानको सञ्चालक समितिको अध्यक्ष को हुने व्यवस्था छ?
- खाद्य संस्थानलाई स्वायत्त राख्न उचित हुन्छ कि सरकारबाट नियन्त्रण हुन जरुरी छ?
- यो स्वायत्तता भनेको के के रहेछ?
- यदि तपाईँ सिफारिस हुनुभयो भने खाद्य संस्थानलाई सुधार गर्न केके कामहरू गर्नुहुन्छ?
- तपाईँको जिल्लामा उत्पादन हुने मुख्य खाद्य बालीहरू केके हुन्?
- भोजपुरको छिरकेमिर्के दाल प्रख्यात छ। तपाईँहरूको ठाउँमा यो केजीको कति रुपैयाँमा पाइन्छ?
- घरमा उत्पादन भएको दाल नखाएको कति वर्ष भयो? यता खाद्य संस्थानको पसलमा पनि भोजपुरको दाल पाइन्छ ल। चाहिएको भए यतैबाट किन्नुहोस् ल। (हाँस्दै)
- भोजपुर जिल्लामा हाम्रो खाद्य संस्थानको अफिस देख्नुभएको/पुग्नुभएको छ?
- तपाईँको स्थानीय तहमा केके खाद्यान्न आयात अनि निर्यात गर्नुहुन्छ?
- भोजपुर जिल्लालाई २-३ वाक्यमा चिनाउनुहोस् न?
- भोजपुरको खुकुरी खुब प्रख्यात छ। भोजपुरे खुकुरी अरु खुकुरीभन्दा किन विशेष भएको रहेछ?
- तपाईँले मुन्धुम ट्रेल भन्नुभयो, यो के हो?
- एमपीए कहाँबाट गर्नुभयो?
- मानौँ तपाईँ खाद्य संस्थानको व्यवस्थापक हो। तपाईँले यहाँको मानव संसाधन व्यवस्थापन गर्न सबैभन्दा बढी के कुरामा जोड दिनुहुन्छ?
- खाद्य संस्थानमा आउनको लागि तपाईँलाई के कुराले सबैभन्दा बढी उत्प्रेरित गर्यो?
- तपाईँको बागमती पाँचौँमा नि नाम आएको रहेछ, यदि दुबैतिर नाम आयो भने कुनलाई छनोट गर्नुहुन्छ?
- दुवैमा कम्प्युटर परीक्षा दिनुभयो। यी दुईमा कम्प्युटर ल्याबको फरक केके पाउनुभयो नि?
- आदिवासी जनजातिलाई खाद्य संस्थानको छैटौँमा कति प्रतिशत कोटा छुट्टाएको छ?
- यो आरक्षणलाई निरन्तरता दिन जरुरी छ कि छैन?
- नेपालको लागि संघीयता किन आवश्यक छ?
- यो संघ, प्रदेश र स्थानीय तहको संरचना नेपालको लागि महँगो भयो भन्ने आलोचना हुने गरेको छ। तपाईँको यसबारे धारणा के छ?
- अवशिष्ट अधिकार भनेको के हो? यो कसलाई दिइएको छ?
- राष्ट्रपतिले को समक्ष सपथग्रहण गर्ने गर्दछ?
- आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण बीच के भिन्नता छ?
- आन्तरिक लेखा परीक्षण गर्न किन आवश्यक छ? एकैचोटि अन्तिम लेखापरीक्षण गरे हुन्न?
- बेरुजु आन्तरिक लेखा परीक्षण कि अन्तिम लेखा परीक्षणले औँल्याउँछ?
- खाद्य संस्थानको लेखा परीक्षण कसले गर्छ?
- खाद्य संस्थान नाफामा कि घाटामा छ?
- खाद्य संस्थानले नाफा कमाइरहेको छैन भने कर्मचारीको तलब कसरी पूर्ति गर्ने होला?
- खाद्य संस्थानको हालको क्षमता कस्तो छ?
- सार्वजनिक संस्थानलाई नेपाल सरकारकै कुनै मन्त्रालयमा नराखी स्वायत्त रूपमा किन राखेको होला?
- व्यापार विविधीकरण भनेको के हो?
- जब इनलार्जमेन्ट र जब इनरिचमेन्ट भनेको के हो?
- खाद्य संस्थानलाई सुधार गर्न र नाफामा लैजान केके सुधार गर्नुहुन्छ?
- साइलो प्रविधि भन्नुभयो। यो कस्तो प्रविधि हो? तपाईँले पाठ्यक्रममा पढेर थाहा पाउनुभयो कि कसरी यसबारे थाहा पाउनुभयो?
- यो Management Information System भनेको के हो? यो किन प्रयोग गरिन्छ?
- कहाँ कहाँ MIS प्रयोग हुन्छ?
- सरकारले सार्वजनिक संस्थानलाई पूर्ण रूपमा स्वायत्त बनाउनु राम्रो कि नियन्त्रण गर्नुपर्छ?
- खाद्य संस्थानले हाल रक्सी आयात गरेर बिक्री गर्ने योजना बनाइरहेको छ। यसबारे तपाईँको विचार के छ?
- तपाईँले विकट ठाउँहरूमा खाद्यान्न पुग्दैन भन्नुहुन्छ, अनि फेरि रक्सी त मज्जाले पुगिरहेको छ त?
- हाल प्रायजसो सबै ठाउँहरूमा आफ्नो रैथाने उत्पादन खाद्यान्नभन्दा पनि अन्य आयातित खाद्यान्नको प्रयोग बढ्दो छ। स्थानीयलाई रैथाने खाद्यान्न प्रयोग गराउन के के कदम चाल्न सकिन्छ होला?
- धन्यवाद, तपाईँलाई सफलताको शुभकामना।
समग्रमा आजको मेरो अन्तरवार्ता अपेक्षा गरेकोभन्दा धेरै नै राम्रो भयो। त्यसैले खुसी मन लिएर कोठा फर्केँ।
2083-1-1: आजबाट वि.सं. २०८३ साल सुरु भयो। नयाँ वर्ष मनाउन आफन्तको घरमा निम्तो थियो। तर म गईनँ। मेरो टियू अधिकृतको इन्टरभ्यू बाँकी नै छ। त्यसैको तयारीमा व्यस्त छु। आजकाल मलाई लाइब्रेरीमा बसेर पढ्नु भन्दा अरु कुरामा रमाइलो लाग्दै लाग्दैन। आज पनि लाइब्रेरीमा बसेर दिनभर पढेरै नयाँ वर्ष मनाएँ। समग्रमा २०८२ साल मेरो लागि एकदमै उपलब्धिमूलक रह्यो। यही सालमा नै मेरो संघर्षले सार्थकता पनि पायो। त्यसैले म २०८२ सालप्रति धेरै नै कृतज्ञ छु। र म निश्चिन्त छु कि मेरो २०८३ साल अझ बढी उपलब्धिमूलक हुनेछ। सबैलाई नयाँ वर्षको शुभकामना।
2083-1-3: अन्ततः मेरो लाइब्रेरीको कार्डको अवधि सकियो। कलेजको थेसिस सकेको भएर अब फेरि समय थप्न मिल्दैन। लगभग २ वर्षको अवधिको बिहान, दिउँसो, बेलुका सबै मेरो समय लाइब्रेरीभित्रै बितेको छन्। त्यसैले यसप्रतिको आत्मियता यत्ति गहिरो छ कि म शब्दमा व्यक्त गर्न सक्दिनँ। भोलिदेखि लाइब्रेरी छाड्ने कुराले मात्र पनि आज मलाई दिनभर नरमाइलो लागिरह्यो। संगै पढ्ने साथीहरू, आत्मीय गार्ड दाइदिदीहरू अनि लाइब्रेरीको कुना-कुना जहाँ मैले सुख-दुःख अनि संघर्षहरू साटेकी छु, सबैलाई चट्टै छाड्न मन कहाँ मान्दो रहेछ र? फेरि नछाडीकन पनि त कुनै विकल्प छैन नि! जीवनभर लाइब्रेरीमै बसेर पढ्ने सौभाग्य कहाँ पाउन सम्भव छ त! लाइब्रेरीमा जाने लत छुटाउन एक-दुई दिन त पक्कै गाह्रो होला मलाई, तर पनि भोलिदेखि कोठामै पढ्ने बानी बसाउनुछ।
2083-1-5: अन्तिम नतिजा आउने समय भइसकेको छ, त्यसैले आजकाल हरेक समय बागमती, खाद्य र टियूका वेबसाइटहरू चेक गर्ने गर्छु। आज पनि सदाझैँ बिउँझने बित्तिकै बागमती प्रदेशको वेबसाइट चेक गरेँ। सुरुमै बागमती पाँचौँको सिफारिसको नतिजा देखेँ। हत्तार-हत्तार खोलेर हेरेँ, मेरो नाम पनि खुला तर्फको योग्यताक्रममै देखियो। म बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा सिफारिस भएछु। मैले कार्यक्षेत्र छान्दा सुरुमा प्राथमिकतामा राखेको मन्त्रालय नै यही थियो। आफूले चाहेकै ठाउँमा सिफारिस भएको देख्दा म आफैँप्रति गर्वान्वित अनि हर्षित भएँ। मेरो कुल प्राप्तांक 186.475 आएको रहेछ। सबैभन्दा पहिले बाबा आमालाई भिडियो कलमा सुनाएँ। मेरो सफलता देख्न प्रतिक्षारत बाबा आमा खुसी नहुने त कुरै भएन। संयोगवश आज घरमा पितृ पूजा पनि रहेछ। मेरा पुर्खाप्रति पनि नमन। त्यसपछि मेरा दिदीबहिनीहरू, आफन्तहरू, नजिकका साथीभाइ र शुभचिन्तकहरूसँग खुसी साटेँ। अन्ततः सरकारी सेवामा मेरो यात्रा सुरु भयो। अब तन-मनका साथ देशको सेवा गर्नुछ। देश बनाउनुछ।
2083-1-6: हिजो नायब सुब्बाको सिफारिस भएको उपलक्ष्यमा बधाई तथा शुभकामना आदान-प्रदान अनि उत्सव मनाउँदै दिन बित्यो। अझै उत्सवको माहोल सेलाएकै थिएन। फेरि आज पनि बिहान बिउँझने बित्तिकै मोबाइलतिरै आँखा दौडाएँ। साथीको मेसेज आएको रहेछ, जसमा लेखिएको थियो ‘एकै दिनमा नै नायब सुब्बाबाट शाखा अधिकृत भएकोमा बधाई’। यो मेसेज देख्नेबित्तिकै खाद्य संस्थानको नतिजा आएको कुरा थाहा पाएँ। हत्तार-हत्तार वेबसाइट खोलेर हेरेँ। सिफारिस भएछु। खुसी नहुने त कुरै भएन। फेरि पनि परिवार अनि आफन्तसँग खुसी साटेँ। मलाई लोकसेवा सबैतिर सिफारिस भएकोमा भन्दा पनि, हाम्रो गाउँबाट लोकसेवामा नाम निकाल्नेमा म पहिलो बन्न पाएकोमा धेरै खुसी लागेको छ। साथै गाउँकै पहिलो अधिकृत बन्न सकेकोमा गर्व पनि महसुस भएको छ। आशा छ, अब अरु भाईबहिनीहरुलाई पनि सरकारि सेवामा आउने उत्प्रेरणा मिल्नेछ।
2083-1-7: मेरो नाम निस्किनुमा लाइब्रेरीको ठूलो हात छ। लाइब्रेरी नभएको भए सायद मेरो पढाइ यत्ति रफ्तारमा जाँदैन थियो। म लाइब्रेरीप्रति सधैँ ऋणी रहनेछु। पास भएको उपलक्ष्यमा लाइब्रेरीमा पनि कृतज्ञतास्वरूप मिठाई बाँड्न मन लाग्यो। त्यसैले चकलेट र मिठाई बोकेर आज बिहान ८ बजे लाइब्रेरी पुगेँ। लाइब्रेरीका स्टाफहरूलाई मिठाई र विद्यार्थीहरूलाई चकलेट बाँडेर आएँ। मेरो संघर्ष देखेको लाइब्रेरीसँग सफलताको उत्सव मनाउन पाउँदा धेरै खुसी लाग्यो।
2083-1-8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निकालेको पछिल्लो सूचनामा सिफारिस भएको विद्यार्थीले निरोगिताको प्रमाणपत्रसहित नियुक्तिका लागि कार्यालयमा सम्पर्क गर्नुपर्ने कुरा उल्लेख थियो। त्यसैले आज दिउँसो अनामनगरस्थित सिंहदरबार वैद्यखाना विकास समितिको कार्यालयमा गएर निरोगिताको प्रमाणपत्र बनाएँ। त्यसपछि नियुक्ति गरिपाऊँ भन्ने विषयमा निवेदन लेखेँ अनि खाद्य संस्थानको प्रधान कार्यालय अन्तर्गत मानव संसाधन विभागमा बुझाएर आएँ। हुन त एकैचोटि दुई ठाउँमा सिफारिस हुँदा कुन छान्ने दुविधा धेरै नै हुने रहेछ। त्यसमाथि साथीभाइ, आफन्त र शुभचिन्तकहरूको फरक-फरक सुझावले झन् आफ्नो निर्णयलाई नै दुविधामा पार्ने रहेछ। धेरै पक्षको मूल्यांकन र विचारपछि अन्ततः मैले खाद्य संस्थानमै काम गर्ने निधो गरेँ। त्यसैले मैले बागमती प्रदेशको लोक सेवा आयोग कार्यालयलाई सहायक पाँचौँ तह (अप्राविधिक) मा स्थायी नियुक्ति नलिने सम्बन्धमा औपचारिक निवेदन लेखेर इमेलमार्फत बुझाएँ। अब उक्त पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएमा मेरो कुनै दाबी विरोध रहने छैन।
2083-1-9: खै के सम्बन्ध छ मेरो चित्रकारितासँग, म चाहेर पनि छाड्नै सक्दिन। बाल्यापनदेखि नै चित्रकारितामा खुब रमाउँथेँ। लोकसेवा पढ्दासम्म त झन् चित्रकारिताप्रतिको लगाव खुब बढेको थियो। जसले गर्दा लोकसेवा तयारीमा समय निकाल्न गाह्रो पर्थ्यो। अन्ततः मैले चित्रकारिता र लोकसेवा तयारी सँगसँगै लैजान नसकिने निधो गरेँ र मेरा सबै पेन्टिङका सामानहरूलाई एउटा बाकसमा, लोकसेवा पास गरेपछि मात्र खोल्ने वाचा सहित बन्द गरिदिएकी थिएँ। २ वर्षको अवधिमा मैले फिल्म हेर्न हल, मिठो खान रेस्टुरेन्ट, साथीभाइसँगको घुमघाम, आफन्तसँगको भेटघाट अनि चाडपर्वहरू सबै सबै त्यागेँ। तर यी कुराहरू त्याग्दा मलाई कत्ति पनि नराम्रो लागेन। तर पेन्टिङचाहिँ यस्तो चिज थियो, जसको सम्झनामा बेला-बेला आँखा रसाइरहन्थ्यो। अनि छिटो नाम निकालेर फेरि खाली समय रङ्गहरूसँगै बिताउने उत्प्रेरणाले पढाइको रफ्तार बढ्थ्यो। अन्ततः प्रतीक्षाको घडी सकियो। आज भोटाहिटीको आर्ट पसलमा गएर आवश्यक सबै पेन्टिङका सामानहरू जस्तै क्यानभास, रङ, कुची, … किनेर ल्याएँ। अब खाली समयलाई रङ्गहरूसँगै रङ्गाउने छु। ….म पहिलोचोटी काठमाडौँ आउँदा सुन्धाराको धरहरा वि.सं. २०७२ सालको भूकम्पले भत्काइसकेको थियो, चढ्नै पाइएन। फेरि पुनर्निर्माण गरेर नयाँ धरहरा वि.सं. २०८१ सालमा सर्वसाधारणका लागि सशुल्क खुला गरियो। म हप्तैपिच्छे सेडेप इन्स्टिच्युटमा साप्ताहिक परीक्षा दिन जाँदा बाटैमा पर्थ्यो। तर मैले लोकसेवा पास गरेपछि मात्र चढ्ने अडान राखेकी थिएँ। अन्ततः आज धरहरा चढेँ। यससँगै सरकारी सेवामा प्रवेश गरेर मात्र धरहरा चढ्ने मेरो वाचा पनि पूरा भयो।
2083-1-15: खाद्य संस्थानको नियुक्ति प्रक्रिया अगाडि बढेको छैन। हप्तादिनभन्दा बढी भइसक्यो म लाइब्रेरी नगएको। कोठामा दिनहरू सकेसम्म उपलब्धिमूलक नै बनाउने प्रयास गर्दै छु। तर लाइब्रेरीमा जसरी पढाइको रफ्तारचाहिँ अलि हुन सकेको छैन। यदि मेरो कार्ड एक्सपायर नभएको भए सम्भवतः अझै पनि म लाइब्रेरीनै जाने थिएँ। लगातार २ वर्षसम्म सहकार्य गरेको लाइब्रेरीसँग छुट्टिन कहाँ सजिलो हुँदोरहेछ र…! छिनछिनमा दौडेर लाइब्रेरी नै पुगौँ झैँ लाग्छ। आज पनि लाइब्रेरी जान खुब मन लागिरहेको थियो। त्यसैले लाइब्रेरीको पेन्टिङ बनाएर नै दिन बिताएँ। धेरै समयपछि पेन्टिङ गरेको भएर कस्तो बन्ला भन्ने संकोच थियो मनमा। तर पेन्टिङ बनिसक्दा यो तारिफयोग्य नै थियो। फेसबुकमा साथीहरूको प्रतिक्रिया पनि राम्रै आयो।
2083-1-19: निलो कोट लगाउने पनि एउटा यस्तो सपना थियो जसले लोकसेवाको तयारीको क्रममा अल्छी लागेता पनि पढ्न उत्प्रेरित गरिरहन्थ्यो। आज यो सपना पनि पूरा भयो। मैले खाद्य संस्थानका लागि नयाँबजारमा अवस्थित युनिक टेलर्सबाट रु. नौ हजार नौ सयमा गाढा निलो कोट, प्यान्ट अनि सेतो सर्ट सिलाएँ। कोठामा ल्याउने बित्तिकै लगाएर फोटो खिचेँ। अ, साँचो निलो कोटमा मलाई खुब सुहाएको थियो।
Khipma: लाईब्रेरी जान थालेदेखि मैले मेरै दैनिकी कैद गर्नको लागि एउटा युट्युब च्यानल खोलेँ। जसको नाम खिप्मा (Khipma) राखेँ। वान्तवा (राई) भाषामा यसको अर्थ ‘पढ्नु’ भन्ने हुन्छ। यसको मुख्य उद्देश्य मेरो लोकसेवा यात्रा र लाईब्रेरीको सम्झनाहरू सङ्ग्रहित गर्नु नै हो। कतिपय निराश दिनहरूमा आफ्नै भिडियोहरू नै उत्प्रेरणाको स्रोत बन्थे।