पुस्तक अनि प्रेम…?
शिर्षक: कफी अनि तिमी
वर्षाको समय, छनछन पानी दर्किरहेको छ। तिमी कफीको चुस्कीसँगै पुस्तकहरूमा हराइरहेका छौ। कोसिस त मेरो पनि पुस्तकमा हराउने नै हो, तर खै किन! घरीघरी मेरा चञ्चल नयनहरू तिमीतिरै हराइरहेका छन्। गल्तिबस साइलेंट मोडमा राख्न बिर्सेको तिम्रो मोबाइलमा बजेको सङ्गीतले प्रेमिल मौसम झन् प्रेमिल बनाउँदैछ। अपरिचित तिमी! मलाई यत्ति आत्मीय लाग्दैछौ कि मानौँ तिमी मेरो वर्षौँको प्रेम हौ अनि पुस्तकालय पनि यत्ति प्रेमिल लाग्दैछ कि मानौँ यो एक क्याफे हो। अवश्य पनि बिस्तारै दिन ढल्कनेछ…वर्षा रोकिनेछ…कपको कफी सकिनेछ…अनि तिमी मेरो सामुन्नेबाट ओझेल हुनेछौ…! काश, यो समय यहीँ रोकिदिए…!
शिर्षक: परफ्यूम
हिउँदको सुख्खा मौसम भए पनि समय प्रेमिल छ। झ्याल अगाडि एक जोडी जुरेली प्रेम साटिरहेका छन्। तिमी मेरो देब्रे साइडमै बसेको छौ। हाम्रो दूरी जम्मा ५ सेन्टिमिटर होला। हाम्रो नयनहरू परिचित भए पनि हामी एकअर्कोसँग अन्जान नै छौँ। झ्यालबाट हावाको झोका चञ्चल भई घरीघरी जिस्काइरहन्छ। अ, साँच्चि, तिम्रो परफ्युमको सुगन्धलाई म कहाँ बेला-बेला पुर्याइरहन्छ। म नजानिँदो पारामा तिम्रो सुगन्धमा छिनछिनमा भुलिरहन्छु। त्यसैले त म तिमीदेखि टाढा-टाढा भाग्न खोज्छु, तर खै किन हो, तिम्रो मेरो बसाइ जुरिरहन्छ। अझ शान्त मौसम पनि हावाको सुसेलिमा यसै संगीतमय बनिदिन्छ। खै संयोग नि कस्तो…!
शिर्षक: काश, मौन भइदिएको भए…!
बिहानीपख कलिलो घामको किरण चउरभरि पोखिएको थियो। म सदाझैँ लाइब्रेरीतिर गइरहेकी थिएँ। टियू घण्टाघर अगाडि, धकमक्क फुलेको ज्याकारान्डाको बोटनेर पुगेपछि घर फर्कँदै गरेको तिमीलाई देखेँ। कानमा इयरफोन लगाएर तिमी लाइब्रेरीबाट फर्किरहेको थियौ। यसरी नै भेट त हाम्रो दैनिक हुन्थ्यो, तर अहँ बोलचाल भएको याद छैन। त्यसैले तिमीलाई बेवास्ता गर्दै अगाडि बढेँ। जाँदै गर्दा तिम्रो “हेलो” भन्ने सम्बोधनले मलाई झस्काएको थियो। हो! म साँच्चिकै यति चकित थिएँ कि मानौँ ढुंगाको मूर्ति बोल्दै छ। मेरो पाइला एक्कासी रोकिए र तिमीतिर हेरेँ। तिम्रो ओठमा मन्द मुस्कान थियो। म नाजवाफ तिमीतिर मुस्कुराइदिएँ मात्र। हत्तपत्त तिमीले नै प्रश्न गर्यौ “भर्खर आउँदै हुनुहुन्छ?”। मैले छोटो जवाफ दिएँ “हजुर, हो”। यत्तिकैमा मौनता छायो। मेरो मनले पनि केही बोलौँझैँ गरिरहेको थियो, तर कसरी बोल्ने आँट जुटेन। तिम्रो पनि आँखाले त धेरै कुरा बोलिरहेको थियो, तर फेरि यसै छुट्टीहाल्यौ। तिम्रो यो अनौठो व्यवहारले म साँच्चिकै चकित थिएँ। किन भनौँ? किनकि तिमी हजारौँमा एक यस्तो व्यक्ति हौ, जो समुद्रभन्दा शान्त छौ। तिम्रो वरिपरि १-२ साथीसमेत देखेकी छैन। तिमी प्रत्येक दिन ल्यापटप लिएर लाइब्रेरी आउँछौ, दिनभर यसैमा हराउँछौ…मानौँ तिमी एक्लै छौ। आजसम्म पनि मैले तिमीलाई कसैसँग बोलेको, हाँसेको देखेकी छैन। कोही यति शान्त कसरी हुन सक्छ? तिम्रो त्यही मौन स्वभावले त हो म आकर्षित भएको। हो, साँच्चिकै तिमीलाई हेक्का नहोला तर हरेक दिन तिम्रै ख्याल हुन्थ्यो मलाई। तिमीलाई तिम्रो दैनिकीको त्यति जानकारी नहोला, जति म बेलिबिस्तार लाउन सक्छु। खै, तिम्रो त्यो मौनता मलाई यति बिघ्न प्यारो किन लाग्थ्यो, त्यो मलाई नै थाहा छैन। तिमीसँगको मौन सम्बन्ध नै काफी थियो। तर आज तिमीले मलाई किन आत्मीय भएर बोल्न खोज्यौ? तिमीले बोल्न खोजेको दिनदेखि हो… मेरो मन, थाहा छैन, तिम्रो मुस्कानको व्यग्र पर्खाइमा छ या त तिम्रो पर्खाइमा! हो, म प्रत्येक दिन लाइब्रेरीको त्यही ठाउँमा भौतारिरहन्छु, जहाँ तिमी दिनभर बस्ने गर्थ्यौ। तर तिमी न त्यो दिन फर्क्यौ… न त अर्को दिन… न फेरि अर्को दिन। आज त हप्ता, दिन, महिना अनि वर्ष पनि बितिसक्यो। तर मलाई भने तिम्रो रहस्यमय मुस्कानले नै सताइरहेको छ। काश, त्यो दिन पनि तिमी मौन भइदिएको भए…!
शिर्षक: मलाई थाहा छ!
मलाई सबै कुरा थाहा छ, मेरो लागि तिम्रो आँखामा पोखिएको माया देखेकी छु…मेरो सामुन्ने हुँदा तिम्रो बढेको धड्कन सुनेकी छु…अनि तिम्रो मौनताले गर्ने मेरो तारिफ पनि सुनेकी छु। मलाई हेरेर घण्टौँ तोलाउने तिम्रो बानी पनि चाल पाएकी छु। हाम्रो नयन जुध्दा तिमीले आत्तिएर नजर झुकाएको पल पनि सम्झेकी छु। एक हप्ताको अन्तरालपछि मलाई भेट्दा तिम्रो मनमा छचल्किएको बेचैन पनि देखेकी छु। तर पनि म केही थाहा नपाएझैँ गरी बेवास्ता गर्छु, थाहा छ किन? किनकि म “प्रेम” नामको पिँजडामा बाँधिन चाहन्न। मेरो मनलाई यत्ति रुखो बनाएकी छु कि यहाँ प्रेम नामका पालुवाहरू कहिल्यै पलाउने छैनन्…!
शिर्षक: कसरी पढ्न सकुला र म?
सदाझैँ लाइब्रेरी शान्त थियो। एउटा सिङ्गै टेबलमा म एक्लै पढ्नमा व्यस्त थिएँ। मेरो टेबल अगाडि कोही आएझैँ लाग्यो, किताबबाट नजर उठाएर हेरेँ…एक्कासी सास रोकिएझैँ भयो…कपिमा शब्दहरूसँगै बगिरहेको हातको कलम रोकियो…अनि मन एक्कासी अत्तालियो, किनकि त्यो उभिएको मान्छे तिमी थियौ। तिमी सधैँ बस्ने टेबल त खाली नै थियो, तर पनि किन मेरै टेबलमा आयौ? कारण नबुझेर म बढी छक्क थिएँ। हुन त हाम्रो भेट भएको त धेरै समय नै भएको थियो। प्रायःजसो हामी आमुने-सामुनेको टेबलमा बस्छौँ। तिमीलाई हेक्का नहोला, मलाई तिम्रो पहिलो नजर खुब आकर्षक लागेको थियो। किन भनौँ? किनकि तिम्रो आँखाको रङ अरूको भन्दा धेरै फरक छ…हल्का खैरो रङमा चम्किलो देखिन्छ अनि मुसुक्क मुस्कुराउँदा गालामा बस्ने डिम्पलले पनि खुब सुहाउँछ। साँच्चिकै तिम्रो नयनले मलाई खोज्थ्यो या त मेरो भ्रम हो, तिमीले घरीघरी मलाई नै हेरेझैँ लाग्थ्यो। अनि जब म पनि तिम्रो आँखामा हेर्थेँ, तिमी हत्तपत्त अत्तालिएझैँ गरेर आँखा झुकाउँथ्यौ। मलाई यो दृश्य खुब रमाइलो लाग्थ्यो। नजरको लुकामारी खेल्दा खेल्दै खै कहिलेदेखि हो तिमीलाई हेर्ने बानी परेछ, पत्तै भएन। तिमी नहुँदा पनि आजकाल तिमी बस्ने टेबलमा नै आँखाँ गइरहन्छ। हुँदैहुँदा आज त मेरै टेबलतिर बसाइ सरेछौ, अब तिमी आफैँ भन…तिम्रो सामु बसेर म कसरी पढ्न सकुला र…!