हिजो
खालि खुट्टा हिड्ने त्यो पाइलालाई
आज जुत्तामा पनि बिझाएको छ
हिजो झुपडीमा रम्ने त्यो आत्मालाई
आज महलले पनि सताएको छ
सायद हिजो भन्दा आज, खुसीमा
केही त बद्लिएको छ!
महङ्गी पनि अति बढेछ,
हिजो सय हजारले आउने खुसी
आज लाख करोडमा जोखिएको छ
हिजो निःशुल्क गासिने मित्रता
आज पद र हैसियतमा तौलिएको छ
सायद हिजो भन्दा आज, सम्बन्धमा
केही त बद्लिएको छ!
हिजो ज्ञान गुनका कुरा हुन्थे
आज पैसा र पासपोर्टको कुरा हुन्छ
हिजो गाउँठाउका कुरा हुन्थे
आज देश विदेशका कुरा हुन्छ
सायद हिजो भन्दा आज, उडानमा
केही त बद्लिएको छ!
हिजो अतितका सम्झनाहरू हुन्थे
आज बिगत सम्झने फुर्सद छैन
हिजो सिर्फ वर्तमानमा दिन धल्थे
आज भविष्यको दौडमा समय बित्छ
सायद हिजो भन्दा आज, जिउनुमा
केही त बद्लिएको छ!
हिजो डाँडा पाखा डुल्ने रहरलाई
आज कोठाको चौघेरा नै प्यारो लाग्छ
हिजो सबै रङ्गिन खोज्ने मनलाई
आज फिक्कापन नै सार्थक लाग्छ
सायद हिजो भन्दा आज, म हुनुमा
केही त बद्लिएको छ!
सायद हिजो भन्दा आज, समयमा
केही त बद्लिएको छ!
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.