प्रत्येक दिन
उदाउँदो घामसँगै
भेटिने नयाँ आकृतिहरू
साँझको गोधूलिसँगै
कता हराउँछन्?
बाध्यताबीच उम्रने
जिम्मेवारी पूरा गर्दा गर्दै
वर्षौँ लगाएर
बुनेको सपनाहरू
कता बिलाउँछन्?
अनि निर्दोष आँखामा
आवारा भई पोखिएका
रंगिबिरंगी रहरहरू नि…!
उमेरको उकालोसँगै
कहाँ छुट्छन्?
सायद,
समय धेरै कठोर छ…!
त्यसैले त..वर्षौँ सँगै बाँचेको
आकृतिहरू थाहै नदिई
सुटुक्क हराइदिन्छन्,
मिठो रहर अनि सपनाहरू
एकफेर बाँच्छु भन्दा-भन्दै
अनायासै ओइलिदिन्छन्..!
अनि
जीवनको परिभाषा खोज्दा-खोज्दै,
खै कुन बेला हो…!
जीवनको घडी नै रोकिदिन्छ!
…फेरि कहिल्यै नचल्ने गरी,
…फेरि कहिल्यै नफर्किने गरी!
बाकी त त्यही,
मनभरिको सम्झना अनि
भित्ताका मौन तस्वीरहरू!!
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.