प्रत्येक दिन
घामको स्पर्शले मलाई बिउझाउँछ
बिलाई जाने शीतको थोपाले
अमूल्य जीवनको अर्थ बुझाउछ
मौरीले परिश्रमी बन्न सिकाउँछ
गुलाफले काँडासँगै हास्न सिकाउँछ
अनि
जूनले अन्धकारसँगै रम्न सिकाउँछ
प्रत्येक पल
मेरो खुशीमा हिमाल मुस्कुराई दिन्छ
कमजोरीमा पहाड साहस बनिदिन्छ
यात्रा गर्दा म सँगै नदी बगिदिन्छ
न्यास्रो लाग्दा घामले सुम्सुमाइदिन्छ
म दुःखी हुँदा बादल मडारिदिन्छ
अनि दुखेको मन पखाल्न बर्षा भइदिन्छ
प्रत्येक रात
औँसीको निष्पट्ट अन्धकारमा
नौलाखा ताराहरू सँगै
चन्द्रमा मेरो उज्यालो बनिदिन्छ
जूनकिरी मार्गदर्शक बनिदिन्छ
तुसारो न्यानो पछ्यौरी बनिदिन्छ
अनि रातको त्यो असीम मौनता
मेरो उत्तम सृजना बनिदिन्छ
प्रत्येक वसन्तमा
सुनाखरी मेरो सृङ्गार बनिदिन्छ
कोइलीको कुहु कुहु धुनसँगै
मयूरले छमछम नाचिदिन्छ
म गित गाइदिन्छु
अनि सुसेल्दै हावाले
मेरो गितमा सँगित भरिदिन्छ
अझ यो त मेरो सास बनिदिन्छ
हो, त्यसैले त म प्रेम गर्छुँ
प्रत्येक दिन रहस्य बोकेर आउने
त्यो कलिलो बिहानी सँग
सुन्दर गन्तव्यमा पुर्याउने
प्रत्येक दोबाटोहरूसँग
माथिमाथि उड्न सिकाउने
चन्चले त्यो बादलहरू सँग
पिडा लुकाई हास्न सिकाउने
हिमालका टाकुराहरू सँग
जीवनलाई रङ्गाइदिने
प्रकृतिको रङ्गहरूसँग
र मेरो अस्तित्व बनिदिने
यो सिङ्गो ब्रह्माण्ड सँग