म बतासको संगीत सुन्छु
अनि बादलको पंख देख्छु
माटोमा ढुकढुकी महसुस गर्छु
बुढो समयको आत्मविलाप सुन्छु
शीतल चन्द्रमामा छहारी अनि
पाखा–पखेरामा वात्सल्यता भेट्छु
अब तिमी आफैँ भन,
म पागल कि प्रकृति–प्रेमी?
सहरको कोलाहलमा पनि
म मौनतामा हराइरहन्छु
भित्ताको ऐना हेरी मुस्कुराउँदै
आफ्नै यादमा तोलाइरहन्छु
अनि एक्लै खै के–के हो...!
आफैँसँग बरबराइरहन्छु
अब तिमी आफैँ भन,
म पागल कि आत्मप्रेमी?
झिलिमिली सहरको म
असीम दरिद्रता देख्छु
मौन अन्धकारको म
पीडादायी चित्कार सुन्छु
जीवनको उत्सवमा पनि
म त मृत्युलाई महसुस गर्छु
अब तिमी आफैँ भन,
म पागल कि विरह–प्रेमी?
आफ्नै आत्मा पनि बेखबर,
शरीरबाट अलग देख्छु
मेरो बदलिँदो रूपरङ्गमा
एक अपरिचित आकृति भेट्छु
आफ्नै जीवन पनि कुनै एक
लिखित कहानीझैँ देख्छु
अब तिमी आफैँ भन,
म पागल कि मिथ्या-प्रेमी?
कहिल्यै नदेखेको तिम्रो
आकृतिको झल्को देख्छु
तिम्रो मौन ओठले नबोलेका
प्रेमिल शब्दहरू सुन्छु
तिम्रा मोहित नयनहरूमा
म त प्रेमपत्र कोरिएको पो देख्छु
अब तिमी आफैँ भन,
म पागल कि उन्मत्त–प्रेमी?
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.