मलाई थाहा छ 
सुख्खा मरूभूमिमा
कुनै वसन्त आउने छैन 
उजाडिएको मनमा 
प्रेमको पालुवा पलाउने छैन 
यद्यपि
तिम्रो साथमा रहदा
डर लाग्छ, कतै 
तिमी संग कफी पिउने, 
बानी पर्ला कि! मलाई
कतै
तिम्रो बेकम्फुसे गफमा हास्ने 
बानी पर्ला कि! मलाई
साहस त छ, मेरो
कठिन संघारहरू एक्लै तर्ने 
जीवनका उकाली ओराली
मात्र छायासॅंगै कटाउने 
यद्यपि
हाम्रो यात्रा एउटै हुदा 
डर लाग्छ, कतै
दोबाटोमा तिमीलाई कुर्ने 
बानी पर्ला कि! मलाई
कतै
तिम्रो हात समाएर हिड्ने 
बानी पर्ला कि! मलाई
तिम्रो बाच्ने दुनिया अलग
तिम्रो जिउने कथा बेग्लै 
यद्यपि
हामी रंगमंचमा सॅंगै हुदा
डर लाग्छ, कतै 
हाम्रो छुट्टै कथा लेख्ने 
बानी पर्ला कि! मलाई
कतै 
तिमीलाई नै नायक ठान्ने 
बानी पर्ला कि! मलाई
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.