खै के सुनाउ?
उस्तै त छ...!
मेरो हाल... बेहाल
बद्लेको छैन...!
झोलाभरीको किताब
अनि मनभरीको सपना
दिनभर... उसैगरी
भौतारिन्छु बेखबर..!
सहरको गल्ली गल्लीमा
अनि
अँध्यारो कोठाको
चौधेरा नि उस्तै
सफलताको किरण अझै
छिर्न मान्दैन...!
म पनि उसैगरी
जुनकिरीको उज्यालोमा
छरपस्ट पुस्तकको बीचमा
अझै अलमलिएको छु
अदृश्य उल्झनमा
कतै अल्झिएको छु!
अ, अनि प्रगति?
छ नि धेरै...!
सम्हालि नसक्नु
एक थान सपना छ
पोखि नसक्नु
एक भारी मन छ
भुलि नसक्नु
कालो अतीत छ
त्यागी नसक्नु
गह्रै नैराश्यता छ
अनि
जोखि नसक्नु
दराज भरि
योग्यताको...
प्रमाणपत्र छ!
बरू तिम्रो सुनाउ?
उडानको त्यो
सफलताको कथा!
अनि जितको
ऊँचाई बाट देखिने
संसारको रङ्ग?
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.