पुस्तकालय भन्नाले उत्कृष्ट पुस्तक र लेखरचनाहरुको संग्रह भन्ने बुझिन्छ। अर्को अर्थमा पुस्तकालय भनेको पुस्तकहरुको संग्रह हो। त्यस्तै १८ वर्ष मुनिका बालबालिकाहरुको इच्चा आकांक्षा र चाहाना समेट्ने खालको सिर्जनात्मक र रचनात्मक खालको शिक्षा सामाग्रिहरु, खेलौनाहरु उपलब्ध गराउने पुस्तकालय नै बालपुस्तकालय हो। यसको उद्देश्य सबै विद्यार्थीहरुलाई निशुल्क रुपमा पुस्तकहरु उपलब्ध गराउनु हो। त्यही बसेर पढ्न मन गर्ने विद्यार्थीहरुलाई शान्त वातावरण पनि प्रदान गर्दछ। १८ वर्ष उमेर नपुगेको व्याक्तिलाई बालबालिका भनिन्छ। उनीहरु काचो मातो जस्तै हुन्छ, जुुन आकारमा धाल्यो त्यही बन्ने। सानै उमेरमा पढेको ज्ञान र सिकेको संस्कारले व्याक्तित्व विकासमा ठूलो योगदान पुर्याउदछ। त्यसैले बालबालिकालाई सानै उमेरदेखि नै उत्कृष्ट पठन संकृति सिकाइनु पर्दछ। अवश्य पनि चित्र, कथा, कविता लगायत पुस्तक पढ्न पाउदा बालबालिकालाई अध्यनशील बनाउनु साथै पठनसिपको विकास हुन्छ। पाठ्यपुस्तकले बालबालिकाको व्याक्तित्व विकासमा ठूलो भुमिका खेल्दछ। कथा कविता चित्रको मार्फत पढ्दा बालबालिकाहरु पात्रसगै रमाउदै सजिल्यै बुझ्ने हुन्छ। अर्को तर्फ घरमा पाठ्यपुस्तक पढ्न अल्छि गर्ने बालबालिकाहरु पनि पुस्तकलयबाट लगेको पाठ्यपुस्तक पढ्न रुचाउने हुन्छन्। सानो उमेर देखि नै धेरै भन्दा धेरै पुस्तक पढ्न बानी बस्यो भने सोचाईको स्तर पनि वृद्धि हुनुका साथै सिर्जनात्मक तर्फ केन्द्रित गराउछ। त्यसैले प्रत्येक अभिभावकले आफ्नो बालबच्चालाई पुस्तकप्रेमी बनाउन अतिरिक्त समय र रकम खर्चिनु जरुरी छ।
सुरुमा त बालबालिकाको पठन संस्कृति के हो? त्यो बुझ्न जरुरी छ। प्रायजसो हामी अभिभावकहरुमा के भ्रम छ भने बालबालिकाहरुले परिक्षामा उत्कृष्ट नतिजा ल्याएमा त्यसलाई नै राम्रो पठन संस्कृतिको उपज मान्ने गछौ। फलस्वरुप हामीहरु आफ्नो बालबच्चालाई राम्रो स्कुलमा पठाएर हुन्छ कि, टिउसन पठाएर हुन्छ कि, प्रशस्त सेवा सुविधाहरु उपलब्ध गराएर हुन्छ कि, उत्कृष्ट अंक ल्याउने बनाउने होडबाजिमा होमिन पुग्छौ। तर विडम्बना, त्यो बालबच्चाले कसरी अंक ल्याइरहेको छ, त्यस्को लेखाजोखा खासै गरिदैन। मानौ, एउटा बच्चाले विषयवस्तुको मुख्य सार नबुझि सबै कण्ठष्ट पारेको भरमा धेरै अंक ल्यायो रे। तर त्यो अंकको के मूल्य? यदी त्यो बच्चाले बुझेर पढेको भए पो उसले त्यो कुरा व्यावहारमा लागु गर्न सक्थ्यो र साथसाथै उसको सोचाइको गुणस्तर पनि विकास हुदै जान्थ्यो। तर घोकेर पढ्ने संस्कृतिले उल्तै उसको सिर्जनशिल क्षमतालाई कमजोर बनाउदै लान्छ र साथसाथै सोच्ने शक्ति पनि संकुचित बनाउदै लान्छ। अवस्य पनि घोकन्ते खाल्को पठन संस्कृतिले दिगो रुपमा फाइदा दिदैन। त्यसैले प्रत्यक बालबालिबामा बुझेर पढ्ने पठन संस्कृतिको विकास हुन जरुरी छ।
घरनेै बालबालिकाको पहिलो पाठशाला हुनाले घरबाटै उत्कृष्ट पठन संस्कृतिको विकास हुन जरुरी छ। यसको लागि के गर्न सकिन्छ त? यसको लागि सुरुमा त बालबालिकाहरुलाई उनीहरुको इच्छाअनुसारको पुस्तकहरु उपलब्ध गराईदिने (उनीहरु अक्सर रंगिबिरंगि चित्रहरुले सजाएको पुस्तकहरु पढ्न रुचाउछन्)। बालबालिबाको पढाईको लागि अभिभावकको समय छुट्याउने। एक विद्यालय एक पुस्तकालय जस्तो कार्यक्रमहरुलाई सबै विद्यालयहरुमा पुस्तकालयको पहूच सुनिश्चित गर्नुपर्छ। अझ सम्भव भएसम्म स्थानीय तहले नै प्रत्येक वडाहरुमा पुस्तकालय स्थापना गर्न सके उत्तम हुन्छ। यस्तो कार्यहरुमा टोलवासीहरुको पनि भुमिका महत्वपूर्ण रहन्छ। दाताको सहयोगले केही सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गरिएको छ तर कतिपय विद्यालयहरु यो सेवाबाट पनि बञ्चित छन्। कलिलो उमेरमा नै बाल पुस्तकहरु पढ्न अवसर वा सुविधा पाएका बालबालिकाहरुमा अध्ययनशीलताको विकास हुन्छ जसले उच्च शिक्षामा पनि सहज बनाउछ। अन्ततः उच्च शिक्षा पछि पेशा व्यावसाय छान्न पनि सहज बनाउछ। स्कूलको पाठ्यक्रम भन्दा बाहिरको पाठ्यपुस्तकहरु पढ्दा पढाईमा बाधा हुन्छ भन्ने विश्वासले गर्दा कतिपय अभिभावकहरुले बालबालिकाहरुलाई अरु पुस्तकहरु नकिनिदिने चलन पनि छ। तर जत्ति बढी पुस्तक पढ्यो उत्ती बालबालिकामा सिर्जनशिलताको विकास हुन्छ।
सहरबजारको बालबालिकाहरु प्रायजसो पुस्तकालयकै पहुचमा हुन्छन्। अर्को तर्फ उनीहरु इन्टरनेटको पहुचमा हुन्छन्, अतः अनलाइन पुस्तकालयको माध्यमबाट अनलाइन पुस्तकहरु पनि सजिल्लै पढ्न सक्छन्। तर देशको विकट ठाउहरु, जहा शैक्षिक वर्ष सुरु भएर अर्धवार्षिक परिक्षा सुरु हुदा सम्म पनि पाठ्य पुस्तक उपलब्ध हुदैन, त्यस्तो ठाउहरुमा पाठ्यक्रम बाहिरको लेखरचनाहरु ले भरिपूर्ण पुस्तकालयको परिकल्पना समेत गर्न असम्भव छ। दुर्भाग्यवस, त्यही ठाउहरुमा एक त आफूले चाहिएको जस्तो पुस्तक उपलव्ध हुन्न भने अर्को तर्फ गरिबीको दुष्चक्रले पनि जेलिएको पाइन्छ। अर्कोतर्फ महङ्गीको कारण पुस्तक किन्न धौधौ हुन्छ। त्यसैले त्यहाका बालबालिबाहरु सिमित पुस्तकहरु पढ्न बाध्य छन्। अनि सिमित पुस्तक पढेको बिद्यार्थीमा सिर्जनशिलता खोज्नु मुर्खता मात्र हो। यी ठाउहरुमा शिक्षा आर्जन गर्नको लागि पुस्तकालय विद्यालय पछिको दोस्रो महत्वपूर्ण माध्यम बन्न सक्छ।
हाल चै विद्यालयहरुमा नतिजा केन्द्रित सिकाई प्रणालीले अस्वस्थ प्रतिस्पर्धा जन्माइरहेको छ। नतिजामा राम्रो अङ्क ल्याउनको लागि आफ्नो मौलिक उत्तरहरु लेख्नुको सत्ता शिक्षक शिक्षिकाले लेखाईदिनुभएको प्रश्न उत्तरहरु घोक्ने दौडमा सबै विद्यार्थिहरु होमिन पुग्दछन्। यसले गर्दा विद्यार्थीहरुको मौलिक सिर्जनशीलता हराउदै जान्छ। परिक्षामा फेल भएकै कारण कतिपय विद्यालयले त विद्यार्थीलाई स्कूलबाट निकालिदिएको समाचारहरु पनि सुन्ने गरिन्छ। अझ नेपालको सन्दर्भमा त कतिपय बालबालिकाहरु आर्थिक समस्या, सामाजिक विभेद, पारिवारिक जिम्मेवारि जस्ता यावत समस्याहरुले गर्दा विद्यालयको आगनसम्म पनि टेक्न पाएका हुदैनन्। विशेष गरी यी यस्ता बालबालिकाहरुको लागि पुस्तकालय ज्ञान आर्जन गर्ने ठूलो माध्यम बन्न सक्दछ।
अर्को तर्फ, विद्यालयहरुमा निश्चित समयभित्र निर्धारित पाठ्यक्रममा रहेर सिमित विषयहरु मात्र पढाइन्छ। त्यसैले बालबालिकाको सर्वाङ्गिण विकासमा विद्यालयको योगदान मात्र पर्याप्त नहुन सक्छ। कक्षामा कत्ति अंक प्राप्त गर्यो भन्दा पनि उसले के कस्तो राम्रो कुरा सिक्यो भन्ने कुरामा ध्यान दिनुपर्दछ। अहिले प्राय जसो सबै अभिभावकहरु छिमेकीको छोराछोरीभन्दा मेरो छोराछोरीले कत्ति अंक बढी ल्यायो भन्ने होडबाजीमै लाग्ने गरेको पाइन्छ। र त्यही अनुसार बालबालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दवाव दिइन्छ। तर के यसरी ल्याएको अंक दिगो हुन्छ र? अवश्य पनि हुदैन। यस्तो प्रवृत्तिले सिकाईको गुणस्तर त खस्कीने नै भयो, थप बालबालिकामा पढाई प्रति वितृष्णा पनि जागेर आउने हुन्छ। त्यसैले अबको सिकाई दवावमा हैन उत्प्रेरणामा आधारित हुनुपर्छ।
यसको लागि सुरुसुरुमा बालबालिकाको इच्छा चाहाना अनुसारको कथा, कविता, चित्र रहित पुस्तकहरु पढ्न दिने, पढेको कुराको सारंश लेख्न लगाउने, वाचन गर्न लगाउने, र आफैलाई कविता कथाहरु रचना गर्न प्रेरित गर्ने। यसो गर्दा बालबालिकामा बिस्तारै पढाईप्रति मोह जाग्दै जान्छ, उनीहरुमा पढ्ने बानीको विकास पनि स्वतः आफै हुन्छ। अतः पढाईप्रति भोक जागेको बालबालिकालाई पढ पढ भनिरहन पर्दैन। बरु एकछिन नपढ भन्दा पनि उ पढिनैरहन्छ। यो नै बालबालिकाको उत्कृष्ट पठन संस्कृति हो जसमा पुस्तकालयले ठूलो महत्व राख्दछ। धेरै थरीको किताबहरु किन्न सम्भव पनि हुदैन। र यो अवस्थामा पुस्तकालयले पुस्तकहरु उपलब्ध गराएर पठन संस्कृतिको निरन्तरतामा भुमिका खेल्दछ।
आजको परिवेशमा हेर्दा नेपालमा सौद्धान्तिक शिक्षा भन्दा व्यावसायिक शिक्षाको आवश्यकता देखिएको छ। कुनै विषयबाट स्नातकको अध्ययन गरिसक्दासम्म पनि रोजगारी पाएन भने सर्टिफिकेटमा आएको उत्कृष्ट अंकको के महत्व? यो सबै घोकन्ते पढाईको उपज हो। बृहत ज्ञान राख्नको लागि त धेरै भन्दा धेरै लेखकद्धारा लेखिएको पुस्तकहरु पढ्नुपर्छ, पढेको कुरा मनन् गर्नुसक्नुपर्छ, दैनिक जीवनमा लागु गर्नु पर्दछ, र नयाँ नयाँ ज्ञानको खोजी गर्नुपर्छ। धेरै पुस्तकहरु पढ्ने बानीले एक त विद्यार्थीहरुमा कुनै विषयवस्तुप्रति गहन अध्ययन र अनुसन्धान गर्ने बानी बस्छ भने अर्को तर्फ आफैँ पनि लेखहरु लेख्न उत्प्रेरित हुन्छ। सानै देखि बालबालिकाहरुलाई चील जस्तो दृष्टिकोण राख्न प्रेरित गर्नुपर्दछ। उनीहरुलाई प्रत्येक विषयमा गहन अध्ययन गर्न प्रेरित गर्नुपर्दछ। नेपालको प्रत्येक जिल्लाको गाउँहरुमा कम्तीमा एउटा एउटा पुस्तकालय निर्माण गर्न सके अवश्य पनि विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुनेछ। गहन अध्ययन गर्ने बालबालीकाहरुनै भविष्यमा अनुसन्धानकर्ता वा वैज्ञानिक बन्ने सम्भावना हुन्छ।
नेपालमा पनि पुस्तकालय सम्बन्धि थुप्रै नीतिगत व्यावस्थाहरु गरिएको छ। नेपालमा वि.सं. २०६५ सालदेखि सरकारले पुस्तकालय दिवस मनाउने चलन ल्यायो। हाल नेपालको प्रायः सबै कलेज र विद्यालयहरुमा पुस्तकालयको व्यावस्था भएको छ। राष्ट्रिय शिक्षा नीति २०७६ ले स्थानीय तहसम्मै पुस्तकालयको विकास गर्ने सम्बन्धमा कार्यक्रम तथा योजनाहरु समेटिएका छन्। त्यस्तै नेपालको संविधान २०७२ ले स्थानीय तहलाई नै पुस्तकालय दर्ता गर्ने अधिकार दिएको छ। तर यत्ति हुदा हुदै पनि पर्याप्त पुस्तकालय नीति र कानूनको अभाव र तर्जुमा भएको नीतिको उचित कार्यन्वयन नहुदा पुस्तकालयहरु व्यावस्थित हुन सकिरहेका छैनन्। नीति मात्र हैन नेपालको सन्दर्भमा पुस्तकालय व्यावस्थापन र संचालन गर्ने दक्ष जनशक्तिको पनि अभाव रहेको पाइन्छ। पुस्तकालयमा आउने पाठकलाई राम्रो व्यावहार नहुदा पनि उनीहरुमा पुस्तकालयमा बसेर पढ्ने उत्प्रेरणा कम हुने हुन्छ।
अतः देशको कर्णधार र भविष्यका राष्ट्रनिर्माता नै बालबालिका हुन्। उनीहरुलाई असल र योग्य नागरिक बनाउने मुख्य आधार नै शिक्षा हो। सबै बालबालिकालाई उचित शिक्षाको पहुचमा पुर्याउनु राज्यकै कर्तव्य हो। समग्रमा, अहिले नेपालमा बालबालिकाको पठन संस्कृति नराम्रो भइरहेको छ कि भन्ने भान भइरहेको छ। अहिले पठन संस्कृति सिकाई केन्द्रित भन्दा पनि नतिजा केन्द्रित भइरहेको पाइन्छ। बालबालिकाले एउटा कक्षा उत्तिर्ण गर्दासम्म कत्ति ज्ञान हासिल गर्यो, कत्तिको व्यावहारमा परिवर्तन आइरहेको छ, सिर्जनशील भइरहेको छ कि छैन भन्ने कुरामा भन्दा पनि उसले अघिल्लो कक्षामा भन्दा कत्ति प्रतिशत बढी अंक प्राप्त भयो भन्ने कुरामा नै अभिभावक र शिक्षकको ध्यान केन्द्रित भएको पाइन्छ। जसले गर्दा उत्कृष्ट अङ्क सहितको मार्कसित हातमा आउछ, तर व्यावहारमा सिर्जनशिलता कत्ति पनि आउदैन। यस कुरामा सबै अभिभावकले ध्यान दिन जरुरी छ। अहिले संघीयताको अवलम्बन संगै नेपालमा तीन तहको सरकार छ। ती तीनै तह सरकारबीच सहकारिता र समन्वय गर्दै प्रत्यक स्थानीय तहमा नयाँ संस्करणको पुस्तकहरुसहितको व्यवस्थित पुस्तकालयको निर्माण गर्नुपर्दछ। अझ सम्भव भएसम्म प्रत्येक अभिभावकले घरमै पुस्तकालयको व्यावस्था गर्नु जरुरी छ। किनकि बालबालिबाको पहिलो पाठशाला नै घर हो। अनि अर्को फाइदा के पनि हुन्छ भने बालबालिबाहरु आफूलाई जुन समय पढ्न उचित लाग्छ त्यही समयनै पुस्तकको पहुचमा हुन्छन्। अतः पुस्तकालयले बालबालिकालाई सिर्जनशिल बनाउदै उनीहरुको उज्वल भविष्य सुनिश्चित गर्न सघाउ पुर्याउदछ।
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.