"कुखुरी काँ" भालेको आवाज सँगै बिउझेँ। सिरानतिर छामछुम गरेँ। मोबाइल हात पर्यो। आखा मिच्दै फेसबुक खोलेँ। फेसबुकको पेजभरि हत्या, हिंसा, बलात्कार, महामारी, बाढी, पहिरो जस्ता शिर्षकका समाचारहरू छरपस्ट देखिए।
"अस्ति सम्म त यत्ति बिघ्न अपराध र प्रकोपहरू हुन्नथ्यो जस्तो लाग्छ। हैन, सामाजिक सञ्जालको प्रचुर प्रयोगले गर्दा समाचारहरू धेरै प्रचार भएका हुन् कि घटनानै अत्यधिक छ?" असुरक्षाको भावले मन आतङ्कित भयो। हत्तनपत्त कुनैपनि शिर्षकको समाचार नपढि फेसबुकलाई बन्द गरेँ। फोनलाई एकातर्फ मिल्काएर जुरुक्क उठेँ अनि मुख धोएँ। झट्टै याद आयो हिजो एउटा कम्पनीबाट खुलाएको विज्ञापनमा मैले पनि अनलाइन मार्फत दरखास्त दिएको। भर्खर थन्काको मोबाइल हातमा लिएँ र इमेल खोलेँ। सोही कम्पनीबाट एउटा इमेल आएको थियो। जसमा लेखिएको थियो "we are sorry!"। बाकी पढ्न जरूरी ठानिन। जागिर नपाएको कुरा त्यही वाक्यले नै स्पष्टी दिइसकेको थियो। थोरै रिस र थोरै दिकदारीको साथ मोबाइल टेबलमा राखेँ। अलि माथिबाटै राखेछु क्यारे! मोबाइल जोडसित बजारियो। धन्न फुट्न चै फूटेन। "कहिले हो यो बेरोजगारीको सुचिबाट जागिरेको सूचीमा नाम दर्ता हुने? नेपालमा उपलब्ध रोजगारको भन्दा त जनशक्तिको संख्या नै धेरै छ, अनि कहाँ बाट आफ्नो योग्यता अनुसारको काम हात लाग्ने? यत्तिकै त पक्कै जाँदो रहेनछन् नेपाली युवा युवतीहरू विदेश बर्षैपिच्छे हजारौंको संख्यामा" विरक्त लागेर आयो। "कि म पनि लागौ विदेश? हैन, जानुहुन। विदेशै गएर नि कहाँ सुख फलेको छ र! जहि पनि मेहनत गर्ने नै हो। जीवनको उत्पादनशील उमेर विदेशमा खर्चनु भन्दा त स्वदेशमै खर्चनु उत्तम छ। निरन्तर मेहनत गरे त कसो उजाडमय शिशिरमा वसन्त नआउला त....।" ढोकाको ढकढक आवाज सँगै झस्किएँ। दाई कलेजबाट आइसक्नुभएछ। मोबाइल तिर आँखा दौडाएँ, मोबाइलको घडीले बिहानको ८ बजाइसकेछ। हत्तार हत्तार खाना बनाएँ। दाईले पनि तरकारी काट्न र पकाउन सघाउनु भयो। ठिक ९ बजे खाना तयार भयो र दाई सँगै खायौँ।
कलेज जानलाई झोला तयार गरेँ। दुई वटा कपि, एउटा किताब, कलम, पेन्सिल लगायत सामान झोलामा राखेँ। कपाल कोरेँ, लुगा लगाएँ, जुत्ता लगाएँ। हिड्नै लाग्दा फेरि एक चोटी कपि किताब छामेँ, सबै थियो। रोडमा झरिसकेपछि पनि पुनः चेक गरेँ अनि हतारिदै बस तिर दौडेँ। आज गाडी खाली नै थियो। त्यसैले सित पाइहालेँ। झ्यालबाट आखाँ बाहिर तिर घुमाएँ। ओहो! कति ढुलो उडेको.....फोहोरको डङ्गुर त्यस्तै.... हैन कस्को मनले मान्दो हो यस्तो जथाभावी फोहोर फाल्न। पक्कि रोडको हालत त्यस्तै भत्केको। धेरै धुवाँ फाल्ने थोत्रो सवारी साधन त चलाउन प्रतिबन्ध लगाउनु नि। अनि त्यो दुर्गन्धित बाग्मती नदीको त उपचार गर्नु नि। यति गर्ने बित्तिकै वायु प्रदूषण त ह्वात्तै घट्ने थियो। काठमाडौं जस्तो देशको राजधानी सहरमा पनि किन व्यावस्थापन पक्ष चै कमजोर भैदेको होला। एक पटक फेरेको सासबाट लाखौँ लाख ढुंलो धुवाँको कण मेरो फोक्सोमा जाँदो हो। उफ! कसरी सास फेर्ने हो..... यस्तो तालले हो भने त चाँडै स्वासप्रस्वासको समस्याले अस्पताल भर्ना हुने दिन आउला.....। मान्छेको आवाज.... गाडीको आवाज हल्ला पनि कत्ति हो...!"ओ दिदी, बोलाको सुन्नुहुन्न?" खलासी भाई त रिसाउदै अगाडि उभिराको रछ। अरे उसले त भर्खर त बोलाउँदै छ.... अघि बाट बोलाको भनेर रिसाउछ त बा! हैन कत्ति बेला आएछ उ! "छिटो पैसा दिनु न! के ट्वाल्ल हेरिराको?" फेरि झर्कियो उसैगरी। सबै यात्रु हासेँ। मैले हतार हतार झोलाबाट २५ रूपैयाँ झिकेर उसको हातमा राखीदिएं। बल्ल गयो अरूको भाडा उठाउन।हैन उ छिटो प्रतिक्रिया जनाईराछ कि मेरो मनस्थितिले कुराहरु ढिलो सम्झिराछ? केहो सत्यता छुट्याउनै सकिन।
गाडी बसपार्क मा रोक्यो। तर कलेज पुग्न अझ १० मिनेट हिड्नै पर्ने। हत्तारिदै एक पाइला मात्र के हिडेकी थिएँ...... ठोक्किदै आइपुग्यो एउटा अपरिचित तर मलिन अनुहार। "दिदी मलाई पाँच रूपैयाँ दिनुहोस् न, बिहान देखि केही खाकै छैन।" न्याउरो मुख लाउदै बोलिन।तलदेखि माथिसम्म निह्यालेँ... जताततै दुलो परेको लुगा... सुकेनाश परेजसरी शरिरको बनावट देखिने, कपाल काट्न र स्याहार गर्न नसकेको जस्तो गुजुल्टिएको, चप्पल त झन छदै थिएन। अनुमान लगाएँ अनाथ होला सायद। झट्टै आमाले सधैं भन्ने कुरा सम्झेँ "भिखारी, अनाथ, एक्लो हरूलाई सधै सकेको मद्दत गर्नु। उनीहरू इश्वर को रूप हुन्छन्।" तर फेरि ठिक्क आउजाउ गर्न पुग्ने गाडी भाडा मात्र झोलामा छ भन्ने कुराले झस्क्यायो। अनि बच्चालाई नदेखेझै गरी बाटो लागेँ, मानौँ त्यो पलको लागि म अन्धो छुँ। अलि पर पुगेपछि फेरि भेटियो सधै भेटिरहने उहि चोटैचोट ले भरिएको शरीर। लगभग ६ बर्ष भैसक्यो मैले त्यो बाटो लगातार हिडेकी। त्यही ठाउँमा.. त्यही पहिरनमा... त्यही पैसा थाप्ने बटुका राखेर अनि त्यही अवस्थामा एक जना मानिस सधैं सुतिरहन्छन्। घुँडा मा आलोकाचो देखिने घाउं बाहेक अरु सबै शरीर लुगाले ढाकेको हुन्छ । हो साच्चिकै मैले आजसम्म एकपटक उहाको अनुहार देखेकी छैन। तर मेरो जीवनमा अनेकौँ उतारचढाव आइरहन्छ.... वातावरण परिवर्तन भइरहन्छ....... रोड फात्छ फेरि बनिन्छ...... दिनहुँ त्यो सडकमा हिड्ने यात्रीहरू बदलिरहन्छन्, तर उहाँको अवस्था अझैं जहिका त्यही... जस्तो थियो त्यस्तै छ। मनभित्रै देखि हतास हुन्छुँ। यी मान्छे लाई भोक ...तिर्खा केहीले पनि छुदैन? बर्षौं दिनदेखिको आलोकाचो घाउं किन उस्तै छ? उपचारको लागि कहिल्यै पैसा जुटेन? कि आफ्नो त्यही घाउंलाई गुजारा गर्ने साहारा बनाउनु भाछ? म यहाँ बिरामी प्रति पनि शङ्का को भाव तेर्स्याउछुँ।
शङ्कालु मन लिएर म आकाशेपुल चढ्दै थिएँ फेरि पनि कानमा गुन्जियो उहीँ पुरानो रेकर्डिङ "सेवा नै धर्म हो। मेरो श्रीमतीको दुवै मृगौला फेल भएर विर अस्पताल मा उपचाररत हुनुहुन्छ। कृपया सक्दो सहयोग गरिदिनु होला। तपाईं को एक रूपैयाँ कसैको लागि जीवनदान बन्न सक्छ"। यो त्यही रेकर्डिङ हो जुन वर्षौंदेखि त्यही ठाउँमा त्यसरी नै बजिरहेको छ। ६ बर्षको कलेज पनि सक्न लाग्यो। तर यो रेकर्डिङ उस्तै बजिरहेको छ, के यतिका दिनसम्म पनि बिरामीको हालत उस्तै होला त? ... "यो बहिनी को आँखा छैन कि के हो" आफैसँग वादविवाद गरिरहेको कानले एक्कासी कडा आवाज सुन्यो। आवाजतिर हेरेँ "रिसले चुर हुनुभएकी एक दिदी पछाडि फट्फटाइरहनु भएको थियो। "किन के भो र, दिदी?" स्वरलाई सक्दो नरम बनाउन खोज्दै सोधेँ। उस्तै रूखो स्वर "के भो रे अझ..! भर्खर यहाँ टेकेकी हैन?" खुट्टा तिर ईसारा गर्नुभो। ओहो खुट्टा त रक्ताम्मे भएछ। भर्खर उपचार गरेको आलोकाचो घाउमा मेरो खुट्टाको अग्लो हिलले कुनबेला टेक्न भ्याइसकेछ। अब माफी माग्न बाहेक अरू केही विकल्प देखिनँ। हत्तनपत्त "सरी" भन्दै कान समातेँ। "लल ठिक छ, जानिजानी त पक्कै टेकिनौ। तर सधै होसमा हिँड्नु बेहोसमा हैन।" यति भन्दै उहाँ ओझेल हुनुभयो। उहाँको कुराले म अलमल्ल परेँ। कस्तो होसमा र बेहोस मा भनेको? द्वन्द्वात्मक मन मैदानमा उत्रिहाल्यो। कि म बेहोस मै छुँ त? गाला चिमटेँ। आईया! दुख्यो... होसमै छुँ त। त्यो दिदी देखि रिस उठ्यो। आ! जे सुकै होस् अरूले भनेको कुरा सबै सही नै हुन्छ भन्ने कहाँ हुन्छ र।पुलबाट ओर्लेपछि थोरै अगाडि हिड्ने बित्तिकै मस्जिद आईपुग्यो। बाटो भरी मान्छे देखेपछि बल्ल याद भयो, आज त शुक्रबार रहेछ! मस्जिद भित्र नमाज पढेको आवाज सुनिन्थ्यो। ढोका छेउमा भने लहरै बटुका बोकेर बसेको मान्छेहरूको लाइन नै थियो। किताब मा पढेकि थिएँ, मुस्लिम समुदायको धनी मध्यम वर्गीय सबै मानिसहरूले आफ्नो-आफ्नो सक्दो गरीब र असहायहरूलाई दान दिनुपर्ने मान्यता छ। सायद त्यही भएर होला, आज यत्रो भिड भएको। भिडलाई छिचोल्दै बल्लतल्ल पुगेँ घण्टाघर अगाडि। थाक्कै देखिइन इसा जेब्रा क्रस नेरै। इसा चै मेरो मिल्ने साथी। हामी एउटै बेन्चमा बस्छौँ। कलेज को पुरै शैक्षिक बर्षहरु सँगै बिताएका छौँ। "हाई" इसाले हात म तिरै हल्लाई। मैले पनि हेलो को भावले हात हल्याएँ। "आज त कलेजमा खोई केको आन्दोलन छ रे हैन र?" छेवैनेर उभिदै सोधि ईसाले। "ओहो! हिजो एउटा नेता दाईले म्यासेजमा आन्दोलनमा हिड्न आग्रह गर्नुभको कुरा त बिर्सेको पो मैले" बल्ल याद आयो। त्यै नि कलेज को गेट निर पुगेको हामी कलेज नछिरि के फर्कनु। फेरी १-२ विषय त पक्कै पढाउनु होला। लाग्यौँ कलेजतिर।
कलेजको गेतभित्र छिर्दै गर्दा अलि पर बस्दै गरेकी एउटी केटीमा आखाँ पर्यो। चिनेचिने जस्तो लाग्यो। को हुनसक्छिन् त उनी? जिज्ञासु भाव लिएर अगाडी बढ्दै गर्दा स्कुलको साथी जस्तै लाग्यो। यो काठमाडौं जस्तो बिरानो सहरमा गाउँको कोहि भेट्टिनु, त्यसमा पनि स्कूल को साथी। मन यसै यसै फुरुङ्ग भयो। अलि नजिक पुगेपछि "हाई" को भावमा हात हल्लाएँ। उनले कुनै प्रतिक्रिया जनाईनन्। देखेर पनि नदेखे जस्तै बेवास्ता गरिन्। "कस्लाई हाई भनेकी?" इसाको आवाज सँगै झस्किएँ। मैले प्रफुल्लित मुद्रामा भनेँ "मेरो स्कुलको साथी हो, हामी सँगै पढेको"। "नाम के हो नि उनको?" फेरि अर्को प्रस्न तेर्साई। "अ साच्चि नाम के हो त्यो केटीको" सम्झिने कोसिस गरेँ, अह यादै भएन। दिमागमा कताकता उनको नाम गुन्जिएझैं लाग्यो तर अहं मुखमा आउदै आएन। "साच्चि को हुन सक्छिन् उनी?" दिमागमा प्रश्न उब्जियो। उनी म सँगै पढेकी साथी त पक्कै हैनन्। किनकी मैले दिएको एस. एल. सी व्याचमा त म र एक जना केटा साथी मात्र त पास थियौँ। त्यसो भए उनी को त? "एउटै स्कुल मा पढेकी म भन्दा एक ब्याच जुनियर बिध्यार्थी हुन उनी" दिमाग अर्को निष्कर्षमा अडिक भयो। इसाले झट्ट तानी। हातको किताब भुईमा खस्यो। रिसले चुर हुँदै आखाँ तरेँ। "कहाँ अर्काको कक्षामा छिरेको, केमेस्ट्री को कक्षा यता छ" नम्र भएर भनी। अगाडि बेन्चको बिध्यार्थी ले पनि सुनेछन् क्यारे! कानेखुसी गर्दै मुसुमुसु हास्दै थिए।अनि पो राम्ररी हेर्दा त ढोकामा माइक्रोबायोलोजी डिपार्टमेन्ट भनेर लेखिएको रहेछ। लाजले भुटुक्कै भएँ।
हामी कक्षाकोठामा गएर बस्यौँ। प्रायः सबै बिध्यार्थी उपस्थित थिए। पहेलै फुलेको तोरीबारीमा आउने मैरीको भुनभुनाहट जस्तै कक्षाकोठा भरी हल्ला गुन्जिएको थियो। कक्षामा शिक्षकले पढाउन थाल्दा सम्म पनि हल्ला उस्तै थियो। हल्ला प्रति सरको केही प्रतिक्रिया थिएन। उहाँ आफ्नै धुनमा पढाउन थाल्नुभयो। हुनत गर्न नि के सक्नु र! सरकारी कलेजका बिद्यार्थीहरूलाई। क्याम्पस प्रशासनको भन्दा त विद्यार्थी सङ्गठन को शक्ति नै धेरै हुन्छ। १-२ बर्षको अवधिमै विद्यार्थी सङ्गठनको नेताहरुले विभिन्न कारणहरू देखाई क्याम्पस प्रमुखलाई पटक पटक पिटेको सुनेकी छुँ। त्यसैले होला प्रायः शिक्षकहरु विद्यार्थीलाई नियन्त्रण गर्न खोज्नु भन्दा आफ्नै तालमा पढाउनु लाई निको मान्नुहुन्थ्यो।सरले देखाउदै अनि भन्दै जानुहुन्थ्यो अनि विद्यार्थीहरु केही दिमागमा त केही कपिमा सार्दै थिए। म इसा सँग पछाडि बेन्चमा थियौँ। त्यसैले वाइट बोर्डको अक्षर देख्नु त टाढाको कुरा सरको आवाज पनि राम्ररी सुनिएको थिएन।"नियमित नहुने कक्षा, त्यसमा पनि कक्षाकोठा को माहोल यस्तो छ। हत्तेरी कसरी पास हुने होला आउदै गरेको परिक्षामा।" निधार खुम्च्याएँ। "किन के भो?" मेरो खुम्चिएको निधार इसाले देख्न भ्याइसकेछी। "केही हैन, बरू सरले भर्खरै के लेखाउनुभयो?" उनको कापि तिर आँखा कुदाएँ।
सरले मज्जाले पढाई रहनुभएको थियो। अचानक अलि पर हल्ला खल्ला मच्चियो। त्यो हल्लाले बिस्तारै सरको आवाज उछिन्दै लग्यो। र आन्दोलनको केही शब्दहरू पनि सुनिन थाल्यो। सबैले एकै स्वरमा भन्दै थिए "हाम्रो माग पुरा हुनैपर्छ"। खोई भट्याउने ले चै के भन्दै थियो, त्यो चै स्पष्ट सुनिएन। ठूलो स्वरको हल्लाले आन्दोलन कलेज भित्रै को हो भन्ने कुरा स्पष्टी दिइरहेको थियो। नभन्दै आइपुग्नुभयो ४-५ जना नेता दाईहरु। एउटा दाईले सरलाई कक्षा बाहिर बोलाउनुभयो अनि कानमा खोई के फुस्स भन्नुभयो त्यो त सुनिएन। तर त्यसपछि भने लगत्तै सरले अब भोलि पढौँला भन्दै बाटो लाग्नुभयो।"किन?" भन्ने प्रश्न नसोचिसक्दै कक्षाभित्र पस्नुभयो ५ जना नेता दाईहरु । अनि एउटा दाईले भन्नुभयो "भाइबहिनीहरू हामी तपाईंहरूको भलो चाहने मानिस। क्याम्पस प्रशासनले भर्खरै पढाई शुल्क बढाएको कुरा संग त तपाईहरु सबै परिचित नै हुनुहुन्छ। जुन बिद्यार्थीलाई मारमा पार्ने काम हो। हामी त्यसको बिरोधी छौँ। त्यसैले हामीलाई साथ दिनुहोस्। आउनुहोस् हामीसंगै आवाज उठाउनुहोस्।"धेरै जसो बिध्यार्थीको अनुहारमा सहमति को भाव झल्कियो।जोसिलो उमेरको बिद्यार्थीहरु लाई उत्तेजित पार्न त्यही वाक्य नै काफी थियो। आधा बढी बिध्यार्थी लागे नेताहरु संगै।कक्षामा अब म, इसा र अरू एक दुई जना बिद्यार्थी मात्र बाँकी रह्यौं।"क्याम्पस प्रशासनले बिचार नगरी यतिकैमा शुल्क त पक्कै बढाएन होला" इसा तिर हेर्दै बोलें। मेरो कुरामा सहमति जनाउँदै इसा बोली "त्यही भनेको, हामीले ब्याचलर को लागि प्रत्येक बर्ष जम्मा ५ हजार त तिरेको छौँ। यो शुल्क त विज्ञान विषयको लागि ज्यादै कम भएन र? फेरि प्रयोगात्मक कक्षाको लागि ल्याबमा चाहिने सामानहरूको पनि त व्यावस्थापन गर्नु छ। टेस्ट्युब, माइक्रोस्कोप, इन्क्युबेटर, जस्तो अनेकौँ महँगो सामान त्यसमा पनि विभिन्न केमिकलहरूको खर्च, धन्न क्याम्पसले व्यहोरी राछ।" उसैको कुरामा थपें"अ त, त्यसमा पनि भ्रमण खर्च र छात्रवृत्ति पनि पाएकै छौँ।" "तर हाम्रो कुराहरु त नेतादाईहरु को माग विपरित भएन र?" खिट्का छाडी ईसाले। म पनि मुस्कुराएं। एकछिन मौनता छायो, सायद बोल्ने कुराको शिर्षक सकेछ।
नभन्दै एक हुल नयाँ बिद्यार्थीहरु कक्षाकोठा भित्र प्रवेश गरें। मैले अनुमान लगाइ हालें, उनीहरू जुनियर बिध्यार्थीहरू हुन्। किनकी हाम्रो कक्षा सकेपछि जुनियर भाइबहिनीहरूको पढाई पनि त्यही कक्षाकोठामा हुने गर्थ्यो।त्यही हुलमा थिई, अघि भर्खर देखेको केटी।उसले म तिरै हेर्दै थिई, सायद अघि ग्राउन्डमा मैले हाई भनेकी कारणले होला। उनी हामी बसेको सिटको अघिल्लो बेन्चमा बसी। मैले फेरी उसको नाम सम्झन कोसिस गरें तर अह सम्झना नै आएन। तर मेरो आंखा र मन भने उनी म पढेकै स्कुलमा पढेकी जुनियर बिध्यार्थी हुन भन्ने कुरामा अडिग थिए। "चिनेको मान्छे हो, गएर उनीसँग कुरा गर्छु" म हत्तपत्त उठें। "के भो?" इसाको प्रश्न भुइँमा नखस्दै म उनीकहाँ पुगिसकेकी थिएँ।धेरै नै आत्तिएर पुगेछु क्यारे! नयाँ बिध्यार्थी छक्क परी। "मलाई चिनिनौ? हामी संगै स्कुलमा पढेको" मैले आफूलाई चिनाउन खोजें। "अहं चिनिन, कुन स्कुलमा पढ्नुभएको हो र तपाईं?" उनको आवाज नम्र थियो। "हामी आकाश माध्यमिक विद्यालय, सानपुर मा पढेका हैनौँ र?" मैले स्कुल पनि चिनाउन खोजेँ।उनी अलि गम्भिर हुदै भनिन "माफ गर्नुहोला, म त जून ज्योति माध्यमिक विद्यालय, मराह मा पढेकी हुँ।"म तिन छक्क परेँ। टाउको पनि हनहनी दुखेर फुट्ला झैँ भयो।"यो कसरी हुन सक्छ, म त तिमीलाई धेरै पहिले देखि चिन्छुँ। राम्ररी याद गर त! एक पटक परिक्षामा हामी एउटै बेन्चमा परेको थियौँ। मैले एउटा हिसाब पनि सिकाएकी थिए।"मैले उनलाई बिगत सम्झाउन कोसिस गरेँ। "हैन म तपाईंले पढेको विद्यालयमा पढिकी थिइन अनि तपाईलाई पनि चिन्दिनँ।" उनको अनुहार अघिभन्दा गम्भीर बन्दै थियो ।तर मेरो मन पटक्कै उनको कुरामा बिश्वास्त थिएन। "हत्तेरी कस्तो नचिनेकी, हामी एकपटक कार्यक्रमा संगै नाचेका पनि थियौँ" मैले आफ्नो जिद्दी छाडिन। मेरो प्रश्नले साह्रै दिकदार लागेछ क्यारे! केही नबोली मलाई ट्वाल्ल हेरिरही। उसको नाम सम्झेँझै लाग्यो। "बल्ल थाहा पाएँ, तिम्रो नाम मिना हैन?" प्रफुल्लित हुँदै सोधेँ।"मेरो नाम, स्कुल केही सत्य छैन। म तपाईंलाई चिन्दिनँ भनेपछि चिन्दिनँ, दिक्क नपार्नुस् मलाई" उनको स्वर अघिको भन्दा अलि कडा थियो। आफ्नै धुनमा गफिरहेका वरपरका विद्यार्थीले पनि उनको आवाज सुनेछ क्यारे! सबैले मलाई नै घुर्न थालें मानौँ मैले कुनै अपराध गरिरहेकी छुँ। "हिड बाहिर जाउं" इसाले मेरो हात हत्तपत्त तानी। "हैन मलाई कुरा गर्न मन छ तिमी आफै जाउ" हात फुत्काउन खोजेँ। "छिट्टै फर्किने हो, अनि त्यसपछि कुरा गरे भइहाल्यो" जबरजस्ती बाहिर तानी। मैले हात फुत्काउन सकिन। त्यसैले बालकझै उनको पछि लागेँ।
ग्राउन्ड पुगिसक्दा हनहनी दुखिरहेको टाउको र दिमागको द्वन्द्व दुवै कम भैसकेको थियो। बाहिर मौसम चिसो थियो। चिसो हावा नाक, दिमाग हुदै शरीरको अङ्ग अङ्गमा सञ्चार भएपछि पो बल्ल होस मा आएजस्तो भयो। "हे भगवान, मैले अहिले भर्खर यो के गरेँ" दुई हातले टाउको समात्दै इसा तिर हेरेँ। "केही नसोचि लामो सास तान एक चोटी अनि मुख धुव।"इसाले बगैंचा नजिकैको धारामा तिर इसारा गरी। मैले त्यसै गरेँ। झन होस खुलेझै भयो। उनी मलाई बगैंचा तिर दोहोर्याई। "इसा मैले ठूलो गल्ती गरेँ, तिमीले जबर्जस्ती यहाँ नलेकि भए अझ कत्ती सम्म हैरान बनाउँथे होला। धन्यवाद तिमीलाई" सुस्तरी बोलेँ। उनी केही नबोली मुस्कुराई मात्र। एक छिन मौनता छायो। "मलाई थाहा छ, तिमीलाई आजभोलि सन्चो छैन। कहिले काँही यस्तो भ्रम त भइनैहाल्छ। फेरि तिमीले गर्नै नहुने काम पनि त केही गरेकि हैनौ। त्यो केटीले पनि तिम्रो मानसिक हालत राम्ररी बुझेकी थिई, त्यसैले त उनले तिमीप्रति नराम्रो व्यवहार देखाईनन्।" इसाले यति बोलिसक्दा मन अलि धुक्क भयो। भर्खर धोएको अनुहार इसाको पछ्याउराले पुछ्दै थिएँ, अचानक सेतो कुर्ता र कालो सुरूवालमा हामी तिरै आइरहेकी केटी लाई देखेँ। मैले भर्खरै दिक्कार लगाकी केटी थिई उनी। "ओहो! अब के भन्ने हुन उनले" डरको भावसहित उतै हेरिरहेँ।नजिकै आइ, तर केही नबोली मुस्कुराउँदै बाटो लागी। मतलब उनी म सँग कत्ति पनि रिसाकि थिइनन्। खुसी लाग्यो।फेरि पनि मज्जाले निह्याले उनलाई एकपटक।तर यो पटक भने मैले उनलाई पहिले कतै देखेकि छैन जस्तो लाग्यो ।कस्तो अचम्म! मनले "यसलाई चिन्छस्" भन्यो भने चिनेझै लाग्ने अनि "चिनेकी छैनस्" भन्यो भने अपरिचित अनुहार झैँ आभाष हुने। इसासंगै बगैंचा वरिपरि एक फन्को लगाएँ र बसपार्कतिर लागेँ।बसमा चढेँ। अगाडिको महिला सित नै खाली थियो। म त्यही बसें।
गाडीको सिटमा मज्जाले बसिसकेपछि पुरानो भ्रमित घटनाहरू एक एक सम्झन थालेँ:
घटना नं १: हातको समस्या भएर साथीसँग अस्पताल गएको थिएँ। फर्कदा हातको प्लास्टिकमा उपचार गरेको रिपोर्ट र औषधि थियो। गाडीबाट ओर्ले पछि बाटो छेेउको पसलमा साथी सँग चटपटे खाएँ र म घर पुगेँ। घर पुगे पछि पो थाहा भयो, रिपोर्ट र औषधि भएको झोला त चटपटे खाने ठाउँ मै छुटेछ। हत्तारिदै त्यो पसलमा पुगेँ, धन्न रिपोर्ट छोडेकै ठाउँमा रहेछ।
घटना नं २: दिनको समय थियो। घरमा गर्ने काम केही थिएन। अनि कहि घुम्न जान स्कुटर तयार पारेँ र लागेँ गन्तव्य तिर। थोरै अगाडि पुग्नेबित्तिकै स्कुटरको गुडाईमा असहजता महसुस भयो। त्यै पनि यात्रालाई निरन्तरता दिएँ। एक हुल बसिरहेको मानिस ले आश्चर्यचकित हुँदै बोले "स्ट्यान्ड"। झ्याप्पै रोकेँ.... ओहो! स्ट्यान्ड त राख्नै बिर्सेकी रहेछुँ।
घटना नं ३: एक बिहान दाल र भात दुवै चुलोमा बसाएँ। दाल पाक्यो, तरकारी पनि पाक्यो। हत्तेरी! भरै खानेबेला त चामल काचै। भात पट्टीको चुलोमा त ग्यास बाल्नै बिर्सेकी रहेछुँ।
यस्तै "गरेँ कि गरिन" भन्ने भ्रम त पहिले पनि धेरै भएको थियो।कहिले गरेझै लाग्ने काम पनि छुट्ने त कहिले नगरेझैं लाग्ने काम पनि सम्पन्न गरिसकेको हुन्थ्यो। त्यसैले दिनमा सम्पन्न हुने सानो तिनो कामलाई पनि निश्चित गर्न म सधैं दोहोर्याई दोहोर्याई निरिक्षण गर्थेँ। जस्तो कि कोठा बाहिर जाँदा ताल्चा, कलेज जाँदा कपि किताब, सामान किन्न जाँदा सामानको लिस्ट, राति सुत्ने बेला बत्ती, र स्कुटर जाँदा स्ट्यान्ड। कहिले काँही त म नयाँ अनुहार लाई पनि आफ्नै साथीको अनुहार जस्तै देख्थेँ। त्यसैले त धेरै पटक म कुनै न कुनै साथीको नामबाट पुकारदै अपरिचित व्यक्तिहरुलाई बोल्न पनि खोजेकी थिएँ। तर बद्लामा आश्चर्यचकित अनुहारको भाव सहित "म हैन" भन्ने उत्तर मात्र पाउँथेँ। एक दिन इसाले पनि भनेकि थिई "तिमी छिनछिनमा अनुहार को भाव बदलिरहन्छौ मानौँ कोही सँग कुरा गरिरहेकी छौ।" तर त्यतिबेला उनको यो कुरालाई हाँसोमा उडाएकी थिएँ।सधैं घटिरहने भएर यी घटनाहरु त मलाई सामान्य नै लाग्थ्यो । मैले आफ्नो मानसिक स्वास्थ्य बारेमा कहिल्यै शङ्का गरेकी थिइन। तर आज जे गरेँ त्यसले चै मेरो दिमागी हालत ठिक नभएको प्रष्टै देखाउँछ। "तर मलाई यस्तो भयो चै कसरी?" निधार खुम्च्याएँ। छिनछिनमा बदलिरहने मेरो अनुहारको बिचित्र भाव देखेर होला छेवैमा बस्नुभएकी अपरिचित दिदीले झ्यालबाट बाहिरको दृश्य हेर्ने बाहानामा मेरो अनुहारमा घरिघरिचिहाउदै हुनुहुन्थ्यो, तर मैले केही प्रतिक्रिया जनाइन उहाँको हेराइ प्रति, फुर्सद नै कहाँ थियो र म सँग। म आफ्नै दुनियाँमा व्यस्त थिएँ।
"कतै मलाई डिप्रेसन त भएन?" हैन डिप्रेसन त पक्कै हैन। किनकी डिप्रेसन भनेको त नकरात्मक सोचहरु ले ग्रस्त भै अन्धकार मा बाँच्नु हो। तर मेरो अवस्था त ठिक यसको उल्तो छ। मेरो सबै सोचाइहरू सकरात्मक छन्। जसले मलाई उज्यालो तिर दोहोर्याउने मात्र हैन यसले काम गर्ने जोस र उत्साह पनि दिन्छ। "त्यसो भए मलाई भको चै के?"। पक्कै अत्यधिक अनावश्यक सोचाईको उपज हो यो। हुन त मैले केही दिन यता आवश्यक भन्दा धेरै नै सोच्ने भएकी छुँ, थाहाँ छैन परिपक्वताको सङ्केत हो या बेरोजगारीको देन।पक्कै पनि मैले आफ्नो मनको बिचारहरु सँग हरपल कुरा गर्ने गरेर नै हो वास्तविक संसारमा भ्रमित हुन पुगेको। आफ्नै मनको आवाज बाहिरी वातावरणको ध्वनि भन्दा ठूलो भएपछि कुराहरु नबुझ्ने, नसम्झने, बिर्सने त हुने नै भयो। मतलब, म त नजानिँदो पाराले "बिचारहरुको कैदी" पो बनेकी रहेछुँ ....मनमा जे जे बिचारहरु उब्ज्यो सबै अँगाल्दै हिड्ने।" आफैसँग रिस उठ्यो।तर समस्या र यसको कारण थाहा पाएर होला, कुनै महत्वपूर्ण प्रश्नको हल गरेझै मन पनि हलुको भयो। जे हुनु भइसक्यो, अब भने मैले अनावश्यक सोचाईहरूको जालो बाट बाहिर निक्लनै पर्छ।अहिले बाटै आवश्यक कुरा बाहेक अरू सोच्न छाड्दिन्छुँ। फेरि धेरै सोचेर पनि के पाउनु छ र? न कुनै उपलब्धि न कुनै प्रगति। खाली चिन्ता र अशान्ति न हो। लामो सास लिदै सङ्कल्प गरेँ "अब म बिचारहरुको कैदी बन्दिन, बरू अनावश्यक बिचारहरुलाई कैदी बनाउँछु।
"गाडीबाट ओर्ले र तेर्सो बाटो लागेँ। दिमागलाई बिचारहरूबाट खालि बनाएर पैटालाको हिँडाइमा ध्यान केन्द्रित गराएँ। खुट्टाको हिडाइबाट उत्पादित संवेदना महसुस भयो। सँगै वरपरको आवाज पनि स्पष्ट सुनियो। गित बज्दै रहेछ, बाटो छेउको पसलमा। वातावरण अरू दिनभन्दा रमणीय लाग्यो। अलि पर गलैँचा बिछ्याए जसरी फूल छरिएको थियो। माथितिर हेरेँ । ओहो! अस्ति सम्म फूल र पात सबै झरेर उजाड भएको शिरीषको रूख फेरी ढकमक्क फूल्न भ्याइसकेछ। आखामा प्रश्न चिन्ह सहित फेरि टाउको हनहनी दुखेर आयो "त्यसोभए म कहिले देखि बेहोसिमा थिएँ त?" ...............!
Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.